बालबालिकालाई मोबाइल कोकिन सरह

अमृत सुवेदी
पोखरा २८
बच्चा अगाडि प्लेटमा खाना । आँखा र ध्यान मोबाइलमा । मोबाइलमा देखाइन्छ, कुनै कार्टुन वा युट्युबमा बजिरहेको हुन्छ कुनै गीत । आजकाल बच्चालाई यसरी खाना खुवाइन्छ । अहिलेका बालबालिका मोबाइल नहेरी खानै खाँदैनन् । बालबालिकाको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको यस्तै चिन्ता छ । उनीहरु भन्छन्, ‘हाम्रा बाबुनानी मोबाइल वा टिभीबिना रहनै नसक्ने भए । बालबालिकालाई अभिभावकले एडिक्ट बनाइरहका छन् ।’
खासमा बालबालिकाको हातमा हुनुपर्ने के हो ? मोबाइल कि पुस्तक ? नेपाल लिचरेचर फेस्टिभलको दोस्रो दिनको एउटा सत्रमा यही विषयमा छलफल भएको छ । सत्रको नाम थियो, ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?’ छलफलमा थिए, मनोपरामर्शदाता करुणा कुँवर, विद्यालयमा सामाजिक शिक्षालाई नेपालीमा बनाउन अभियान चलाइरहेका इन्जिनियर डाक्टर वसन्त गौतम र साहित्यकार तथा लेखक बिना थिङ तामाङ । उनीहरुसँग सहजीकरणमा थिए, भवसागर घिमिरे ।
मोबाइल हेरेर मात्र खाना खाने गरी अभिभावककै कारण बालबालिकालाई एडिक्ट बनाएको बिना थिङले बताइन् । मोबाइल बालबालिकाको होइन यो अभिभावकको समस्या भएको मनोपरामर्शविद करुणाको भनाइ छ ।
‘अभिभावकले आफ्ना लागि कसरी सहज हुन्छ भनेर सोचिरहेका हुन्छन् । बालबालिकाका विषयमा सोच्दैनन् । यदी अभिभावक सचेत भएको भए आज यो विषयमा छलफल नै गर्नु पर्दैनथ्यो,’ लागु पदार्थ कोकिन र मोबाइल प्रयोगलाई जोड्दै कुँवरले भनिन्, ‘अभिभावकले बालबालिकालाई कोकिन दिइरहनुभएको छ, आफैं पनि कोकिन प्रयोगकर्ता भइरहनुभएको छ ।’
स्क्रिन टचवाला ग्याजेटको प्रयोगले विषयको कारण वा प्रश्न गर्ने ब्रेनलाई कोकिन प्रयोग गरेजत्तिकै असर गरिरहेको एकअध्ययनले देखाएको कुँवरले बताइन् । बढी इन्टरनेट एडिक्सनमा लाग्ने रोगको नामाकरणसमेत भइरहेको र त्यसलाई सेल्फी टी भनिने उनको भनाइ थियो । सेल्फी लिएर अपलोड गर्न असाध्यै उत्सुक रहने र कहिलेकाँही बिरामी भएर भर्ना नै गर्नुपर्ने अवस्थासमेत यो रोगबाट आउने कुँवरले बताइन् । इन्टरनेट अडिक्सन भनेर रोककै रुपमा प्रमाणित भइसकेको पनि कुँवरको भनाइ थियो ।
डा. वसन्तले बालबालिकाको कल्पनाशीलता टिभीले नै मार्छ भन्ने विकसित देशमा धेरै पहिले आइसकेको र अहिलेमात्र नेपालमा ग्याजेटको विषय आइपुगेको बताए । ‘जापानजस्तो विकसित देशमा पनि बालबालिका हुर्काउने ग्याजेट होइन किताब चाहिन्छ भन्ने छ,’ उनले भने, ‘घरबाहिर उनीहरुले खेल्ने ठाउँ नै छैन । परिवारले पनि पढाइमा आकर्षित गर्न खाजेकै छैनौं । विद्यालयमा त रटान भइहाल्यो ।’
बिना थिङले अहिले यो घरघरको समस्या भएको बताइन् । अभिभावकले बालबालिकालाई मन्द विष खुवाइरहेको उनको भनाइ थियो । सूचनासँग नजिक हुनैपर्छ तर कुन समयपछि ? भन्ने कुराको सूची बनाउनुपर्ने उनको भनाइ थियो । ‘अभिभावकलेमात्र गरेर हुँदैन । हाम्रा केटाकेटी भ्रममा बाँचिरहेका छन् । बच्चाहरुको सहभागितामा रुटिङ बनाऔं । माथिबाट नलादौं । शिक्षकहरुले चाहने हो भने पठन संस्कृतिको विकास गराउन सक्छन्,’ उनले भनिन्, ‘घरबाहिरका कार्यक्रममा उनीहरुलाई आकर्षित गराउनुपर्यो ।’
मनोमरामर्शविाद करुणाले आफ्नो घरको अनुभव पनि सुनाइन् । ‘१३ वर्षकी छोरी र ८ वर्षको छोरो छ । उनीहरुलाई ग्याजेटबाट टाढा राख्न प्रोजेक्ट वर्क नै आयो भने केही समय दिएर काम गराउँछु । एउटा कोठमामात्र चल्ने गरी इन्टरनेटको व्यवस्था मिलाएकी छु । त्यसले मनिटरिङ गर्न सजिलो भयो । टच स्क्रिन सामान प्रयोग गर्न अहिलेसम्म दिएको छैन,’ उनले भनिन्, ‘जब सुरुदेखि नै बानी पार्दै लगेपछि समस्या गर्दैन । समस्या त मोबाइलको बानी परेसकेपछि पर्ने हो ।’
अहिलेको अवस्थामा एकातिर हजुरबा आमा एक्लो, अर्कोतिर बालबालिका एक्लो भइरहेको उनीहरुको निचोड थियो । अहिलेका अभिभावकसँग बालबालिकाकालाई सुनाउने कथा नै नरहेको बिनाको भनाइ थियो ।
‘अभिभावकहरुसँग बाबुनानीलाई भन्ने कथा नै छैन । हजुरबा आमासँग टाढा छन् केही कथा सुनाउने ट्रेन्डलाई जनयुद्धले पनि असर गर्यो,’ उनले भनिन्, ‘अहिले जमाना बदलियो, एकपछि अर्को युट्युबमा हेरिरहेका छन् । बालबालिका डल हुँदै गइरहेका छन् ।’
डा. वसन्तले बिल गेट्स्जस्तो धनाढ्य व्यक्तिले पनि १४ वर्ष पुगेपछिमात्रै मोबाइल दिएको किताबमै लेखेको स्मरण गर्दै समयअनुसार प्लान बनाउनुपर्ने बताए ‘मोबाइल बिनाको जीवन त अब हुँदै हुँदैन । यत्ति हो त्यसको प्रयोग कसरी गर्ने बालबालिकाकालाई सिकाउने हो । पठन संस्कृतितर्फ बालबालिकालाई आकर्षित गराउने तरिका खोज्नुपर्यो,’ डा. वसन्तले भने ।
अत्याधिक मोबाइल प्रयोगका कारण छटपटाउने, नखाने, नसुत्ने र बिरामी पर्दै जाने समस्या बालबालिकामा देखिने कुँवरले बताइन् । ११ वर्षमाथि सबैभन्दा बढी टिनऐजमै धेरै साइबर क्राइमका घटना भइरहेको उनको भनाइ थियो ।
‘हाम्रा बालबालिकाले के गर्दै छन्, कोसँग कुरा गर्दै छन् भनेर अभिभावकले ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘अभिभावकले बालबालिकालाई ग्याजेट दिँदा गर्वको महसुस गर्न छोड्नुपर्छ । पहिले आफ्नो मनिटरिङ गर्नुस् । तपाई आफैं सामाजिक सञ्चालनमा कति भुलिरहनुभएको छ । मूल्यांकन गर्नुस् ।’









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया