कास्की २ उपनिर्वाचनः बम छिचाेल्दै मतदान

समाधान संवाददाता २०७६ मंसिर १५ गते १३:०९
dav

पोखरा १६ अर्मला जुम्लेटीस्थित शान्ति मावि मतदानस्थलमा लामबद्ध महिला मतदाता लगायत । तस्बिरः ईश्वर देवकोटा/समाधान

ईश्वर देवकोटा
पोखरा

पोखरा १६ अर्मला जुम्लेटीस्थित शान्ति माध्यमिक विद्यालय मतदानस्थल शनिबार एकाबिहानै अशान्त बन्यो । हप्तादिनदेखि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको निरन्तरता पहरा छिचोल्दै अज्ञात समूहले बम राख्यो ।

Advertisement

त्रास फैलाउने र मतदातालाई मतदान स्थलसम्म आइपुग्न नदिन उक्त समूहले विष्फोट गरायो । मतदान सुरु भइसकेपछि बिहान साढे ७ बजे आसपासमा मतदानस्थलको गेटबाट १० मिटरनजिकै विष्फोट हुँदा शान्त वातावरण एकाएक बिथोल्यो । मतदान गर्न लामबद्ध भएका मतदाता तितरबितर भए ।

उक्त क्षेत्र पोखरा महानगर नै भए पनि ग्रामीण स्तरकै छ । त्यहाँ १ सातादेखि सुरक्षा निकायले परेड चलाइरहेको थियो तर कसरी विष्फोट भयो ? निरन्तर खटिएका १ सशस्त्र प्रहरी आफैं चकित परे । उनले भने, ‘मतदानस्थलको गेटभन्दा १० मिटर पर कसरी विष्फोट भयो !’

Advertisement

तर निर्वाचन कार्यक्रम नै भाँड्न लागिपरेको अज्ञात समूहको बिस्फोट गराउने र मतदाता तर्साउने योजना भने फेल भयो । झन्डै १२ बज्नै लाग्दा एकाएक उर्लिएको मतदाताको हुलले मतदान स्थलमा खटिएका कर्मचारीसहितका विभिन्न दलका प्रतिनिधिको अनुहार उज्यालियो ।

बिहान बम बिस्फोट भएपछि अशान्ति मच्चिएको उक्त स्थलमा युवा, महिलामात्रै होइन वृद्धवृद्धाको पनि उपस्थिति राम्रो देखियो । पोखरा १६ कुरेचौर निवासी ९१ वर्षीय राधाकृष्ण आचार्य पनि आफन्तकै बुई चढी गएर पनि मतदान गरी छाडे ।

अशक्त, वृद्धा, अपांगता भएका व्यक्तिलाई सहायता दिई लाइनमै बस्नु नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाइएकोे थियो । छोरा र लौरीको सहारामा मतदानस्थलसम्म आइपुगेका कुरेचौरकै ८२ वर्षीय शिवप्रसाद आचार्यले पनि छोटो समयमै मतदान गरे ।

मतदान स्थल वरिपरि उत्सवको माहोल देखिन्थ्यो । ३ वटा केन्द्रमा मतदान गर्ने मतदातामध्ये पुरुषभन्दा महिलाको संख्या बढी छ । सोही कारण पनि महिलाको लाइन लामो भयो ।

‘१ हप्ता अघिदेखि मतदानस्थलको सुरक्षाका लागि यहीँ छौं,’ ड्युटीमा खटिएका सशस्त्र प्रहरीले भने, ‘अचानक विष्फोटको आवाजले हामीलाई नै आश्चर्य बनायो ।’ उक्त मतदानस्थल सुरक्षा दृष्टिले संवेदनशीलमा राखिएको थियो ।

सोही अनुसार फौज परिचालन भए पनि विष्फोट हुँदा शान्ति माविमा बिहानको त्रस्त माहोलले मतदाता नआउने हुन् कि भन्ने संशय फैलाएको उनले बताए । सेनाको डिस्पोजल टोलीले २ मध्ये १ नपड्किएको स्टिल बट्टा चेक गर्दा खाली रहेको पाएको थियो । शान्ति माविको ३ केन्द्रमा जम्मा ३ हजार ७ मतदाता थिए । त्यहाँ १९ सय २५ मत खस्यो ।

मतदातालाई त्रस्त बनाउन मतदान सुरु हुँदै गर्दा पोखरा ९ नयाँबजारको नवप्रभात माविमा पनि बम विस्फोट भएको थियो । मतपेटिका भन्दा झन्डै १५ मिटर पर विष्फोट हुँदा मतदान नै केही समय अलमलिएको थियो । नवप्रभात माविमा ९६० मतदाता थिए । ५८२ मत त्यहाँ खसेको छ ।

पोखरा ३३ स्थित सरस्वती टीका मावि चिरगादी नजिकै पनि बम विष्फोट भएको थियो । दिउँसो १२ बजे आसपास पोखरा १६ चण्डिका आधारभूत विद्यालयस्थित मतदानस्थल नजिकै विष्फोट भयो । छुटाछुट्टै समयमा विष्फोट गराइएका घटनाको प्रकृति एउटै छ । मतदान स्थलभित्र वा अति नजिकको दूरीमा बिस्फोट भएको देखिन्छ । विष्फोटका कारण कुनै पनि क्षति नभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की २ को शनिबारको उपनिर्वाचनमा ४५ हजार ६ सय २१ मत खसेको प्रारम्भिक तथ्यांक यो समाचार तयार पार्दा (शनिबार बेलुकी) सार्वजनिक भएको थियो । यो कुल मतदाताको ६३ दशमलव ४१ प्रतिशत हो ।

‘उपनिर्वाचन भइरहेका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा मतदान शान्त र सुरक्षित रुपमा सञ्चालन भयो,’ उनले भने, ‘कुनै कुनै मतदान केन्द्रको क्षेत्रमा छिटफुट घटना भएका हुन् । त्यसले मतदान प्रक्रियामा असर पारेको छैन ।’

कास्की क्षेत्र २ मा पोखरा महानगरका ११ वडा छन् । ३२ मतदान स्थलका ८२ केन्द्रमा शान्तिपूर्वक मतदान कार्यक्रम सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिृकत महेन्द्र सुवेदीले जानकारी दिए ।

कास्की २ बाट २०७४ मा निर्वाचित तत्कालीन एमालेका उम्मेदवार रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा अधिकारीको पार्टी नेकपाबाट उनकै श्रीमती विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादीबाट धर्मराज गुरुङ, राप्रपा नेपालबाट रोमबहादुर भण्डारी लगायत दलका र स्वतन्त्रसमेत गरी २१ उम्मेदवार मैदानमा छन् ।

तपाईको प्रतिक्रिया