१३ औं सागः भारोत्तोलनमा अहिलेसम्म १ सय १० पदक

सुरेशराज अधिकारी
पोखरा
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को भारोत्तोलन खेल पोखरा १२ माटेपानीस्थित एसआर केसी बैंक्युटमा गर्ने योजना साथ निर्माण कार्य अघि बढेको छ । प्रतियोगितामा भारोत्तोलनतर्फ ६ देशका खेलाडी सहभागी हुनेछन् । इतिहास हेर्दा नेपालले सागमा धेरै पदक जित्ने खेल भारोत्तोलन पनि हो ।
भारोत्तोलनमा नेपालको इतिहास
सन् १९८४ मा भएको पहिलो साग खेलदेखि छैटौं संस्करणबाहेक अन्यमा नेपाल भारोत्तोलनमा भाग लिँदै आएको छ । नेपालले पहिलो सागमा भारोत्तोलनतर्फ ५ रजत र ३ कास्य पदक जितेको थियो ।
पहिलो सागमा भन्दा दोस्रो सागमा नेपालले भारोत्तोलनमा राम्रो प्रदर्शन गरेको थियो । साग दोस्रो संस्करणमा ६ रजत र १२ कास्य पदक जित्न सफल भएको थियो । तेस्रो सागमा नेपाल १९ कास्य पदक जितेर खुम्चिएको थियो । चौथो संस्करणमा नेपालले भारोत्तोलनमा राम्रो प्रदर्शन गरेकोमात्र थिएन, इतिहासमा नै धेरै पदकसमेत जितेको थियो । ६ रजत र २३ कास्य पदक जित्न सफल भएको थियो ।
पाँचौ संस्करणमा ३ रजत र १९ कास्य पदक जितेर खुम्चिएको नेपालले छैटौँ संस्करणमा सहभागी भएन । ७ औं संस्करणमा नेपालले २ रजत र ३ कास्य पदकमै चित्त बुझायो । ८ औँ सागमा ३ कास्य पदक हात पारेको थियो । नवौँ सागमा भारोत्तोलनमा १ कास्य पदकमात्र हात पार्यो । १० औँ सागमा १ स्वर्ण हात पारेको नेपालले साग खेलकुदमा भारोत्तोलन इतिहासमा नै नराम्रो प्रदर्शन गरी ११ औँ संस्करणमा नेपाल पदकविहीन बनेको थियो । ११ औं सागको नतिजा सुधार गरी १२ औं सागमा नेपालले १ रजत र ३ कास्य पदक हात पार्यो । भारोत्तोलनमा १३ औं सागमा नेपालले प्रि इन्ट्रिको आधारमा महिला र पुरुष दुवै समूहमा रजत र कास्य पदक आशा गरेको छ ।
१३ औं सागमा नेपाली खेलाडी
गत असोजमा छनोट भएका नेपालका १० जना महिला र ७ जना पुरुष बन्द प्रशिक्षणमा छन् । ८ जनाले दक्षिण कोरिया र १२ जनाले उज्वेकिस्तानमा केही समय प्रशिक्षण लिएर आएको भारोत्तोलनका प्रमुख प्रशिक्षक राम पौडेल बताउँछन् । भारोत्तोलनमा नेपाल, भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् । भुटानले यस पटकको सागमा पहिलो पटक सहभागिता जनाएको हो । यसकारण अघिल्लो वर्षको तुलनामा यस वर्षमा खेल केही फरक हुनसक्ने पौडेलको अनुमान रहेको छ ।
भारोत्तोलनमा पुरुषतर्फ कमलबहादुर अधिकारी ५५ केजी, विकास थापा ६१ केजी, सागर भण्डारी ७३ केजी, सन्देश गुरुङ ८१ केजी, प्रकाश केसी ८९ केजी, पुकार गुरुङ १ सय ९ केजी र विशालसिंह विष्ट र महिलातर्फ संगीता राई ४९ केजी, सत्तजु चौधारी ५५ केजी, राजलक्ष्मी थापा ५९ केजी, देवीकुमारी चौधरी ६४ केजी, तारादेवी पुन ७१ केजी, अस्मिता राई ७६ केजी, लक्ष्मी बन ८७ केजीका छन् ।
यसरी हुन्छ खेल
१३ औं साग अन्तर्गत भारोत्तोलन प्रतियोगिता मंसिर १९ गतेदेखि हुनेछ । ५ डिसेम्बर अर्थात् १९ गते महिलातर्फ ४५, ४९, ५५ केजी तौल समूहमा र पुरुषतर्फ ५५ र ६१ केजी तौल समूहको खेल हुनेछ । ६ डिसेम्बर अर्थात् २० गते पुरुष ६७, ७३, ८१ केजी तौल समूहमा प्रतियोगिता हुनेछ । महिलातर्फ ५९ र ६४ केजी तौल समूहको खेल हुनेछ । डिसेम्बर ७ वा मंसिर २१ गतेको खेलमा पुरुषतर्फ ८९ र ९६ केजी तौल समूह र महिलातर्फ ७१, ७६ र ८१ केजी तौल समूहका खेल हुनेछन् । डिसेम्बर ८ अर्थात् मंसिर २२ गते पुरुष १ सय २, १ सय ९ केजी र १ सय ९ भन्दा बढी तौल समूह महिलातर्फ ८७, र ८७ भन्दा बढी तौल समूह भएका खेलाडीबीच प्रतियोगिता हुनेछ ।
प्रतियोगिताका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । खेलका लागि मंसिर १४ गतेदेखि २५ गतेसम्म हल चाहिने भएकाले सोही अनुसार हल बुक भएको भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले जानकारी दिए । पोखरा रंगशालामा प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । सोही प्रशिक्षण केन्द्रमा नै नेपाली टिमले बिहीबारदेखि अभ्यास गर्दै आएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया