नेपाली र्याफ्टिङ खेलाडी आफ्नै खर्चमा र्याफ्टिङ वल्र्डकपमा सहभगी हुँदै

समाधान संवाददाता
पोखरा
नेपालका र्याफ्टिङ खेलाडी र्याफ्टिङ वल्र्डकपमा सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासंघको आयोजनामा आगामी मे १६ देखि १९ सम्म दक्षिण अस्ट्रेलियाको क्विन्स ल्यान्डको टुली नदीमा हुने र्याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरु यतिबेला पोखराको सेती नदीमा अभ्यासमा व्यस्त छन् ।
सरकारको सहयोग बिना नै खेलाडीहरु प्रतिस्पर्धामा जान लागेका हुन् । राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट छनोट भएका खेलाडी सुरज गुरुङ, सुनील गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दिपेश गुरुङ, पदमबहादुर गुरुङ र रविल मियालाई टिम प्रशिक्षक निमबहादुर मगरले प्रशिक्षण गराइरहेका छन् ।
खेलाडीले विगत २ महिनादेखि सेती नदीमा अभ्यास गरिरहेका छन् । साहसिक खेल र्याफ्टिङको माध्यमबाट नेपालको झण्डा लिएर विश्वका खेलाडीमाझ प्रतिस्पर्धामा जान लाग्दा पनि सरकारी निकायले चासो नदेखाउँदा निकै दुख लागेको उनीहरुले बताएका छन् ।
र्याफ्टिङ खेललाई नेपाल सरकारले अन्य खेललाई जस्तो सहयोग नगरेको नेपाल एजेन्सिज अफ र्याफ्टिङ एसोसियसनको सहयोगमा अष्ट्रेलिया जान लागेको नेपाली र्याफ्टिङ टिमका प्रमुख सुरज गुरुङले बताए । नेपालमा साहसिक पर्यटक भित्र्याउने खेललाई सरकारले बेवास्ता गरेको बताउँदै केही सरकारी कार्यालयले सहयोगको प्रतिबद्धता गरेको भए तापनि सरकारी निकायबाट सहयोग नपाएको बताए ।
प्रतियोगितामा सहभागी हुन ३४ लाख लाग्ने अनुमान गरिएका छ । नेपाल सरकारले र्याफ्टिङ खेललाई हेर्ने दृष्टिकोण नै भिन्दै रहेको नेपाल एजेन्सिज र्याफ्टिङ एसोसियनका अध्यक्ष निमबहादुर मगर बताउँछन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु आगामी मे ७ तारिखमा अस्ट्रेलिया प्रस्थान गर्नेछन् ।
तपाईको प्रतिक्रिया