प्याब्सनले मनायो स्थापना दिवस

समाधान संवाददाता
पोखरा
प्याब्सन कास्कीले ३० औं प्याब्सन स्थापना दिवस पोखरामा विविध कार्यक्रम र सम्मान गरी बिहीबार मनाएको छ । त्यस अवसरमा प्याब्सन कास्कीमा आवद्ध स्थापनाको २५ वर्ष पूरा गर्ने विद्यालय गोल्डेन नेचर बोर्डिङ स्कुल, मदरल्यान्ड माध्यमिक विद्यालय, पोखरा पब्लिक स्कुल र भ्यु प्वाइन्ट बोर्डिङ स्कुललाई सम्मान गरिएको छ ।
गतवर्षको एसइईमा ४ जिपिए ल्याएका मर्निङ स्टार माविका रुपेश परियार, ३.९५ जिपिए ल्याएका बाल प्रभात बोर्डिङ स्कुलकी कञ्चन लामा, रेन्बो एकेडेमिक होम्सकी सोनिया गुरुङ, भाष्कर मेमोरियलकी दीक्षा बास्तोला, धवलागिरि बोर्डिङ स्कुलकी सिर्जना अधिकारी र बाल विद्या मन्दिर सेकेन्डरी बोर्डिङकी रुविना श्रेष्ठलाई सम्मान गरिएको छ ।
२० वर्षभन्दा बढी समयदेखि विभिन्न विद्यालयमा कार्यरत २७ जना शिक्षक तथा कर्मचारीलाई उक्त अवसरमा सम्मान गरिएको छ । सम्मानित हुनेमा गोल्डेन नेचरकी शिक्षिका सावित्री न्यौपाने, सरिता रानाभाट, न्यु लाइट अंग्रेजी आवासीय माविकी शिक्षिका कृष्णकुमारी लामिछाने, ज्योतिकुञ्ज सेकेन्डरीका शिक्षक विश्वराज अधिकारी, भीमप्रसाद उपाध्याय र शिक्षिका मीरा श्रेष्ठ छन् ।
शान्ति निकुञ्ज बोर्डिङकी शिक्षिका सरस्वती थापा, कर्मचारी पार्वती भुजेल, रिभरडेल स्कुलका शिक्षक कृष्णबहादुर जिसी, न्याश्नल इन्भेन्टिभ आवासीयका लेखापाल लक्ष्मण शाक्य, शिक्षिका भवानी रञ्जित, शिक्षिका प्रेमकुमारी गुरुङ, निलगिरि इङ्लिस बोर्डिङका शिक्षक अमृत सुवर्णकार, नेपाल आदर्श आवासीय माविका शिक्षक विष्णुप्रसाद बगाले, सहदेव राई, लेखापाल तीर्थ गुरुङ, कर्मचारी मैना सुनारलाई सम्मान गरिएको छ ।
भानुभक्त आवासीय माविका शिक्षक सुनबहादुर लामा, लेखापाल शान्ति गुरुङ, पास्कल एकेडेमीकी शिक्षिका राधाकुमारी कार्की, मदरल्यान्ड माविकी शिक्षिका देवकुमारी गुरुङ, हिल प्वाइन्टकी शिक्षिका गायत्री जोशी, राधिका श्रेष्ठ, कर्मचारी सुलबहादुर गुरुङ, एक्स आर्मी पब्लिक स्कुलकी शिक्षिका कलिमाया पौडेल, ग्लोबल कलेजियट स्कुलका शिक्षक द्रोणराज उपाध्याय, प्यारामाउन्ट पब्लिक स्कुलकी शिक्षिका सीता तिमिल्सिनालाई सम्मान गरिएको छ ।
कार्यक्रम उद्घाटनपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समुदायलाई विद्यालय हस्तान्तरण गर्दा सामुदायिक विद्यालयको अवस्था दिन प्रतिदिन खस्कँदै गएको बताए । उनले भने, ‘वन सामुदायलाई हस्तान्तरण गर्दा भएको उपलब्धि देखेर सरकारी विद्यालय व्यवस्थित र प्रभावकारी बनाउन समुदायलाई हस्तान्तरण गरिए पनि अवस्था झनै खस्केको छ ।’
मन्त्री गुरुङले २ खाले शिक्षा नीति भनेर सोच्ने र हेर्ने दृष्टिकोण नै खराब भएको टिप्पणी गर्दै भने, ‘यहाँ २ खाले शिक्षा होइन । निजीले पनि शिक्षा दिन सक्छ भन्नेनै हो ।’ उनले वैज्ञानिक, व्यावहारिक, प्रविधियुक्त शिक्षा आवश्यकता भएको औंल्याउँदै परीक्षा प्रणालीका बारेमा समेत सोच्न आवश्यक रहेको बताए ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले असल नागरिक उत्पादन गर्ने शिक्षा आवश्यक रहेकोमा जोड दिए । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङले सामुदायिक विद्यालयले धेरै कुरा निजी विद्यालयबाट सिक्न आवश्यक रहेको बताए । अभिभावकको चित्त बुझाउन सकेका कारण निजी विद्यालयप्रतिको आकर्षण बढेको उनको भनाइ थियो ।
प्याब्सनका वरिष्ठ सल्लाहकार माधवशरण उपाध्यायले गुणस्तरीय शिक्षा नै निजी विद्यालयको १ मात्र उद्देश्य भएको बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले सामुदायिक विद्यालयलाई राम्रो नबनाउने तर निजीलाई गालि गर्ने प्रवृत्ति मौलाएको उल्लेख गरे । कार्यक्रममा नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष रमेश भट्टराई, कार्यक्रम संयोजक एवं प्याब्सनका वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेल, सहसचिव पुष्पराज पराजुली लगायतले बोलेका थिए । कार्यक्रम प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया