ग्रेड विवादले रोकिएको पोविविको परीक्षा सोमबारदेखि

समाधान सम्वाददाता
३ पटकसम्म स्थगित भएको पोखरा विश्वविद्यालयको सबै संकायको परीक्षा आउँदो १६ गते सोमबारबाट हुने भएको छ । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंका ४२ कलेजले ३ सय ४४ विद्यार्थीलाई मापदण्ड विपरीत भर्ना लिएको विषयमा किचलो भएपछि पूर्वनिर्धारित तालिका अनुसारको परीक्षा स्थगन भएको थियो ।
व्यवस्थापन संकायमा भर्ना हुन कक्षा ११ र १२ मा उत्र्तीर्ण विद्यार्थीले न्यूनतम सबै विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड विश्वविद्यालयले तय गरेको छ । तर सम्बन्धन प्राप्त ४२ कलेजले कक्षा ११ र १२ मा १ वा १ भन्दा बढी विषयमा ‘डी प्लस’ ग्रेड ल्याएको विद्यार्थी भर्ना लिएको फेला पारेपछि उनीहरुको रजिस्टे«सन रोकिएको थियो ।
योग्यता नपुगेका विद्यार्थीलाई विश्वविद्यालयले निर्धारण गरेको मापदण्ड विपरीत भर्ना दिन नहुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनसहितका विद्यार्थी संगठनले केन्द्रीय कार्यालयमा तालाबन्दीसहित आन्दोलित हुँदा परीक्षा अन्योल बनेको थियो ।
विद्यार्थीको योग्यता मापदण्डको विषयमा गएको ७ गते शनिबार विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले निर्णय लिएपछि वैशाख ९ गते परीक्षा तालिका सार्वजनिक भएको हो । बैठकले ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको भर्ना रजिस्टे«सन नलिने निर्णय गरेको छ ।
विश्वविद्यालयबाट प्रकाशित विज्ञप्तिमा कक्षा ११ र १२ मा एक वा एक भन्दा बढी विषयमा न्यूनतम ‘सी’ ग्रेड प्राप्त नगरेका (डी प्लसमात्र प्राप्त गरेका) विद्यार्थीलाई चालु शैक्षिक सत्रमा रजिस्ट्रेसन नगर्ने जनाइएको छ ।
०७५ जेठ १८ मा विश्वविद्यालय प्राज्ञिक परिषद्ले स्नातक तहको व्यवस्थापन संकायमा भर्ना हुन कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार आंगिक क्याम्पसले विद्यार्थी भर्ना लिएपनि सम्बन्धन प्राप्त कलेजले आफूखुसी भर्ना लिएको पाइएको थियो । प्रत्येक विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने प्रावधान कायम हुँदाहुँदै समग्र (एग्रिगेट)मा ‘सी’ ल्याएकालाई भर्ना लिँदा विद्यार्थीले भर्ना रजिस्टे«सन पाएनन् । उनीहरु स्वतः परीक्षाबाट समेत बञ्चित भएका छन् ।
विश्वविद्यालयले ‘डी प्लस’ ग्रेड प्राप्त गरेका विद्यार्थी भर्ना लिएका सम्बन्धनप्राप्त कलेजलाई विज्ञप्तिमार्फत सचेत गराएको छ । ‘विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय अवज्ञा गरेका कारण विश्वविद्यालयको शैक्षिक वातावरण र साख धमिल्याउने काम हुन गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको नीति, नियमको पुनः उल्लघंन गरे नियमअनुसार ती कलेजको सम्बन्धन समेत खारेज हुन सक्नेछ ।’
विद्यार्थी भर्ना योग्यताको मापदण्डको विषयलाई लिएर भर्ना हुन पाउने र नपाउने तर्क बाँझिदा विश्वविद्यालयको परीक्षा कार्यक्रम प्रभावित थियो । पूर्व निर्धारित मिति अनुसार फागुन ३० देखि तोकिएको परीक्षा चैत १५ बाट टर्दै वैशाख ६ मा सरेको थियो । चोथौंपटक परीक्षा सम्बन्धी प्रकाशित सूचना अनुसार विश्वविद्यालयका ४ वटै संकायको परीक्षा वैशाख १६ गतेदेखि सञ्चालन हुने सह–परीक्षा नियन्त्रक पुष्पा पौडेलले जानकारी दिइन् ।
परीक्षामा सामेल गराउन ध्यानाकर्षण
सन् २०१८ मा भर्ना भएका ‘डी’ ग्रेड प्राप्त ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सामेल गराउन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपाल (ओपन)ले ध्यानाकर्षण गराएको छ ।
गएको वैशाख ९ गते प्रकाशित विज्ञप्तिमार्फत ओपनले न्यूनतम योग्यता मापदण्डको विषयमा विश्वविद्यालयका पदाधिकारीबाट पटकपटक मौखिक आश्वासन तथा निर्देशन प्राप्त भई विद्यार्थी भर्ना लिएको स्पष्ट पारेको छ । ‘९ महिनापछि आएर ‘सी’ ग्रेड प्राप्त नगरेका विद्यार्थी चालु शैक्षिक सत्रमा रजिस्टे«सन गर्न नसकिने सूचनाले परीक्षाबाट बञ्चित विद्यार्थी मर्कामा परेको’ विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले अन्य नेपालमै सञ्चालित अन्य विश्वविद्यालय त्रिवि लगायत पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल साथै विदेशी विश्वविद्यालयको उदाहरण दिँदै सिजिपिए मापदण्ड कायम गरिएको हुँदा उक्त विश्वविद्यालयले १ वा १ भन्दा बढी विषयमा ‘डी प्लस’ ग्रेडलाई मान्यता दिई भर्ना लिएको तर्क गरेको छ ।
विश्वविद्यालयको उक्त निर्णयले परीक्षा दिनबाट बञ्चित विद्यार्थीलाई संविधानले प्रदत्त गरेको शिक्षा सम्बन्धी हक हनन भएको जिकिर ओपन संस्थाले गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पोखरा विश्वविद्यालयका पदाधिकारीका मौखिक र अस्पष्ट निर्देशनमा गरिएको भर्ना हामी कलेजहरुको गैह्रजिम्मेवार ठहरिए सोको उत्तरदायित्व लिन हामी तयार छौं ।’








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया