बंगलादेशी राष्ट्रपति रुपाकोट जानेः पञ्चेबाजाले स्वागत गर्दै मारुनी र सोरठी नाच देखाइने

समाधान संवाददाता, पोखरा
बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा फेवातालमा डुंगा सयर गर्ने भएका छन् । त्यसपछि उनले अरु तालहरु र हिमाली दृश्यावलोकनका लागि रुपाकोट जानेछन् । उनको स्वागतका लागि पोखरा विमानस्थल अगाडि स्वागतद्वार निर्माण गरिएको छ ।
विमानस्थलदेखि लेकसाइड जाने सडकको सरसफाइ गरिएको छ । सडक किनारमा दायाँबायाँ नेपाल र बंगलादेशको झण्डा फहराइएको छ । विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङले स्वागत गर्नेछन् ।
जातीय, सांस्कृतिक, कलाका झाँकी प्रदर्शनी र पञ्चेबाजा बजाएर पोखरा महानगरपालिकाले बंगलादेशी पाहुनाको स्वागत गर्नेछ । स्वागतलगत्तै राष्ट्रपति हमिदले फेवातालमा डुंगा सयर गर्नेछन् । फिस्टेल लजमा उनको आतिथ्यमा दिवाभोज आयोजना हुनेछ ।
हेलिकप्टरमा उनी रुपाकोट रिसोर्ट जाने कार्यक्रम छ । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन् । रुपा गाउँपालिकाले त्यहाँ स्वागत गर्नेछ । स्वागत र सम्मानमा मारुनी र सोरठी नाच देखाइने जानकारी गाउँपालिका अध्यक्ष नवराज ओझाले दिए । रुपाकोटमा हमिदले एक घण्टा बिताउने कार्यक्रम छ । उनी बिहीबारै हेलिकोप्टरबाट काठमाडौं फर्कनेछन् ।
गण्डकी प्रदेश सरकारले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको पोखरा भ्रमणमा सुरक्षाको भरपर्दाे व्यवस्था मिलाउन प्रदेश र जिल्ला सुरक्षा समितिलाई निर्देशन गरेको छ । कार्यवहाक मुख्यमन्त्री किरण गुरुङको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्देशन दिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता रामशरण बस्नेतले बंगलादेशी राष्ट्रपति हमिदलाई नेपाली कला र शैली अनुसार भव्य स्वागत गर्ने जानकारी दिए ।
हिमाल, ताल तलैयाको दृश्यावलोकनपछि रुपाकोट रिसोर्ट खाना खुवाएर त्यहींबाट राष्ट्रपति हमिदलाई विदाई गरी काठमाडौं पठाइने भएको छ । रुपाकोटमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले स्वागत र विदाइ गर्नेछन् । बंगलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास मन्त्री बस्नेतले व्यक्त गरेका छन् । बंगलादेशबाट नेपालमा वार्षिक २५ देखि ३० हजारसम्म पर्यटक आउँछन् । यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए ।
बंगलादेशी राष्ट्रपति अब्दुल हमिद २६ देखि २९ कात्तिकसम्म नेपाल भ्रमणमा छन् । बुधबार उनले भक्तपुर दरबार क्षेत्र भ्रमण गरे । प्रधानमन्त्री केपी ओलीसँग उनको शिष्टाचार भेट भयो । उनले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, विपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई पनि भेट गरे । उनले प्रचण्डलाई सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेताको संज्ञा दिएका थिए ।








विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया