गण्डकी प्रदेशमा को-को बन्लान् थप मन्त्री ?

समाधान संवाददाता २०७६ साउन २१ गते ११:३६

अमृत सुवेदी
पोखरा

नेकपाका सांसद रोशन गाहामगरलाई सन्देश पुग्यो, ‘मन्त्री बन्दै हुनुहुन्छ । तयार रहनू ।’ गण्डकी प्रदेश मन्त्रिपरिषद पुनर्गठन हुँदा उनी मन्त्री बन्ने सूचीमा थिए । २०७४ चैत १२ गते मन्त्रिपरिषद विस्तार त भयो तर एकाएक सूची फेरियो । गाहा मन्त्री बन्न पाएनन् ।

सोही दिन अर्थमन्त्री किरण गुरुङ, पर्यटनमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री नरदेवी पुनले सपथ लिए । मुख्यमन्त्रीका दाबेदार किरणलाई सहमतिमै अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

Advertisement

फागुन ४ गते गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद गठन भएको थियो । तत्कालीन एमालेबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योगमन्त्री रामशरण बस्नेतले शपथ लिए । सोही दिनको साँझ तत्कालीन माओवादीका हरिबहादुर चुमानले कानुन र लेखबहादुर थापाले कृषिमन्त्रीको सपथ लिए ।

मन्त्रिपरिषद विस्तारको अध्याय अझै सकिएको छैन । विस्तार हुने हो भने मन्त्री थपिँदा उनी सम्भावित सूचीको १ नम्बरमै छन् । गण्डकी प्रदेशलाई बढीमा १२ मन्त्रालय बनाउने पाउने संवैधानिक अधिकार छ । ७ सदस्यीय मन्त्रिपरिषदलाई १० सदस्यीय बनाउन विज्ञले सुझाव दिएसँगै अब बन्ने मन्त्री सूचीमा कोको छन् भन्ने चर्चा सुरु भएको छ ।

Advertisement

सरकारको संगठन तथा व्यवस्थापन सुझाव दिन नेपाल प्रशासानिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)सँग प्रदेशले सम्झौता गरेको थियो । प्रतिष्ठानका निर्देशक पुण्य न्यौपाने नेतृत्वको टोलीले प्रदेश सरकारलाई त्यसको मस्यौदा बुझाएर सुझाव लिएको हो । सरकारलाई बुझाएको सरकारको संगठन तथा व्यवस्थापन सम्बन्धी सस्यौदामा ७ बाट १० मन्त्रालय पु¥याउन सकिने सझाव दिएको छ । टोलीले मन्त्री र विज्ञहरुको सुझाव लिएर एक हप्तापछि पूर्ण प्रतिवेदन बुझाउने छ ।

टोलीले १० मन्त्रालय बनाउन सकिने सुझाव दिएसँगै सम्भावित मन्त्रीको खोजी र चर्चा सुरु भएको छ । अब मन्त्री थप हुँदा रोशन गाहा पक्काजस्तै भएको मुख्यमन्त्री स्रोतले बताएको छ ।

१२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था भएकाले मन्त्रिमण्डल बिस्तार हुने चर्चा चल्नु स्वाभाविकै भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउँछन् । ‘१२ मन्त्रालय बनाउने अधिकार छ । तर, टोलीले १० मन्त्रालय बनाउँदा उपयुक्त हुन्छ भनेर सुझाव दिएको हो,’ मुख्यमन्त्री पृथ्वीसुब्बाले समाधानसँग भने, ‘तत्कालै विस्तार गर्ने योजना छैन । तर, यो विषयमा छलफल चाहिँ चलेको छ ।’

मन्त्री थपिँदा रोशन गाहा प्राथमिकतामा पर्ने मुख्यमन्त्री गुरुङको पनि आशय थियो । चर्चापछि सांसद गाहामगर पनि मन्त्री हुने आशावादी देखिए । ‘मन्त्री थपिँदा तँ पक्का हो भन्नुभएको छ,’ नवलपरासीबाट निर्वाचित सांसद गाहामगरले समाधानसँग भने, ‘यसअघि पनि मन्त्रालय तोकिएको थिएन । तर, सपथको तयारी भइरहेको थियो ।’ मुख्यमन्त्री, मन्त्री र अरु सांसद पनि गाहामगर अब मन्त्री थपिँदा १ नम्बरमा आउने बताउँछन् ।

३ मन्त्री थपिँदा अरु सम्भावित कोको छन् त ? विशेष स्रोत भन्छ, ‘गाहामगरको पक्का भइहाल्यो । अरु ७ जना मन्त्री हुने कसरतमा छन् ।’ ३ मन्त्री थपिँदा १ जना महिला अनिवार्य पर्छन् । त्यसमा गायत्री गुरुङ र प्रभा कोइरालाको चर्चा छ । अर्की आशा कोइरालाको पनि चर्चा रहे पनि अर्थमन्त्री किरण र कानुमन्त्री चुमान तनहुँकै भएकाले त्यहीँबाट अर्को थप्ने सम्भावना नरहेको स्रोत बताउँछ ।

बाँकी २ का लागि रामजी बराल, कृष्ण थापा र राजीव पहारी कसरतमा छन् । प्रदेश राजधानी रहेको कास्कीबाट १ जना पनि मन्त्री नभएकाले तीमध्ये १ हुने सम्भावना पनि छ । त्यसबाहेक मुस्ताङका चन्द्रमोहन गौचन र स्याङ्जाका मीनप्रसाद गुरुङ पनि मन्त्रीको दाबेदार रहेको चर्चा छ ।

अहिले ७ मन्त्रालय रहँदा एउटै मन्त्रालयलाई धेरैतिरको जिम्मेवारी रहेकाले थपेर कार्यविभाजन गर्ने चर्चा छ । नरदेवी पुनले नेतृत्व गरेको सामाजिक विकास मन्त्रालयले धेरै क्षेत्रको जिम्मेवारी पाएको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार सामाजिक विकास अन्तर्गत छ ।

उद्योग, पर्यटन, आपूर्ति, पर्यटन, वन, विज्ञान, वातावरण र जलवायु क्षेत्रको नेतृत्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गर्नुपरेको छ । भूमि व्यवस्थापन, गुठी व्यवस्थापन, कृषि, पशुपंक्षी, सहकारी र गरिबी निवारण भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापाको पोल्टामा छ । सडक, खानेपानी, जलस्रोत, ऊर्जा, सिँचाइ, र यात्रा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत छ । एउटै मन्त्रालयलाई धेरै क्षेत्र बोझ भएकाले पनि सरकारले मन्त्रिपरिषदको बिस्तारको तयारी गरिरहेको सांसदहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया