१३ औं एसियाली खेलकुदः महिला फुटबल प्रतियोगिता अन्योलमा

समाधान संवाददाता
पोखरा
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने भनिएका ९ खेलमध्ये प्याराग्लाइडिङ नहुने निश्चितजस्तै भइसकेको छ । प्रतियोगिता हुन कम्तीमा ३ राष्ट्रले भाग लिनुपर्ने नियम छ । तर, प्याराग्लाइडिङमा भारत र नेपालबाहेक अर्को राष्ट्रले अहिलेसम्म भाग लिने छनक नल्याएकाले प्याराग्लाइडिङ नहुने निश्चितजस्तै भएको हो ।
प्याराग्लाइडिङबाहेक महिला फुटबल पनि नहुने शंका बढेको छ । मैदानका लागि आवश्यक पर्ने पूर्वाधार अहिलेसम्म पूरा नभइसकेको र आवश्यक सामान पोखरा नआइसकेकाले पनि महिला फुटबलबारे अन्योल छ । मैदानका लागि आवश्यक पर्ने दुबो, प्यारापिट लगायत सामान भारतबाट अझै पोखरा आइसकेको छैन ।
खेल विज्ञका अनुसार नयाँ दुबो बिछ्याएको २ हप्तामा खेल्न सकिने भए पनि अहिलेसम्म दुबो नेपाल नआएकाले महिला फुटबल हुनेमा शंका देखिएको हो । खेल सुरु हुन अब २ हप्ता नै बाँकी छ । अब हतारमा दुबो बिछ्याए पनि समय अभावका कारण खेलका लागि उपयुक्त भने हुने छैन ।
महिला फुटबल हुने मैदानका लागि अघिल्लो पटक कोलकत्ताबाट माटोसहित दुबो ल्याइएको थियो । तर, भारतीय क्वारेन्टाइनले भन्सारमा माटोसहित दुबो रोकिदिँदा दुबो आउन १ हप्ता लागेको थियो । मैदानका लागि ल्याइएको ८७ हजार वर्गफिट दुबो नेपाल ल्याउन ढिलाइ भएका कारण आधाभन्दा बढी उम्रिएन । अहिले कम्पनीले १२ हजार वर्गफिट दुबो मगाइएको छ ।
दोस्रो पटक मगाइएको दुबो गत आइतबार निर्माण पक्षले बुधबारसम्म पोखरा आइपुग्ने दाबी गरेका थिए । तर, दुबो शनिबारसम्म नेपाल नआउँदा महिला फुटबल मैदानको तयारी पूरा हुन सकेको छैन ।
तर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा भने प्याराग्लाइडिङ र महिला फुटबलसहित ९ वटै खेल हुने दाबी गरे । उनी भन्छन्, ‘महिला फुटबलका लागि मैदानमा दुबो रोप्न केही चुनौति देखें । तर, दुबो नेपाल आइसकेपछि फेर्नलाई कुनै समस्या हुने छैन ।’
१३ औं साग क्षेत्रीय प्रचारप्रसार तथा प्रकाशन समितिले शनिबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री विश्वकर्माले साग नेपालको साखसँग जोडिएकाले सबै खेल हुने दाबी गरेका हुन् । ‘१३ औं साग नेपालले तेस्रो पटक आयोजना गर्ने अवसर पाएको छ । त्यसैले यो नेपाल र नेपालीको प्रतिष्ठा, इज्जतसँग पनि जोडिएकाले पूर्वाधारमा कुनै कमी हुँदैन ।’
२ वर्ष अघि नै सकिसक्नुपर्ने १३ औं साग तत्कालीन समयमा विनाशकारी भूकम्पका कारण रोकिएको मन्त्री विश्वकर्माले सुनाए । ‘भूकम्पले भएका पूर्वाधार पनि क्षति पु¥याएको थियो । सोही कारण नयाँ पूर्वाधार बनाएर साग आयोजना गर्नु हामीलाई चुनौती थियो,’ उनले भने, ‘पुराना पूर्वाधारमा काम गर्नु र नयाँ पूर्वाधार बनाएर काम गर्नु पक्कै पनि चुनौतिपूर्ण हुन्छ ।’
मन्त्री विश्वकर्माले पोखरा रंगशालाका लागि आवश्यक ग्रान्ड स्ट्यान्ड प्यारापिट सोमबारसम्म पोखरा आइपुग्ने निर्माण कम्पनीले प्रतिबद्धता गरेको जनाए । उनले भने, ‘सोमबारसम्म पोखरा प्यारापिट लगायतका सबै सामान आइपुग्छ । त्यो जोड्न ४÷५ दिन लाग्छ ।’ उनले बाँकी रहेका पूर्वाधार निर्माणसमेत मंसिरको पहिलो साता नै सबै तयार भइसक्ने बताए ।
१३ औं साग अन्तर्गत पोखरामा ९, जनकपुरमा १ र काठमाडौंमा १३ खेल हुने तय भएको छ । साग खेल हुने रंगशालामध्ये पोखरामा महिला फुटबल मैदानमा दुबो रोप्ने÷फेर्ने, दशरथ रंगशालामा भिआइपी प्यारापिट जडान र सातदोबाटोमा हिटिङ स्विमिङ पुल तयार हुनमात्रै बाँकी रहेको र १ हप्ताभित्रै पूरा भइसक्ने मन्त्री विश्वकर्माको दाबी छ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया