एउटै नगरमा २ उद्योग वाणिज्य संघ

राजन उपाध्याय
दुलेगौंडा
एउटै नगरमा २ वटा संघ स्थापना भएका छन् । शुक्लागण्डकी नगरपालिकामा २ हप्ताको अन्तरालमा शुक्लागण्डकी उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हुन् । दुबैले आफू आधिकारिक भएको दाबी गरेका छन् ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले सोमबार दुलेगौैंडामा पत्रकार सम्मेलन गरी वसन्त ज्वारचनको अध्यक्षतामा गठित तदर्थ समिति नै दुलेगौंडा र खैरेनीटारको आधिकारिक संघ भएको दाबी गरेको हो । दुबै बजार इकाइका सदस्य स्वतः नगर उद्योग वाणिज्य संघको सदस्यता रहने संघले जनाएको छ । सिमित व्यक्तिको निहित स्वार्थका लागि शुक्लागण्डकी उद्योग वाणिज्य संघ गठन भएको भन्दै उनीहरुले भ्रममा नपर्न आग्रहसमेत गरे ।
पत्रकार सम्मेलनमा उपस्थित तनहुँ उद्योग वाणिज्य संघका कावा अध्यक्ष बैकुण्ठनाथ मिश्रले विधि मिचेर व्यक्तिगत स्वार्थका लागि उद्योग वाणिज्य संघ गठन भएको दाबी गरे । ‘गैर व्यवसायी साथीहरुलाई राखेर संस्था गठन भएको छ,’ उनले भने, ‘भेला नै नगरी संघ गठन गर्नुको उद्देश्य के हो ? यहाँ केही न केही स्वार्थ लुकेको छ ।’ वितरक महासंघका केन्द्रीय सदस्य मंगलप्रसाद श्रेष्ठले एउटै नगरमा २ वटा संस्था भए व्यवसायिक एकतामा बाधा पुग्ने बताउँदै वार्तामार्फत समाधान गर्न आग्रह गरे । उनले यहाँका दुबै इकाइ खारेज भई नगरमा समायोजन भएको जानकारी दिए ।
तनहुँ उद्योग वाणिज्य संघका महासचिव इमकुमार मल्लले हारको मानसिकताबाट संस्था दर्ता गरेको आरोप लगाए । नगर उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त ज्वारचनले नगरमा २ वटा नगर उद्योग वाणिज्य संघ हुन नसक्ने भन्दै वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘हामीले विवाद समाधानका लागि अनौपचारिक रुमा छलफल गरिरहेको छौं,’ उनले भने, ‘तर उहाँहरु हरिकुमार श्रेष्ठलाई नै अध्यक्ष बनाउने शर्त लिएर आउनुहुन्छ । त्यसैले कुरा मिल्न नसकेको हो ।’ संघका द्वितीय उपाध्यक्ष हरि खड्काले सर्तसहितको वार्ता हुन नसक्ने उल्लेख गरे ।
नगरपालिका गठन भएको आधा दशक बितिसक्दासमेत नगरमा उद्योग वाणिज्य संघ गठन हुन सकेको थिएन । नगर स्थापना भएसँगै २०६८ सालदेखि नगर उद्योग वाणिज्य संघ गठन गर्नुपर्ने आवाज उठ्दै आएको थियो । दुबै इकाइबीच पटक पटक छलफलसमेत भएको थियो । तर सहमति हुन सकेको थिएन । नगरका मेयर किसान गुरुङले व्यवसायीका सार्वजनिक कार्यक्रममा समेत नगर उद्योग वाणिज्य संघको आवश्यकता औंल्याउँदै आएका थिए ।
हरिकुमार श्रेष्ठको अध्यक्षतामा गत असार ६ गते शुक्लागण्डकी उद्योग वाणिज्य संघको तदर्थ समिति जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको थियो । प्रमाणपत्र पाएको ५ दिनपछि असार ११ गते पत्रकार सम्मेलन गरी ११ सदस्यीय तदर्थ समिति सार्वजनिक गरियो । व्यसायीको भेलाबिना नै तदर्थ समिति बनाइएको भन्दै दुलेगौंडा र खैरेनीटार इकाइले असार १३ गते विशेष भेला आह्रान गरे । सो भेलाले वसन्त ज्वारचनको नेतृत्वमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ तदर्थ समिति निर्माण गरेकोे हो । ज्वारचन नेतृत्वको संघले असार ३१ गते जिल्ला प्रशासनमा दर्ता भई प्रमाणपत्र प्राप्त गर्यो । यसअघि असार २९ गते शुक्लागण्डकी उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशबाट सदस्यताको प्रमाणपत्र बुझेको थियो । संघ गठन भएपछि दुबै संघबीच आरोप प्रत्यारोप चल्दै आएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया