हिसान स्पोर्टस् मिट बुधबारदेखि

समाधान संवाददाता, पाेखरा
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गर्ने ‘१३ औं हिसान कास्की स्पोर्टस् मिट २०७६’ पुस ९ देखि १२ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।
विद्यार्थी विद्यार्थीबीच र विद्यालयबीच आपसी समझदारी एवं भाइचाराको भावना विकसित गर्ने तथा विद्यार्थीको सर्वांगीर्ण विकासको लागि आयोजित स्पोर्टस मिटको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले उद्घाटन गर्ने भएका छन् । सदस्य सचिव सिलवाल हिसानका केन्द्रिय अध्यक्षसमेत हुन् ।
२०६४ साल देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ को सम्पूर्ण तयारी पूरा भएको हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले जानकारी दिएका छन् । उनले भने, ‘हिसानले वार्षिक क्यालेन्डर नै बनाएर हरेक वर्ष स्पोर्टस मिट गर्दै आएका छौं, जुन १३ वर्षदेखि कास्कीमा निरन्तर जारि छ, यसले शिक्षाको बिकास संगै खेलाडी उत्पादनमा समेत टेवा पुगेको छ भन्ने विश्वास लिएका छौं ।’
प्रतियोगिता अन्तर्गत मावि तह (कक्षा ११–१२) सम्म छात्र–छात्रा भलिबल, छात्र–छात्रा टेबल टेनिस तथा छात्र–छात्रा बास्केटबल प्रतियोगिता हुने हिसानका सल्लाहकार एवं प्रतियोगिता संयोजक बाबुराम पन्तले जानकारी दिएका छन् । संयोजक पन्तका अनुसार विश्वविद्यालय तहतर्फ भने छात्र–छात्रा बास्केटबल प्रतियोगिता हुनेछ ।
स्पोर्टस् मिट अन्तर्गत मावि तह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल मावि तह छात्रतर्फ ३३ टिम, छात्रातर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता हुनेछ । छात्र टेनिस मावि सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता हुनेछ ।
हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने भएका हुन् । यो सहभागिता गत वर्षभन्दा उत्साहजनक रहेको अध्यक्ष शर्माले बताएका छन् । उनका अनुसार बास्केटबल खेल भने पोखरा रंगशाला बास्केटबल कोर्ट र अम्त्रर सिंह माबीको बास्केटबल कोर्टमा हुनेछन् ।
पुस ९ गते हुने उद्घाटन समारोहमा हिसानले आयोजना गरेका शैक्षिक क्रियाकलाप अन्तरगत सम्पन्न नेपाली अंग्रेजी निबन्ध प्रतियोगिता र वक्तित्वकलामा प्रथम, द्वितीय, तृतीय र सान्तत्वना हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न हिसान कास्कीका सल्लाहकार बाबुराम पन्तको संयोजकत्वमा विभिन्न १४ वटा समिति गठन गरिएको छ । हिसानका सल्लाहकार समेत रहेका प्रचार समितिका संयोजक रमाकान्त बरालका अनुसार भलिबलतर्फको संयोजकमा पुरन कुँवर, बास्केटबलको संयोजकमा र टेबल टेनिसतर्फको संयोजकमा दुर्गादत्त पंगेनी छन् ।
खाना तथा खाजा संयोजकमा ढाकाराम कँडेल स्टेज, साउन्ड व्यवस्थापन संयोजकमा सुन्दरप्रसाद ढकाल, स्वास्थ्य तथा सुरक्षा संयोजकमा शेरबहादुर गुरुङ, मेडल, पुरस्कार तथा सर्टिफिकेट संयोजकमा नारायण शर्मा चापागाई, न्यायिक संयोजकमा सूर्यबहादुर जिसी, कार्यालय व्यवस्थापन समितिमा संयोजक दिवाकर जैसी र आर्थिक व्यवस्थापन समितिमा संयोजक डा. त्रिभुवन शर्मालाई चयन गरिएको छ । अतिथि सत्कार तथा स्वागत संयोजकमा यामबहादुर रोका, विशेष व्यक्तित्व व्यवस्थापन संयोजकमा रामजी शर्मा चयन भएका छन् । हिसान कास्कीका अध्यक्ष शर्माका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने भएको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया