सेल्फी पार्कमा मुख्यमन्त्री गुरुङ

एसके थकाली
जोमसोम
यार्तुङ महोत्सव उद्घाटन गरी फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सेल्फी पार्क अवलोकन गरेका छन् । मुख्यमन्त्रीका साथै प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याल, संघीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेश सांसद र विभिन्न सरोकारवालाले पनि पार्क अवलोकन गरे ।
सेल्फी पार्कमा मुख्यमन्त्री गुरुङको टोलीले केही समय विश्राम लियो । पार्कभित्रको भ्युटावर चढी टोलीका सदस्यले कागबेनी क्षेत्रको सुन्दर दृष्य पनि हेरे । उनले पार्कभित्रकै कृत्रिम सिमेन्ट र वालुवाले निर्मित गोलाकार शालिग्राम पनि नियाले । शालिग्राम कालिगण्डकी नदीमा पाइने भएकाले यो नमुना पार्कमा राखिएको हो ।
नेपाल भ्रमण २०२० नजिकिँदै गर्दा यस प्रकारको पूर्वाधारले पर्यटन विकासमा टेवा पुग्ने उनले बताए । जोमसोमदेखि माथि कागबेनी हुँदै मुक्तिनाथ जाने सडकको बाँयातर्फ सेल्फी पार्क छ । कागबेनी माथि सडकको दोस्रो मोडको करिब ३ हजार मिटर उचाइमा पार्क निर्माण भएको गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ धाराले जानकारी दिए । पार्क निर्माणका लागि संघीय स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २५ लाख र बाँकी ३ लाख जनश्रम दान तथा सहयोग जुटाइएको हो । पार्कको निर्माण स्थानीय पार्क निर्माण उपभोक्ता समिति गरेको अध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।
करिब २ सय मिटर लम्बाइ तथा सय मिटर चौडाइ रहेको पार्कवरपर पर्खालले घेरिएको छ । पार्कभित्र जाने मुख्य प्रवेशद्वार कलात्मक रुपमा तयार गरिएको छ । द्वारको माथिपट्टि ढुंगा अड्याइ गजुर बनाइएको छ । चारैतिर सल्ला र धूपीका विरुवा रोपिएको छ ।
मुक्तिनाथ दर्शन गर्न गाडी तथा मोटरसाइकल चढेर आउने धेरै तीर्थालु यहाँ अडिन्छन् । फोटो खिच्छन् र वरिपरिका दृष्य नियाल्छन् । पार्क आकर्षणको केन्द्र बनेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । साविक खुला चरनक्षेत्र रहेको स्थानमा पार्क बनाइएको हो । पार्कबाट कागबेनी गाउँ, कालिगण्डकी करिडोर र पहाडहरु नियाल्न सकिन्छ । यहाँबाट कागबेनी र आसपासका गाउँमा लगाएका स्याउ, फापर र उँवा खेतीको हरियाली पनि देख्न सकिन्छ । पार्कबाट गाडी चढेर आधा घण्टामा मुक्तिनाथ पुगिन्छ ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया