सडक महोत्सव भोलिबाट

पुष्पराज चापागाईं
पोखरा
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा हुने सडक महोत्सव तयारी पूरा भएको छ । शनिबारदेखि पोखरामा सुरु हुन लागेको २१ औं पोखरा सडक महोत्सवको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
रेबान पोखराले बिहीबार महोत्सवस्थल कोमागाने पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ । शनिबार दिउँसो संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोमागाने पार्कमा महोत्सवको उद्घाटन गर्ने छन् । त्यसअघि खहरेचोकबाट सांस्कृतिक झाँकीसहितको र्याली निकाल्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ३ किलोमिटर क्षेत्र पैदलयात्रा गर्दै कोमागाने पार्कमा कार्यक्रम उद्घाटन समारोहमा परिणत हुने छ ।
पत्रकार सम्मेलनमा महोत्सवका सहसंयोजक योगेश भट्टराईले २१ औं सडक महोत्सवमा भारतीय तथा पाकिस्तानका सांस्कृतिक समूह, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्त प्रदर्शनी हुने जानकारी दिए । महोत्सवमा बालउद्यान, राष्ट्रिय कलाकारको लाइभ कन्सर्ट प्रस्तुति, कर्म ब्यान्ड, अभया एन्ड स्टिम इन्जस, माउन्ट ८८४८ को प्रस्तुत रहने पनि उनले बताए ।
त्यस्तै, ख्यातीप्राप्त राष्ट्रिय कलाकारबाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कृष्ण गुरुङ, वद्री पंगेनी, प्रीति आले, राजन गुरुङ, टीका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपति शर्मा, सम्झना भण्डारी, कुमार पुन, पार्वती जिसी, हास्य कलाकार पोख्ररेली माग्ने बुढा, दीवाकर भण्डारीको समूह, मनोज गजुरेल र पुर्खे बा लगायत कलाकारको प्रस्तुत रहने सांस्कृतिक सह–संयोजक वसन्त गौतमले जनाए ।
महोत्सवलाई प्रत्यक्ष रुपमा झण्डै ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान रहे पनि यसको ठ्याक्कै आँकडा भने नरहेको प्रचार–प्रसार समितिका संयोजक विश्वराज पौडेलले बताए । रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले महोत्सव आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यसको प्रचार प्रसारमा सहयोग गर्न मिडियालाई आग्रह गरे । रेबान पोखराका पूर्वाध्यक्ष चौबहादुर गुरुङ, सचिव विकास भट्टराईले पनि सडक महोत्सवका बारेमा जानकारी दिएका थिए । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले हरेक वर्ष ‘सडकमै खाउँ, सडकमै नाचौं सडकमै रमाऔं’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया