नायक बन्ने अवसर

भरत कोइराला
नगरोन्मुख सहरलाई नगरपालिका बनाएर विकासको लहर फैलाउन तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सरकारले २०१६ सालमा पोखरालाई नगरपालिका घोषणा गर्यो । दिन, महिना, वर्ष मात्र होइन आधा शताब्दी गुज्रिँदा पनि पोखरा नगरले विकासमा गति लिन सकेन । त्यसो त मुलुकका अरु सहरको दाँजोमा पोखरा पछि छैन ।
पोखराले तीव्र विकास गरेर होइन कि अन्त विकास नभएका कारण यो सहर अगाडि देखिएको हो । यहाँको भूगोल अनि प्रकृतिले पनि पोखरालाई सुन्दर बनाइदिएको र सफा बनाइदिएको छ ।
पोखराको विकासक्रम पनि अचम्मको छ । राणा शासनको अन्त्यसँगै पोखरामा जहाज आउजाउ गर्न थाले । गणेशमान सिंह र बिपी कोइराला जहाजमा आउने तय भएपछि स्थानीयले घारिपाटनमा खनेर चौर सम्म्याए । त्यतिखेरै अर्थात् विसं २००८ पछि जहाजले बाहिरबाट सामान ल्याउन थालेपछि व्यापारीहरु संगठित भए ।
जहाजबाट आएका सामान कसरी घरघरमा पुर्याउने भन्ने समस्या व्यापारीलाई थियो । यसैको गाँठो फुकाउन जम्मा भएका व्यापारीको समूह पोखरा व्यापार संघ तयार भयो । ढुंगाले छापेको पोखराको बाटोमा गोरुगाडाबाट सामान ढुवानी थालियो । पोखराको विकासको सुरुआती अवस्था थियो यो ।
त्यसो त जंगबहादुर राणाले कास्की र लमजुङमा शासन गर्नेगरी श्री ३ को उपाधि पाएलगत्तै पोखरा आएर फेवातालको पश्चिमी किनारमा बसेका थिए । ठूला फाँट भए पनि सिंचाई नभएको देख्दा उपाय फुर्यो । बेलायती प्राविधिक बोलाएर लिफ्ट प्रविधिबाट पोखरेली फाँट सिंचित भएको देख्ने उनको रहर थियो ।
तर पण्डितहरु बेलायतीलाई पोखरामा भित्र्याउन तयार भएनन् । म्लेच्छहरुलाई ल्याएर यहाँको भूमि अपवित्र पार्न नहुने उनीहरुको तर्क थियो । जानकारहरु भन्छन्, ‘यसले पोखराको तीब्र विकासको सम्भावनालाई १ युग पछाडि धकेलिदियो ।’
भौगोलिक रुपमा वरदान पाए पनि पोखरेली भूमिले विकासप्रेमी पुत्र कमै जन्माएको छ । तर पनि पोखरा आफ्नै गतिमा लम्केको छ । विसं २०१३ सालमा पोखरामा पहिलोपटक जहाजबाट जीप पोखरामा उत्रियो । यहाँका चट्टानी बाटोमा विलिस कम्पनीको जीप धुवाँ उडाउँदै गुड्न थाल्यो ।
विदेश छाडेर नेपालका सहरको कुरा गर्ने हो, भने विकासमा पोखराले पछि फर्केर हेर्नु परेको छैन । २० को दसकको मध्यतिर खुलेका सिद्धार्थ र पृथ्वी राजमार्गले पोखरालाई राजधानी र भारती सहरसँग जोड्यो । यी राजमार्गले पोखरा मात्र हैन यो क्षेत्रकै आर्थिक उन्नतिमा फड्को मार्न सघाए ।
पोखराको विकासमा यहाँको सुन्दरताले काँध हालेको छ । वौद्ध धर्मको अध्ययन गर्न हिँडेका जापानी भिक्षु इकाइ कावागुची हुन् या हिमाल चढ्न आएका ब्रिटिस कवि बिलफ्रेड नोयस र जिमी रोबर्ट हुन् । उनीहरुले सुन्दरताको बखान गरिदिएकै कारण पोखरा विश्वमा चिनियो । त्यही प्रचारले विदेशी ताल र हिमाल हेर्न आए । उनीहरु आउँदा त्यताको सभ्यता र व्यवासायिक सिप पनि लिएर आए । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि त यो क्षेत्रको प्रचार विदेशमा अचम्मैसँग चुलियो ।
रेडक्रस प्रतिनिधि बनेर नेपाल आएका स्वीस नागरिकले विसं २०१८ सालमा फेवाताल पारी फिस्टेल लज सञ्चालनमा ल्याएर नेपाललाई युरोपमा चिनाउने काम गरे । स्वीस नागरिककै अग्रसरतामा तिब्बती शरणार्थीको सिप प्रयोग गर्दै पोखरामा गलैंचा उत्पादन सुरु भयो । ती सामग्री पनि त्यतिबेलै युरोप निर्यात हुन्थे ।
धेरै खालका राजनीतिक परिवर्तन भए । पोखरेलीले सोही अनुसारको आशा गर्नु स्वभाविक थियो । खै के मा तालमेल नमिलेर हो लय समात्न सकेन यो सहरले । ४ दसक अघि नै शंकरराज पाठकहरुले देखेको सपना अझै साकार हुन सकेको छैन । उतिबेलै विमानस्थलका लागि अधिग्रहण गरिएको छिनेडाँडामा रनवे निर्माण सकिएको छ ।
तर विडम्बना बसपार्कको जग्गा भने खुम्चिँदै गएको छ । जसको जिम्मेवारी यहींका राजनीतिक नेतृत्वले लिनुपर्छ । नगरमा २ वर्षको कार्यकाल पार गरेका मेयर मानबहादुर जिसी भन्छन्,‘दीर्घकालीन सोचका साथ योजना नबनेकै कारण यो अवस्था आएको हो ।’
अघिल्लो पुस्तालाई दोष लगाइरहँदा मेयर जिसीतिरै प्रश्न तेर्सिन्छ । पोखराको विकासका दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने योजना उनले पनि ल्याउन सकेका छैनन् । पहिलो वर्ष कानुन बनाउँदैमा बित्यो । दोस्रो वर्ष पनि गर्ने भन्दा भन्दै पूरा भइसक्यो । बाँकी ३ वर्षमा पक्कै केही गरेर देखाउँछु भन्ने लागेको छ उनलाई । भन्छन्,‘हाम्रो अवस्था, परिस्थिति अनि स्रोत र साधनलाई हेर्ने हो भने हामीले धेरै काम गरेको मान्नुपर्छ, तर यत्तिमा सन्तुष्ट भएर बस्ने अवस्था छैन, पोखरालाई सिस्टममा चलेको पोखरा बनाएर हामीले सुम्पने छौं ।
संघीयता अघि पनि स्थानीय निकाय थिए । तर ती निकायले सरकारको मान्यता पाएका थिएनन् । अहिले त कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ३ वटै अंगसहितको सरकार हो स्थानीय तह । केन्द्र र प्रदेशलाई भन्दा बढी अधिकार प्रत्याभूत गरेको संविधानले । तर के ती अधिकार प्रयोगका लागि महानगर क्रियाशील भए पनि कार्यप्रगतिको हिसावले स्थानीय सन्तुष्ट भने हुन सकेका छैनन् ।
व्यवसायी आनन्दराज बतास भन्छन्,‘पोखराको भौतिक विकास र पूर्वाधारको क्षेत्र नेतृत्वको बोल्ड डिसिजनको पर्खाइमा छ । चाहे व्यवस्थित बसोबासको कुरा होस्, चाहे यातायात र ट्राफिक व्यवस्थापनको कुरा होस्, चाहे प्राकृतिक सम्पदा र त्यसको सदुपयोगको कुरा होस्, पोखरालाई दीर्घकालीनकालसम्म पोखरा बनाइराख्ने नेतृत्व चाहिएको छ ।’
तत्कालीन लेखनाथ नगरपालिकाका मेयर शालिग्राम पौडेल विकासको लय समात्नुपर्ने महानगर नेतृत्व कतै रुमलिइरहेको बताउँछन् । सबैभन्दा पहिले परम्परागत नीति नै परिवर्तन गर्नुपर्नेमा उनी जोड दिन्छन् । उनका अनुसार कृषि, यतायात, खानेपानी, विकास र पूर्वाधार, निजी क्षेत्रसँग सम्बन्धित नीति नै थोत्रा भए । भन्छन्, ‘एउटा थिंक ट्यांक बनाओस्, विचार मन्थन गरोस् र परिवर्तनकारी, रुपान्तरणकारी भिजन आओस् । केही त क्रान्तिकारी योजना चाहिएको छ, पोखरालाई । क्रान्तिकारी योजनाको नायक बन्ने अवसर अहिलेको नेतृत्वलाई छ ।’
धेरै अगाडि बढ्नुपर्ने महानगर सानातिना उल्झनमा रुमल्लिएको छ । थालेका कामलाई टुंगोमा पुर्याउन नसक्दै विवादमा पर्छ । जसको कारण हो, साँघुरो घेराबीच मेयरको अलमल । कानुनले निषेध गरेको एकीकृत सम्पत्ति कर उठाएको महानगरले यो बारेमा अदालतमै मुद्दा खेप्नु पर्यो । अन्ततः उच्च अदालत पोखराको आदेशपछि महानगर नीति फेर्न वाध्य भयो ।
फिर्के अतिक्रमण हटाउने अभियानदेखि, बिजुलीका पोलमा झुण्डिएका अस्तव्यस्त तार व्यवस्थापनमा महानगर सफल हुन सकेको छैन । कांग्रेसबाट पोखराको मेयरका प्रत्यासी रामजी कुँवर चुनावका बेलामा चर्का नारा लगाउन जति सजिलो थियो, काम गरेर देखाउन त्यति नै गाह्रो हुने बताउँछन् ।
उनले भने, ‘उतिबेला स्मार्ट सिटीको नारा खुबै लगाइयो, यहाँ नगरवासी भने चर्को करको मारमा परेका छन् ।’ अहिले भइरहेका र मेयरले उपलब्धि भनेर औला भाँचेका काम त स्वभाविक प्रक्रिया अन्तर्गत भएको उनको प्रतिक्रिया छ । ‘जे नगरे पनि हुन्छ, त्यो गर्ने, तर जे गर्नुपर्ने हो, त्यतातिर ध्यानै नदिएर कसरी नगर अगाडि बढ्छ ?,’ उनको प्रतिक्रिया थियो ।







आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया