बन्दीपुर प्रबद्र्धन गर्न म्याराथन

कृष्ण न्यौपाने
दमौली
तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेस्रो मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । बन्दीपुर गाउँपालिकाले माघे संक्रान्ति पर्वको अवसर पारेर माघ १ गते मिनी म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र बन्दीपुरका सम्पदालाई विश्वमाझ चिनाउन म्याराथन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । थापाले भने, ‘म्याराथन दौडले व्यक्तिको शारीरिक विकासको साथसाथै बन्दीपुरको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरेका छौं ।’
गाउँपालिका वडा नं १ डुम्रेबजारदेखि वडा नं ४ टुँडिखेलसम्मको ८ किमीको म्याराथन दौडमा आन्तरिक र खुला धावक सहभागी हुन सक्ने छन् । आन्तरिकतर्फ गाउँपालिकाभित्र बसोबास गर्ने धावकलाई सहभागी गराइने र खुलामा देशभरका धावक सहभागी हुन सक्ने छन् ।
खुलातर्फको दौडमा प्रथम र द्वितीय हुनेलाई क्रमश ३० हजार र १५ हजार साथै आन्तरिकतर्फको दौडमा प्रथम र द्वितीय हुनेलाई क्रमश १५ हजार र ७ हजार नगद प्रदान गरिने गाउँपालिकाका अध्यक्ष थापाले बताए । आन्तरिक र खुला गरी करिब २ सय धावक सहभागी हुने अनुमान गरिएको छ । गत वर्ष आयोजित प्रतियोगितामा ९० धावकले सहभागिता जनाएका थिए ।
‘खेलकुदको माध्यमबाट पनि बन्दीपुरमा पर्यटक भित्र्याउन प्रत्येक वर्ष माघे संक्रान्तिमा दौड प्रतियोगितालाई निरन्तरता दिन्छौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले भने । प्रतियोगिता गर्नका लागि करिब ४ लाख खर्च हुने अनुमान छ ।
एकल पुरुषलाई सिरक
गाउँपालिकाले सोही अवसरमा एकल पुरुषलाई सिरक वितरण गर्ने भएको छ । गत वर्ष एकल महिलालाई सिरक वितरण गरेको गाउँपालिकाले यो पटक एकल पुरुषलाई न्यानो कपडा वितरण गर्न लागेको हो ।
एकल पुरुषको अवस्था पनि दयनीय रहेकाले ७० वर्ष कटेका उकल पुरुषलाई सिरक वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । गाउँपालिकाभित्र ६ वडामा बसोबास गर्ने ६ सय एकल पुरुषलाई न्यानो कपडा वितरण गर्न लागिएको हो । गाउँपालिकाले गत वर्ष २ सय ४० जना एकल महिलालाई कम्बल वितरण गरेको थियो । बन्दीपुरलाई पर्यटनको माध्यमबाट परिचित गराउन गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । गाउँपालिकाले गत वर्ष बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित सिद्धगुफाभित्र टेबलटेनिस प्रतियोगिता र कवितावाचन प्रतियोगिता गरिसकेको छ ।









मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया