सागमा महिला फुटबलः भारत बलियो प्रतिद्वन्द्वी

विकास रोकामगर
पोखरा
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल तालिका ‘टाइसिट’ निकालेको छ । टाइसिट अनुसार पुरुष फुटबल प्रतियोगितामा ६ राष्ट्र र महिलातर्फ ४ राष्ट्रमात्रै भिड्ने भएका छन् ।
मंसिर १५ देखि सुरु हुने साग खेलमा पुरुष फुटबल काठमाडौंमा हुने छ भने महिला फुटबल पोखरामा हुने तय छ । जारी टाइसिटका अनुसार नेपालको पहिलो खेल मंसिर १७ गते श्रीलंकाविरुद्ध हुने छ । नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने होइन ।
सागको अघिल्लो संस्करणमा भारतको गुवाहाटीमा भएको खेलमा श्रीलंकालाई ४–०को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसअघिका संस्करणमा पनि श्रीलंकाले नेपालमाथि दबाब कायम राख्न सकेको छैन । बंगलादेशको ढाकामा ११ औं संस्करणमा प्रवेश पाएको महिला फुटबल टोलीले त्यतिबेला पनि श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
श्रीलंकापछि नेपाल मंसिर १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । सहभागी राष्ट्र थोरै र मैदानको अवस्थाका कारण पनि प्रत्येक खेलपछि १ दिन खेल रोकिएको छ । राउन्ड रोबिन लिगबाट शीर्षस्थानमा उक्लिने २ टिम मंसिर २३ गते फाइनलमा भिड्ने छन् ।
पोखरा रंगशालामा हुने साग महिला फुटबलका लागि खेलाडीसहित सागका लागि ३७ जना अफिसियल टोली नेपालको प्रतिनिधित्व गर्नेछन् । १३ औं साग महिला फुटबल प्रतियोगितामा गोल रक्षकका रुपमा एन्जिला तुम्बापो, अञ्जना रानामगर र उषानाथ छन् ।
डिफेन्डरमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हीराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना उभिनेछन् । मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जलीकुमारी योन्जन, विमल चौधरी छन् । परवार्डको जिम्मा सावित्री भण्डारी, नीरु थापा, अनीता केसीले सम्हाल्ने भएका छन् ।
भारत बाधक, तर हारको बदला लिने मौका
दक्षिण एसियाली राष्ट्रमा महिला फुटबलमा नेपाल र भारत उत्कृष्ट मानिन्छन् । नेपालले बाँकी राष्ट्रसँग यसअघिका साग संस्करणमा अविजित यात्रा तय गरे पनि भारतसामु निरीह बन्न पुगेको छ । त्यसकारण पनि गृह मैदानमा भारतलाई जितेर इतिहास रच्ने मौका नेपाली टिमलाई छ ।
यसअघिका सबै संस्करणमा भारत स्वर्ण पदक विजेता बन्दै आइरहेको छ । नेपाल रजत पदकमै चित्त बुझाएर स्वदेश फर्किनुपर्ने बाध्यता थियो । भारतमा भएको यसअघिको संस्करणमा नै नेपाल भारतलाई जितेर स्वर्ण पदक हात पार्ने दाउमा थियो । तर, गृह मैदानमा उत्रिएको भारतीय टोलीसँग नेपालले भारतसँग ४–० को लज्जास्पद हार व्यहोर्नु प¥यो ।
जारी संस्करणमा नेपाल गृह मैदानमा छ । अर्थात अघिल्लो संस्करणमा गृह मैदानमा भारतले दिएको चुनौतीलाई यस संस्करणमा पूरा गर्नुपर्ने दबाब नेपाललाई छ । नेपालले हालसम्म रजतमामात्रै चित्त बुझाइरहेको छ । पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा मैदानमा उत्रिन लागेको नेपाली महिला टिमले कस्तो खेल प्रदर्शन गर्लान् ? त्यो भने हेर्न बाँकी छ ।
मैदान पनि बाधक !
१३ औं साग अन्तर्गत पोखरामा हुने तय भएको महिला फुटबल प्रतियोगिता कात्तिक १७ देखि हुने प्रतियोगिताका लागि भने मैदान अझै तयार भइसकेको छैन । पोखरा रंगशालाको प्यारापिट, दुबो विस्थापन लगायतका काम बाँकी छन् ।
मैदानमा ढिलो गरी रोपेको दुबो सर्नेले खेललाई ‘प्रभावित’ बनाउने भएपछि खेल अवधिभर दुबो ‘स्ट्यान्डबाई’ राखिने भएको छ । ‘प्रत्येक दिन खेल हुन्छ । दुबोका कारण मैदान र खेललाई असर नपार्न खेल प्रत्येक खेल सकिएपछि मैदान मर्मत काम हुन्छ,’ १३ औं सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति, पोखरा सदस्य राजेश गुरुङ भन्छन्, ‘साग महिला फुटबल सार्न चलखेल भइरहेको छ । हामी त्यसो हुन दिन्नौं ।’ उनले प्रत्येक खेलपश्चात ‘स्ट्यान्डबाई’ दुबोले रातभर भए पनि मैदान मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मैदानका लागि पहिलोपटक कलकत्ताबाट ल्याइएको बर्मुडा दुबो ‘माटोसहित विदेश पठाउन नमिल्ने’ भारतीय नीतिका कारण भन्सारमा करिब १ हप्ता रोकिएको थियो । जसका कारण ल्याइएका दुबोमा खराबी देखिएकाले फेरि मगाउनु परेको जेभीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले जानकारी दिए । पटकपटक गरी अहिलेसम्म करिब ८६ हजार स्क्वायर फिट दुबो मैदानमा बिच्छ्याइसकिएको छ । तर, अधिकांश दुबो सुकेपछि पुनः विस्थापन गर्नु परेको हो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया