मुस्ताङमा फलफुल बेच्नेलाई जाडोको सकस

जोमसोममा चिसो सहदै फुटपाथमा फलफुल बिक्री गर्न बसेका साना व्यापारीहरु ।
एसके थकाली, जोमसोम
हिमालीपारीको जिल्ला मुस्ताङमा हिउँयामसंगै चिसो ह्वात्तै बढेको छ । चिसो मौसम र शित लहरले स्थानीयको दैनिक दिनचर्यामा समेत प्रतिकुल असर पर्न पुर्याउने गरेको छ । मुस्ताङको उपल्लो भेकमा दिउसो माईनस जिरो र साँझ माईनस १५ डिग्री र तल्लो भेकमा दिउँसो २ डिग्री र साँझ माईनस ११ डिग्री तापक्रम पुग्छ ।
सधैंजसो गुल्जार हुने सदरमुकाम जोमसोम हिउँदसंगै पर्यटकको चाप पातलिदै गएको हो । खेतीपाती सकेर फुर्सदमा बसेका किसान यतिखेर स्याउ कटिङमा व्यस्त छन् । पर्यटकको चाप न्युन हुँदै गएपनि जोमसोममा मुस्ताङको कोशेली बेच्ने साना व्यापारीलाई भने चिसोले पटक्कै छोएको छैन । उनीहरु बिहानै चिसो सिरेटोको परवाह नगरी स्याउ बेच्न सडक छेउको फुटपाथमा लामबद्ध रहन्छन् । कहिले आगो ताप्छन् भने कहिले बाक्लो कपडा पहिरिएर पर्यटक पर्खाईमा रहन्छ । यसरी सडक छेउ मुस्ताङ उत्पादित कोशेली बिक्री गर्ने समुह जोमसोममा करिव डेढ दर्जन जती छन् ।
हिउँदयाममा कम पर्यटक आउने भएकाले उस्तो व्यापार पनि हुँदैन तर घर व्यवहार चलाउन चिसो सहेर फुटपाथमा व्यापार गर्न बसेको कुसुम नेपालीले बताईन् । सिजनको समय ५ –६ हजारको व्यापार गर्ने गरेकी उनले अफ सिजनले व्यापार घटेको सुनाईन् । सडक छेउ फलफुल बेच्ने व्यवसायीलाई स्थानीय तहले दैनिक २० रुपैयाका दरले कर उठाउने गरेको छ । उनीहरुले मासिक ६ सय र वर्षमा ७ हजार २ सय रुपैया कर स्थानीय सरकारलाई बुझाउने गरेको फुटपाथ समुहकी अध्यक्ष होमकुमारी छन्त्यालले जानकारी दिईन् ।
स्थानीय तहलाई दैनिक कर तिर्ने गरेका उनीहरुलाई सो अनुसार सुविधा दिन नसकेको अध्यक्ष छन्त्यालको भनाई थियो ।‘ हामी फुटपाथे बिक्रेतालाई स्थानीय सरकारले सेवासुविधा दिनुपर्याे । दैनिक २० रुपैया मात्र होईन ५० रुपैया कर बुझाउन तयार छौं ’छन्त्यालले भनीन् ,‘ हामीलाई पालिकाले व्यवस्थित गरिदेओस । हामी त्यही बसेर व्यापार गछौं ।’ अर्की फुटपाथ पसल गरेकी कल्पना नेपालीले चिसो ,हावाहुरी र धुलो पचाएर सडकमा पसल गर्नुपर्ने रहर नभई कहर भएको सुनाईन् । उनले पालिकाले साना व्यापारीलाई एक ठाउमा कटेज बनाईदिए उपयुक्त हुने भनाई राखिन् । उनले स्थानीय सरकारले साना व्यापारीलाई उपेक्षा गरेको दुखेसो सुनाईन् ।
स्थानीय सरकारले फलफुल बिक्री केन्द्रको पूर्वाधार निर्माण गर्ने जनाएपनि त्यो अझै बन्न सकेको छैन । सडक छेउ फलफुल बेच्न बस्ने स्थानीय भन्दा बाहिर जिल्लाका बेशी छन् । उनीहरुले मुस्ताङमा उत्पादित स्याउ, स्याउको सकुटी, आरु, खुर्पानी, ब्रान्डी लगायतका सामाग्री राखेका हुन्छन् । यस्तै, फटपाथे बिक्रेता जिना श्रेष्ठले अरु व्यवयासी भन्दा फुटपाथे व्यवसायीले तुलनात्मक रुपमा चर्को कर तिर्ने गरेको तर सो अनुसारको सुविधा नपाएको गुनासो गरिन् । उनले स्तरिय होटलको भन्दा फुटपाथको कर महङ्गो भएको बताईन् । जोमसोममा लाखौं रुपैंया लगानी गरेको होटल तथा पसलेलाई वार्षिक १५ सय कर भएको र फुटपाथेले चौगुणा बढी कर तिर्ने गरेको उनको भनाई थियो ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया