गोरखामा नगर बस सेवा सुरु

मोहसिन अलि मियाँ
गोरखा
गोरखा नगरपालिकामा बिहीबारदेखि नगर बस सेवा सञ्चालन गरिएको छ । गोरखा नगरपालिकाको समन्वय तथा अनुमतिमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले नगर क्षेत्रमा १० वटा बस सञ्चालनमा ल्याएको हो ।
नगरप्रमुख राजनराज पन्तले बस सेवा शुभारम्भ गरेका हुन् । नगर क्षेत्रका १४ वटै वडामा पुग्ने गरी बस सेवा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । ‘नगरबासीको यात्रा सहज बनाउने उद्देश्यले नगर बस सेवा सुरु गरेका हौं,’ नगरप्रमुख पन्तले भने, ‘यो स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेकाले संघीयताको कार्यान्वयन पनि गरेका हाैं ।’
अहिले विभिन्न ११ वटा रुटमा बस चल्ने बताइएको छ । घलाङ नारेश्वर हुँदै गोरखा नगरपालिका कार्यालय, छोपथोकबाट नगरपालिका कार्यालय, नगरपालिकाबाट फिनाम ताप्ले छापथोक, छेवेटारबाट नगरपालिका कार्यालय, गोरखकाली दरबार, सतीपीपल, पस्लाङ रोटेपानी हुँदै नगरपालिका कार्यालय घुम्ती सेवा, देउरालीबाट नगरपालिका कार्यालय र पीपलथोक पन्थेस्वाँरा रानीवन हुँदै नगरपालिका कार्यालय घुम्ती सेवा गरी रुट निर्धारण गरिएको छ ।
मान्द्रेढुंगा गोरखा क्याम्पस खिरेपानी हुँदै नगरपालिका कार्यालय खुम्ती सेवा, ढुंगागाडे आहाले कट्टेलडाँडा हुँदै नगरपालिका कार्यालय, गोरखा बजार परिक्रमा घुम्ती सेवा, नगरपालिकाबाट बसपार्क नारेश्वर मेल बिसौना डेरा गाउँ फिनाम हुँदै नगरपालिका घुम्ती सेवा गरी विभिन्न ११ रुटमा गाडी सञ्चालन गर्न लागिएको हो । ‘अहिले सुरुमा १० वटा बस चल्छन्, तिनै बसलाई आलोपालो मिलाएर सबै तिर पठाउँछौं,’ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका जिल्ला प्रमुख राजन ढुंगानाले भने, ‘यात्रुको चाप र आवश्यकतालाई हेरेर थप्दै लैजाने योजना छ ।’
नगर बस विभिन्न वडामा पुग्दा स्थानीयले फूलमाला र अबिरले चालकलाई स्वागत गरेका थिए । बिहान ८ बजेदेखि बेलुका ८ः३० सम्म सञ्चालन गरिने बसको भाडा निर्धारण र अनुगमनका लागि नगरपालिकाका इन्जिनियर प्रकाश ढकालको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन भएको छ । समितिका सदस्यहरु उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किशोरजंग थापा, कम्पनीका क्षेत्रीय सदस्य विपीनचन्द्र ढकाल छन् ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया