मुस्ताङमा वर्षा !

एसके थकाली
जोमसोम
प्राय हिउँ पर्ने मुस्ताङमा बिहीबार वर्षा भएको छ । बिहीबार हिउँ नपरी वर्षा भएको देखेपछि स्थानीय अचम्मित भएका छन् । मुस्ताङमा बिहानैदेखि निरन्तर आंशिक वर्षा भएकाले जाडोसमेत अत्याधिक बढेको छ ।
बर्सेनि पुस र माघ महिनामा सधैजसो हिमपात भइरहने मुस्ताङमा यसपटक हिउँ पर्न छोडेको छ । यस वर्ष २ पटक हिमपात भएको थियो ।
जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिसँगै मौसमसमेत असमान हुँदै आएको जोमसोमका स्थानीय बताउँछन् । यसअघि हिउँदमा कहिल्यै वर्षा नभएको नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले बताए । उनको हिउँ पर्ने समयमा वर्षा हुनु हिमाली क्षेत्रका लागि शुभसंकेत नभएको बुझाइ छ । विगत १० वर्षअघि यही समय भारी हिमपात भएको स्मरण गर्दै थकालीले पछिल्ला वर्षमा असमान हिमपात हुने गरेको उल्लेख गरे ।
जोमसोम खानेपानी उपभोक्ता समिति अध्यक्ष भीषण थकालीले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रलाई परेको बताए । उनले जोमसोम बजारलाई खानेपानीको पहसँच पुर्याउन एउटै मुहानले पुग्ने गरेकोमा पछिल्लो समय खानेपानीको स्रोत घटेकाले थप मुहानको खोजी गर्नुपरेको सुनाए । उनले हिमपात भए कृषि र पर्यटन क्षेत्रमा योगदान पुग्ने भए पनि हिउँ पर्ने मौसममा पानी परेकाले पुराना घरमा जोखिम बढेको बताए ।
गत वर्ष उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती गाउँमा असमान हिमपात हुँदा सयौं याक, चौरी र भेडाच्याङ्ग्रा मरेका थिए । यो वर्ष उपल्लो मुस्ताङको तुलनामा तल्लो मुस्ताङमा बढी हिमपात भएको हो । बढी उचाइमा कम र कम उचाइमा बढी हिमपात हुनु जलवायु परिवर्तनको असर भएको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहाल बताउँछन् । पछिल्लो समय सेता हिमाल फुस्रा देखिन थालेको उल्लेख गर्दै एक्याप प्रमुख दाहालले हिउँ पर्ने समयमा पनि हिमालको आर्कषण अझै बढ्न नसकेको बताए ।
जलवायु परिवर्तनकै कारण मुस्ताङमा वर्षा हुन थालेपछि स्थानीयमा आरसीसी घर बनाउने होडबाजी चलेको छ । सख्खर माटोले छाएका घरमा पानी पर्दा चुहिने भएकाले पुराना संरचना मासिन थालेको जनहित माविका शिक्षक प्रमिता थकालीले बताइन् । उनका अनुसार हिउँदयाममा अत्याधिक चिसो थेग्न सक्ने माटोका घर मुस्ताङको सांस्कृतिक पहिचान भए पनि सम्पदा मासिने क्रम बढेकोमा चिन्ता व्यक्त गरिन् ।
जलवायु परिवर्तनकै कारण जमीनको तापक्रम उच्च हुन थालेपछि मुस्ताङमा विभिन्न रोगको संक्रमण देखा पर्न थालेको छ । उपल्लो मुस्ताङको लोमन्थाङमा लामखुट्टे देखिएको थियो भने मुस्ताङका स्याउ, उवा, फापर, जौ लगायत रैथाने बालीले बसाइँ सार्न थालेको मार्फा बागवानी विकास फार्मका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले बताए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया