रंगशालामा खेल होइन चित्रकला !

समाधान संवाददाता
पोखरा
पोखरा रंगशाला प्रवेशद्वार नजिकै छ, बास्केटबल कोर्ट । रंगशाला पुग्दा त्यहाँ साँझबिहान सधैं खेलाडी अभ्यासमा देखिन्थे । तर, बिहीबार दृश्य केही फरक देखियो । कोर्टभित्र केही कुर्ची र केही क्यानभास थिए ।
बास्केटबल कोर्टमा खेलाडी र बलको साटो बिहीबार क्यानभास थियो र थिए, क्यानभासमा एकतमास रङ पोतिरहेका कलाकारहरु । कोही क्यानभासमा हरियो आकासको रङ पोत्दैछन् । कोही घरी उत्तर फर्किंदै, घरी क्यानभास हेर्दै माछापुच्छ्रे कलामा उतारिहेका छन् । सबै आआफ्नै धुनमा छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्ष्य गरी बिहीबारदेखि पोखरामा सुरु भएको ‘आर्ट फर स्पोर्ट वर्कसप’मा देखिएको दृश्य हो यो । पोखरेली कला क्षेत्रमा क्रियाशील २० जना कलाकारले अहिले क्यानभासमा मन्त्रमुग्ध भएर चित्र कोरिरहेका छन् । वर्कसपमा नेपाल प्रज्ञा प्रतिष्ठान चित्रकला विभागका निवर्तमान प्रमुख रमेश श्रेष्ठ, वरिष्ठ कलाकार, यादवचन्द्र भुर्तेलदेखि बुद्धिज् एट्लेयरका ज्योति गुरुङसमेत सहभागी छन् ।
वर्कसपको गण्डकी प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री किरण गुरुङले क्यानभासमा माछापुच्छ«े हिमालको चित्र कोर्दै उद्घाटन गरे । उद्घाटन गर्दै उनले भने, ‘खेल आफैंमा कला हो । कला भएरै यसले सुन्दरता प्राप्त गरेको छ,’ उनले भने ।
२० जना कलाकार सहभागी भएको वर्कसपबाट तयार भएका चित्र १३ औं सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिलाई प्रदान गरिने वर्कसप संयोजक रमेश श्रेष्ठले जानकारी दिए । ‘वर्कसपमा करिब २०÷२२ वटा चित्र बन्छन् । ती चित्र पोखरेली परिवेश वरिपरि हुन्छन्,’ उनले भने, ‘सबै तयार भइसकेपछि हामीले आयोजक समितिलाई नै हस्तान्तरण गर्ने छौं ।’
वर्कसप संयोजक श्रेष्ठले खेलमा भाग लिन आउने स्वदेशी तथा विदेशी पर्यटकलाई चित्र उपहार दिएर पर्यटन तथा कलाको प्रचार प्रसार गरिने सुनाए । उनले भने, ‘खेलकुदमा चित्रकलाले पहिलो पटक स्थान पाएको छ । यसले भिजिट नेपाल २०२० लाई पनि सघाउनेछ भन्ने आश लिएका छौं ।’
१३ औं साग पोखरा अतिथि सत्कार तथा व्यवस्थापन समिति सदस्य खिम गुरुङले खेलमा भाग लिन आउने विशिष्ट प्रतिनिधिलाई चित्र उपहार दिइने जानकारी दिए । उनले भने, ‘वर्कसपले खेलकुदलाई कला र सिर्जनासँग जोड्नका साथै पोखरा आउने विशिष्ट अतिथिलाई स्वागत सत्कार पनि गर्न सकिने छ ।’ अर्थमन्त्री गुरुङले बिहीबार नै १३ औं सागका लागि पोखरा रंगशालामा बनाइएको मेडिकल सेन्टर पनि उद्घाटन गरेका छन् ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया