बेगनासतालमा सफाइ अभियान

समाधान संवाददाता २०७६ साउन १२ गते ११:४२

समाधान संवाददाता, पोखरा

Advertisement

२०७४ माघ २० गतेदेखि निरन्तर सञ्चालित बेगनासताल बृहत् सफाइ अभियानले ६७ औं हप्तासम्म निरन्तरता पाएको छ । ब्युटिफूल बेगनासलाई आत्मसाथ गर्दै यस क्षेत्रको पर्यावरण जोगाउन स्थानीय बेगनास युवा क्लबले हरेक हप्ता सफाइ गर्दै आएको मुख्य अभियान्ता तथा बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए । अभियानको ६७ औं हप्ताको कार्यक्रमलाई गगनगौंडास्थित ओसियन जिम तथा फिजिकल फिटनेसलेसमेत साथ दिएको छ ।

जिममा सम्लग्न ३० युवासहित रानाभाट समाज बेगनासतालका महिला र क्लबका सदस्यसँगै स्थानीयले सफाइ गरेका हुन् । शनिबार ताल वरपर मन्धरेपार्क, ड्यामसाइडबाट २० बोरा फोहोर संकलन तथा ताल किनारका जलकुम्भी झार हटाइएको क्लबले जनाएको छ । सरसफाइ अभियानको क्रममा पोखरा बृहत् सफाइ अभियानसँग साझेदारी गरेको क्लबले जनाउँदै आएको छ । लेकसाइड पछिको पर्यटकीय केन्द्र बेगनासताल क्षेत्र वरपर ‘जथाभावी फोहोर फाले जरिवाना लाग्छ’ भन्ने लेखिएका बोर्डहरु वडाले राखे पनि उचित निरीक्षण र समन्वयको अभावले गर्दा जरिवाना बोर्डमा मात्र सिमित हुँदा क्लबले दुखेको पोखेको छ ।

अभियान्ता रानाभाटले काम गर्नेलाई वास्ता नगरी वडा नं ३१ बाट बजेट हत्याउने प्रयासमा चर्को राजनीति गरेकामा चिन्ता गरेका हुन् । उनले सफाइ अभियानलाई स्थानीय तथा विभिन्न संस्थाको साथले निरन्तर हुने बताएका छन् । उनले भने, ‘केही पार्टीगत राजनीति गर्दै केही पहुँचवालाले सो समिति निर्माण गरेर आफू अनुकूलकालाई सदस्य बनाउँदै बजेट हत्याउने प्रयास भयो ।’

‘फोहोर गर्नेले फोहोर गर्दै जाने र उठाउनेले निरन्तर उठाउँदै जाने हो भने यस्ता खाले सफाइका हजारौं हप्ता पनि निरर्थक बन्नेछन्’ उनले भने, ‘मानिसमा सचेतना आउनको लागि यस्ता खाले सफाइ अभियानले सानै भए पनि भूमिका खेल्नु पर्छ ।’ यस्तै लागुपदार्थको क्षेत्रमा काम गर्दै आएको राइजिङ स्टार युथ क्लबले पोखरा २७ तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखेर सञ्चालन गर्दै आएको रिठेपानी बृहत सफाइको ५१ औं हप्ता सम्पन्न गरेको क्लब अध्यक्ष विष्णु गुरुङ जानकारी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया