साढे २ करोड ठग्ने सरीता जेल चलान

समाधान संवाददाता, पोखरा
५० जनाभन्दा बढीबाट साढे २ करोड ठगी गर्ने बागलुङ रणसिंह किटेनीकी सरीताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान भएकी छन् । उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीको इजलासले सोमबार गरेको फैसलापछि उनी जेल चलान भएकी हुन् ।
साढे २ करोड रुपैयाँ बिगो र सोही बमोजिमको जरिवाना गरी ५ करोड रुपैयाँ भराउने फैसला भएकोमा उनले तिर्न नसकेपछि जेल चलान भएको रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले बताए । सरीता यसअघि पनि पुर्पक्षका लागि थुनामै थिइन् । माघ १० गते दर्ता भएको मुद्दामा माघको अन्तिम साता तत्कालीन मुख्य न्यायाधीश जीवनहरि अधिकारीको इजलासले ५ करोड धरौटी माग गरेकोमा तिर्न नसकेपछि उनी पुर्पक्षका लागि थुनामै थिइन् । बैंकिङ कसुर मुद्दामा बिगो, बिगो बराबर जरिवाना र ३ महिनासम्म जेल सजाय हुनसक्ने व्यवस्था छ ।
पछिल्लो समय पोखराको अर्घौंचोकमा बस्दै आएकी सरीताले स्थानीयलाई प्रभावमा पार्र्दै करोडौं रुपैयाँ कुम्ल्याउन सफल भएकी हुन् । उनीविरुद्ध २०७५ माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । माघ ७ गते उनलाई प्रहरीले काठमाडौंबाट पक्रेर पोखरा ल्यायो । ८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्यो । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत फागुन १० मा उच्च अदालत पोखरामा बैंकिङ कसुर मुद्दा दायर गरेको थियो ।
जनकलाल लोहनीको जाहेरीमा परेको मुद्दामा १२ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसलगत्तै रेशमलाल कँडेलसमेतको जाहेरीमा परेको मुद्दामा २ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको थियो ।
विभिन्न वाहानामा सरीताले सापटी रकम माग्ने तर रकम नभएको बैंक खाताको चेक दिने गर्थिन् । जनकलाल लोहनीले एनआइसी एसियाको १२ लाखको चेक फिर्ता पाए पनि साट्न नसकेपछि प्रहरीमा उजुरी दिएका हुन् । यसैगरी, रेशमलाल कँडेल, देवी जैसी, नरमाया थापामगर, तारा फगामी पुन, चन्द्रबहादुर सुनार, जीतबहादुर पुन र धनबहादुर पुनलगायतले २ करोड ३८ लाख रुपैयाँको बिगोसहित उजुरी दिएका हुन् । उनीहरु सबैले पाएको चेक साटिएको छैन ।
आरोपित सरीताले आफूले रकम लिएको र रकम नभएको खाताको चेक दिएको प्रहरीसमक्ष स्वीकारेकी छन् । संगतमा आएका ४ जनाका कारण आफू फँसेको उनको जिकीर छ । कीर्तिपुरका दीपेन्द्र जोशी, पाँचथरका आरके लिम्बु नेम्बाङ, रोल्पाका राजकुमार पुन र खोटाङका नेत्र राईको उक्साहटमा लाग्दा आफू ठूलो कारोबारमा फँसेको सरीताको भनाइ छ । ‘तपाईंलाई यो ठाउँमा पत्याउँछन्, रकम उठाएर धनकुटातिर गएर सुन्तला खेती गर्नुपर्छ,’ भन्दै उक्साएको सरीताले प्रहरी वयानमा भनेकी छन् । ५० भन्दा बढीले आफूहरु ठगिएको भन्दै प्रहरीसँग नाम टिपाए पनि प्रमाणको आधारमा साढे २ करोड बिगो देखिएकाले सोही आधारमा मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।
घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ । घडेरी किन्ने व्यक्ति खोजिरहेको बेला पोखरा २६ की दिलमाया पुनको भेट सरीतासँग भयो । सामान्य चिनजानपछि सरीता दिलमायाको घरमा आउजाउ गर्न थालिन् । आउजाउ बढ्न थालेपछि सरीताले दिलमायासँग लेनदेन सुरु गरिन् । पहिला ससानो रकम लैजाँदै फिर्ता गर्दै विश्वास जितेपछि सरीताले दिलमायाबाट १ करोड ७० लाख रकम फुत्काइन् ।
उक्त रकम बराबरको चेक सरीताले दिइन् पनि । तर जुन बैंकको चेक दिएकी थिइन्, उक्त खातमा रकमै थिएन । पटकपटक बैंक जाँदा रकम नसाटिएको र सरीता पनि सम्पर्कविहीन भएपछि दिलमायाले प्रहरीको साथ मागेकी हुन् । बुढीबजारकी नीरा सुनारले पनि सरीताले १९ लाख रुपैयाँ खाएर भागेको उजुरी दिएकी छन् । लेखनाथकै देवी जिसीले पनि आफ्नो ३ लाख रुपैयाँ फँसेको बताएकी छन् ।
३ करोड रुपैयाँभन्दा रकम तिर्न बाँकी रहेको सरीताले प्रहरीसँग स्वीकार गरेकी छन् । व्यवहार बिग्रँदै गएपछि सापटी पनि बढेको र तिर्न नसक्ने अवस्था आएपछि भागेको उनले बताएकी छन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया