तनहुँको दमौलीमा बन्न लागेको १०८ फिटको मूर्तिको डिपिआर तयार

समाधान संवाददाता
दमौली
तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १ सय ८ फिट व्यासमूर्तिको डिपिआर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको छ ।
मूर्ति निर्माणका लागि सरकारका तर्फबाट बजेट विनियोजन गर्न माग गर्दै व्यासक्षेत्र शिवपञ्चायन विकास कोषले काठमाडौंमा पुगेर विस्तृत परियोजना प्रतिवेदन मन्त्री भट्टराईलाई हस्तान्तरण गरेको हो । राष्ट्रियसभा सदस्य प्रकाश पन्त, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहितको उपस्थितिमा कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले डिपिआर मन्त्री भट्टराईलाई प्रदान गरेका थिए ।
व्यासमूर्तिसहित संरचना निर्माणका लागि धेरै बजेट लाग्ने भएकाले सरकारका तर्फबाट पनि सहयोग गर्न मन्त्री भट्टराईसँग अनुरोध गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए । मन्त्री भट्टराईले आगामी वर्षको बजेट भाषणमार्फत् मूर्तिसहितको संरचना निर्माणका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए ।
कोषले मूर्ति निर्माणका लागि बजेट जुटाउन माघ २० देखि २८ गतेसम्म महायज्ञसमेत गर्दै छ । गुरुयोजना अनुसार सबै संरचना निर्माणका लागि ६४ करोड खर्च हुने भए पनि कोषमा ५० लाख मात्रै रहेकाले मूर्ति निर्माणको काम सुरु गर्न रकम संकलन गर्ने उद्देश्यसहित महायज्ञ गर्न लागिएको कोषका अध्यक्ष श्रेष्ठले बताए । ‘कोषमा भएको ५० लाखले केही पनि गर्न नसक्ने अवस्था आएपछि महायज्ञबाट केही रकम संकलन गरी कामको सुरुआत गर्न लागेका छौं,’ उनले भने, ‘जग खन्नका लागि पनि ठूलै रकम आवश्यक पर्ने देखिएको छ ।’
महायज्ञबाट करीब ५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । व्यासमूर्तिसहितको संरचना निर्माणका लागि कोषको एकल प्रयासले मात्रै सम्भव नरहेकाले सबैको सहयोग आवश्यक भएको श्रेष्ठले बताए । उनका अनुसार मूर्ति निर्माणका लागि प्रदेश र संघीय सरकारलाई पनि आर्थिक सहयोगको अनुरोध गरिनेछ ।
जनस्तरबाट थालिएको मूर्ति निर्माणको अभियान अन्तर्गत हालसम्म डिपिआर बनाउने काम मात्रै भएको छ । ‘कोषमा व्यास नगरपालिकाले उपलब्ध गराएको ५० लाख मात्रै छ, त्यसले त जग खन्न पनि पुग्दैन,’ उनले भने, ‘बजेट कसरी जुटाउने भन्ने चुनौतीका बीचमा महायज्ञ गर्न लागेका हौं ।’
व्यासको जन्मभूमि दमौलीको सामरिक महत्वलाई बुझेर संघीय सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने श्रेष्ठको भनाइ छ । ‘राष्ट्रले यस क्षेत्रको महत्व बुझ्न सकेको छैन, सबै तहको सरकार र निजी क्षेत्रले बजेट सहयोग गर्ने हो भने मूर्ति निर्माणको काम त्यति कठिनाइ छैन,’ उनले भने ।
व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम संकलन गर्न आयोजना गरिएको महायज्ञबाट ७० लाख रुपैयाँ संकलन भएको थियो । उक्त रकममध्ये १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
व्यासको मूर्तिसहितको संरचना निर्माण भएपछि दैनिक ५÷६ सय पर्यटक यस क्षेत्रमा आउने अनुमान गरिएको कोषका उपाध्यक्ष एकबहादुर रानाले जानकारी दिए । यहाँ आउने पर्यटकबाट वार्षिक ४ करोड आम्दानी हुने अनुमान गरिएको छ । ‘व्यासमूर्तिले यस क्षेत्रको विकासका लागि ठूलो योगदान दिनेछ,’ उनले भने ।
व्यासमूर्तिसहित सबै संरचना निर्माणका लागि ६२ करोड ८५ लाख ५ हजार २ सय ११ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थक्वेक सेफ्टी सोलुसन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २ सय १७ लाग्ने अनुमान छ । निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै ७ करोड खर्च हुने अनुमान छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया