अस्पतालद्वारा मृत घाेषणा गरिएकी शिशु गाड्न लैजाँदा चलमलाइन्, सुत्केरी नभई गर्भपतन भएको अस्पतालकाे दाबी

रासस, बाँके
सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करिब पाँच बजे शिशुलाई जन्म दिइन्। जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो।
अस्पतालको प्रसुतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइदिए।
शिशु जन्मिएपछि खुसी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारीमा लागे।
छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो।
‘प्रसुतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलिथिनमा राखेर दिए, दु:खी हुँदै हामी पनि सतगद् गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौं,’ घटनाको विवरण सुनाउँदै मिलनले भने, ‘ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरवाही हो कारबाही गरिनुपर्छ।’
उनले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग दुई हजार रुपैयाँसमेत मागको बताए।
‘एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ, यो कहाँको कानून हो?, कर्मचारीले कपडा धोएको ५०० र बच्चा गाडेको एक हजार ५०० गरी दुई हजार मागेपछि हामी आफैं गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो,’ मिलनले भने।
शिशुलाई अहिले आइसीयूमा भर्ना गरिएको छ। सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ सातामा छोरीको जन्म भएको हो।
सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम रहेको छ। गर्भवती भएदेखि नै अस्पतालकी डाक्टर उर्मिला पराजुली रिसालसँग नियमित जाँच गरिरहेकी कमला जाँचकै लागि बिहीबार नेपालगञ्ज आएकी थिइन्।
नवजात शिशुलाई भेरी अस्पताल प्रसुतिकक्षमा कार्यरत कर्मचारीको चरम लापरवाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीलाई कारबाहीको माग गरेका छन्। मिलनले भने, ‘यसअघिको हाम्रो बच्चा खेर गयो, सन्तानको नाममा पहिलो शिशुका रूपमा छोरी पाएका थियौँ, अस्पतालका कर्मचारीका कारण ज्युँदै बच्चालाई गाड्न लगाइयो।’
अस्पतालले भने कमला सुत्केरी नभई गर्भपतन भएको जनाएको छ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया