हावाहुरीले पोखरेली किसानको ५० करोड क्षति !

विकास रोकामगर
पोखरा
पोखरा १४ चाउथेका थमन घर्तीमगर २ रोपनीमा तरकारी खेती गर्छन् । जग्गामा रहरलाग्दो गरी फलेका काँक्रा, करेला, लौका लगायत तरकारी बजारमा बेच्न जाने तर्खर गर्दै थिए । दिनरात खटेर फलाएको तरकारी बजारमा लगेर बेचुँला र पैसा कमाउँला भन्ने सपना गत वैशाखको हावाहुरीले उडाइदियो ।
खुर्सानी, टमाटर रोप्न तयारी अवस्थामा राखेको २ वटा टनेल पनि त्यही हावामा उडेर गयो । हावाहुरीले मगरको टनेल र तरकारीमा मात्रै क्षति पुर्याएन । उनलाई मानसिक रुपमै असर पुर्यायो । लाखौंको उत्पादन निमेषभरमै सखाप भएपछि न हाँस्न सके त रुन नै । ढलेका तरकारी र भत्किएको टनेल मिलाउँदै दैनिकी बित्न थाल्यो ।
पोखरा २० भलामकी सीता पौडेलको व्यथा पनि त्यस्तै । नयाँ वर्षको केही दिनपछि आएको ठूलो असिनापानीले २ रोपनीमा बनाएको ५ वटा टनेल च्यातचुत पारिदियो । च्यातिएका प्लास्टिकलाई उनका श्रीमानसँग मिलेर बजारबाट गम किनेर टाल्न खोजे तर कहाँ सजिलो हुन्थ्यो र ? दुखेसो पोख्दै भनिन्, ‘एउटा टनेल बनाउन २०÷३० हजार खर्च भयो । असिनापानीले सबै च्यातिदिएपछि त घरको न घाटको झैं भएँ ।’
पौडेल र मगर प्राकृतिक प्रकोपका कारण बालीनालीमा क्षति पुग्ने उदाहरणमात्रै हुन् । पोखरा महानगरमा नयाँ वर्षपछि लगातार परेको हावाहुरी तथा असिनापानीले किसानलाई करोडौं क्षति पुर्याएको छ । भर्खर पसाउन लागेको मकैदेखि बिक्रीका लागि तयार तरकारी बालीमा हावाहुरी र असिनापानीले पूर्ण रुपमा क्षति पुर्याउँदा किसान चिन्तामा छन् । न फेरि सुरु गर्न सकेका छन्, न त कृषि पेसा नै त्याग्न ।
पोखरा महानगर कृषि महाशाखाका अनुसार पानी तथा असिना वर्षैपिच्छे परिरहने भए पनि यसपटक धेरै क्षति पुर्याएको छ । महाशाखा प्रमुख मनहर कडरिया वैशाखदेखि असार अन्तिमसम्म प्राकृतिक विपदका कारण महानगरमा करिब ५० करोड बराबरको बालीनालीमा क्षति पुगेको बताउँछन् । ‘यसपालि नयाँ वर्षसँगै ठूलो हावाहुरी र असिनापानी पर्न सुरु गर्यो । धेरै किसान त्यसको मारमा परेका छन् । उनीहरुले करोडौंको क्षति व्यहोर्नु परेको छ,’ उनले भने ।
कडरियाले महानगरको सम्पर्कमा आएका क्षति विवरणमात्रै तथ्यांकमा समेट्न सकिएको बताए । उनले सम्पर्कमै नआएकामध्ये पनि ठूलो क्षति पुगेको र त्यसको आकलन पनि गर्न नसकिएको बताए । उनले भने, ‘क्षति पनि ठूलो छ । आँकलन गर्नै गाह्रो भइरहेको छ ।’ बाँसका टनेल कमजोर हुने भएर फलामका बनाइएको तर ती टनेल पनि हावाहुरीले भत्काइदिएको उनले सुनाए । क्षति भएकामध्ये करिब ३० प्रतिशतमात्रै सम्पर्कमा आएको उनले बताए ।
प्राकृतिक विपद्बाहेक पनि महानगरका ग्रामीण वडातिर बाँदर पनि तरकारी बालीका लागि ठूलो समस्याका रुपमा देखिएको कृषि शाखाको भनाइ छ । बाँदरले समेत लाखौं मूल्य बराबरको बालीनाली नष्ट गर्ने तर त्यसलाई बिमा कम्पनीले पनि स्वीकार नगर्ने भएकाले किसान झनै मारमा परेको कडरियाले बताए । ‘बाँदरले पुर्याउने क्षतिलाई पनि बिमामा समेट्न सकियो भने किसानलाई फाइदा पुग्ने थियो । महानगरले अहिले बिमा कम्पनीसँग यसबारे छलफल गरिरहेको छ,’ उनले भने ।
पीडित किसानलाई महानगरको राहत
प्राकृतिक विपद्का कारण क्षति पुगेका किसानलाई पोखरा महानगरपालिकाले बुधबार राहत वितरण गरेको छ । किसानले खेती गरेको जग्गाका आधारमा महानगरले बढीमा १५ हजार रुपैयाँसम्म राहत क्षतिपूर्ति महानगरले वितरण गरेको हो ।
पोखरा महानगरका वडा नम्बर ५, ७ र २० बाहेकका वडाका प्राकृतिक प्रकोप पीडित किसानलाई महानगरले राहत वितरण गरेको हो । यी ३ वडामा वडाबाटै राहत वितरण गरिएको महानगर कृषि महाशाखा प्रमुख कडरियाले बताए । बुधबार महानगरले १ सय ६५ पीडित किसानलाई राहत दिएको हो । ३ महिनाको अवधिमा महानगरले हावाहुरी पीडित किसान करिब ४ सय जनालाई राहत वितरण गरेको उनले जानकारी दिए ।
महानगरले बुधबारमात्रै १० लाख रुपैयाँ वितरण गरेको छ । त्यसअघि पोखरा ५ मा ६ लाख रुपैयाँ, पोखरा ७ मा १ लाख ६५ हजार र पोखरा २० मा १ लाख ६० हजार रुपैयाँ राहत वितरण भइसकेको छ । ‘सबै ठाउँमा गरेर महानगरले प्राकृतिक प्रकोप पीडित किसानलाई १९ लाख बराबरको राहत प्रदान गरेका छौं,’ कडरियाले भने ।
लाखौं मूल्य बराबरको क्षति भएर पनि हातमा ४ हजार क्षतिपूर्ति लिएका थमन घर्तीमगर हर्षित नै देखिए । अपर्याप्त नै भए पनि महानगरले केही रकम दिएपछि भने उनलाई खुसी लागेको छ । ‘यति भए पनि पाइयो । बेलैमा बिमा गर्नुपर्ने रहेछ । खेती किसानीमै जीवन बिताइयो । अब पनि फेरि त्यसैमा लाग्ने आँट बल्ल आयो,’ उनले भने ।
नगद होइन बिमा !
पोखरा महानगरपालिकाले आउँदो वर्षदेखि प्राकृतिक प्रकोपबाट क्षति पुगे पनि नगद राहत नबाँड्ने बताएको छ । पोखराका मेयर मानबहादुर जिसीले किसानले अनिवार्य कृषि बिमा गर्नुपर्ने र महानगरले नगद अनुदान दिन बन्द गर्ने तर बिमाका माध्यमबाट सहयोग गर्ने बताए । मेयर जिसीले क्षतिपूर्ति रकम थोरै भए पनि किसानलाई राहत हुने विश्वास व्यक्त गरे ।
उनले किसान हतोत्साही र पलायन नहुन् भन्नका लागि अन्तिम पटक नगद क्षतिपूर्ति दिइएको बताए । ‘नगद अनुदान महानगरले अब पूर्ण रुपमा बन्द गर्न लागेको छ । अब अनुदानको व्यवस्था बिमाबाटै गरिन्छ,’ मेयर जिसीले भने, ‘बिमा कम्पनीले दिने रकममा महानगरले पनि रकम थपेर दिने व्यवस्था गरेका छौं ।’
कृषि बिमा गर्दा २५ प्रतिशत किसानले जम्मा गर्नुपर्ने र त्यसमा ७५ प्रतिशत बिमा कम्पनीले थप्नुपर्ने नियम छ । महानगरले बिमा कम्पनीको सोही ७५ प्रतिशतमा रकम थप गरिदिनेछ । बिमा प्रक्रिया लामो र झन्झटिलो हुने गुनासो बढी आएकाले त्यसलाई सहज बनाउन महानगरले मध्यस्थकर्ताको भूमिकामा रहने मेयर जिसीले बताए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया