कोरला सडक ३ दिन बन्द हुने

जोमसोम÷कोरला सडक अन्तर्गत समरको भीरमा ब्लास्टिङ गर्दै ब्लास्टर टोली । तस्बिरः एसके थकाली ।
एसके थकाली, जोमसोम
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडकमा ३ यातायातका साधनको आउजाउ बन्द हुने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो खण्डमा सवारी आवागमन बन्द गरी बाटो निर्माण गर्नुपर्ने भएकाले करिडोरले ३ दिन यातायातका साधन आउजाउ रोक्ने भएको हो ।
चैलेदेखि भेनासम्मको खण्डमा पर्ने समरको भीर र झो खोलासम्मको सडक माथि ठूला÷ठूला कडा चट्टान भएकाले करिडोरले त्यहाँ बिस्फोटक पदार्थ प्रयोग गरी भिर फोर्न थालेको छ ।
सडक खुला रहँदा निर्माणमा बाधा पुग्ने उल्लेख गर्दै करिडोरले मंसिर ५ गतेदेखि मंसिर ७ गतेसम्म ३ दिन सडक बन्द गर्ने निर्णय गरेको करिडोर सडकका आयोजना प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए । उनका अनुसार केही महिनादेखि समरको भीरमा ब्लास्टिङ गरी भीर फोर्न सुरु गरेको हो । कोरला सडक अन्तर्गत तेस्रो खण्डको १२ किलोमिटर सडक निर्माणको ठेक्का कान्छाराम कोसी एन्ड न्यौपानेले लिएको छ ।
जोमसोमदेखि कोरलासम्मको सबैभन्दा जोखिम सडकका रुपमा रहेको उक्त साविक सडकमा करिडोरले चट्टान काट्ने र सडकको ग्रेट मिलाउने काम सुरु गरेको हो । करिडोरले ७ दिन बन्द गर्नुपर्ने प्रस्ताव स्थानीय प्रशासन र सर्वपक्षीय भेलामा राखे पनि उपल्लो मुस्ताङीहरु जाडो छल्न बेशी झर्ने क्रम सुरु भइसकेकाले ४ दिन घटाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
जोमसोम÷कोरला ११० किलोमिटर सडकलाई ७ खण्डमा विभाजन गरी काम सुरु भएको थियो । जोमसोम÷कोरला सडकको २ पटक म्याद थप भइसकेको छ भने पछिल्लो समय थपिएको म्याद समेत असारमा सकिदै छ । जोमसोम÷कोरला ११ मिटर फराकिलो ग्राभेल सडकको ४ खण्डको काम अन्तिम चरणमा छन् । छोसेरदेखि कोरला १६ किलोमिटर सडक यसअघि नै करिडोरलाई हस्तान्तरण भईसकेको इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए ।
जोमसोम—कोरला खण्डको चैले—भेना खण्ड र चराङदेखि छोसेर खण्डको काम सुस्त भएकाले अपेक्षा अनुसार सडकको प्रगती नभएको करिडोरले जनाएको छ । सडक निर्माण गर्ने सम्झौता गरेको कन्टेक कान्छाराम कोसी एन्ड न्यौपानेले पेटी ठेकेदारलाई जिम्मा लगाएको र उनीहरुले सडकको कामलाई अघि नबढाएकाले काममा प्रगति नभएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल विष्टले बताए ।
सडकको काममा ढिलो गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने अध्यक्ष विष्टको भनाइ छ । उनले सीमित उपकरण राखेर काम गरेजस्तो गर्ने तर कामलाई गति दिन निर्माण कम्पनी उदासीन भएको आरोप लगाए । कान्छाराम फर्मको उक्त ठेक्का यसअघि पर्यटन सहायकमन्त्री धनबहादुर बुढाले लिएका थिए । उनीबाट काम नभएपछि अहिले अर्को पेटी ठेकेदारले काम थालेका छन् । उक्त खण्डमा जम्मा ३५ प्रतिशत सडकको काम भएको छ । अध्यक्ष विष्टले उक्त खण्डमा मापदण्ड अनुसार आवश्यक उपकरणको व्यवस्था गर्न सुझाए ।
उपल्लो मुस्ताङमा हिउँद याममा हिमपात हुन्छ । चिसो छाउने भएकाले पुसदेखि फागुनसम्म काम गर्न सकिँदैन । उपल्लो मुस्ताङमा चिसो बढेकाले मजदुरसमेत अन्यत्रै जान्छन् ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया