विपदमा स्वास्थ्य इञ्जीनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

समाधान संवाददाता २०७६ वैशाख २० गते १२:५१

समाधान संवाददाता, पोखरा

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहीबारदेखि ‘पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटनमा पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु उत्पादनको थलो भएको बताए ।

Advertisement

विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रुपमा कार्यान्वयनमा राजनीतिक तथा विकास कार्यकर्ताहरु लाग्नुपर्ने बताए । पोखरा र आसपासका क्षेत्र पनि विपदको उच्च जोखिममा पर्ने भएकाले मेयर जिसीले सम्मेलनका विभिन्न निश्कर्षलाई कार्यान्वयन गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा स्वास्थ्य इञ्जीनियरिङको अध्ययन अध्यापन भर्खर सुरु हुन थालेकोमा यस्ता सम्मेलनले यो विषयतर्फ विद्यार्थीहरुको आकर्षण बढाउने पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले बताए ।

Advertisement

पोखरा विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा जनस्वास्थ्य तथा विपद इञ्जीनियरिङको अध्ययन अध्यापन केन्द्रीय आंगिक कलेजमा सुरु गराएको पनि उनले थपे । यो विषयको अध्ययन अध्यापन नेपालमा मात्र नभइ दक्षिणपूर्वी एसियामा नै पहिलो पटक पोखरा विश्वविद्यालयले सुरु गरेको छ ।

सम्मेलनको उद्घाटन सत्रलाई विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदी, इञ्जीनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्राडा भरतराज पहारी, संयुक्त राष्ट्र संघका लागि विपद जोखिम न्यूनीकरण विज्ञ ग्यारे डे ला पोमेराई र ओभिएडो विश्वविद्यालय, स्पेनका प्राध्यापक डाक्टर पेड्रो इग्नासियो गोन्जालेजले पनि आफ्नो धारणा राखेका थिए ।

३ दिन चल्ने सम्मेलनमा नेपालबाहेक स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्वेकिस्तान, इटाली, थाइल्यान्ड, भारत लगायत १० देशका ३ सय भन्दा बढीले सहभागिता जनाउने सम्मेलनका संयोजक प्राडा विनयकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार नेपालका विभिन्न विश्वविद्यालय तथा संघ संस्थाहरुबाट जनस्वास्थ्य, विपद व्यवस्थापन तथा इञ्जीनियरिङ क्षेत्रका विज्ञ, पेसाकर्मी र विद्यार्थीले सम्मेलनमा सहभागी छन् ।

करिब १५ लाखको लागतमा सम्पन्न हुने सम्मेलनका लागि पोखरा विश्वविद्यालयसँग विश्वविद्यालय अनुदान आयोग, युरोपियन युनियनको इरासमस प्लस परियोजना, स्फेरा परियोजना तथा एनआइसी एसिया बैंकले सहकार्य गरिरहेका छन् ।

सम्मेलनका तीन दिनहरुमा विपद व्यवस्थापन, वातावरण, विपदमा जलसम्पदाको संरक्षण, जलवायु परिवर्तन, स्मार्ट सहर तथा भवन निर्माण, विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग, विपदमा स्वास्थ्य जोखिम र मनोविज्ञान जस्ता विभिन्न मुद्दामा केन्द्रित रहेर ४५ वटा कार्यपत्रमाथि विभिन्न १० समानान्तर सत्रहरुमा छलफल हुने आयोजक समितिका सदस्य तथा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेसका निर्देशक डा. डमरुप्रसाद पनेरुले बताए ।

तपाईको प्रतिक्रिया