१० वर्षसम्म घुम्टोभित्र सहिद !

कृष्ण न्यौपाने
दमौली
तनहुँको व्यास नगरपालिका ८ पुलिमराङस्थित सहिद स्मारक पार्कमा ढाकिएर राखिएको शालिक १० वर्षपछि अनावरण हुने भएको छ । २०६६ सालमा निर्माण गरेर राखिएको शालिक आगामी माघ १६ गते सहिद दिवसका दिन अनावरण गर्न लागिएको हो ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले तनहुँको तत्कालीन सदरमुकाम बन्दिपुर कब्जा गर्ने क्रममा, २०१८ सालमा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले तनहुँको कोत्रेमा सहादत प्राप्त गरेपछि उनीहरुको स्मरणमा विसं २०६३ सालमा सहिद स्मारक निर्माण गरी २०६६ सालमा शालिक राखिएको थियो ।
सहिदका अर्धकदका शालिक १० वर्षदेखि ढाकिएको अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शालिक राखिएको स्मारक स्थलको भवन जीर्ण भएको कारण शालिक अनावरण हुन सकेको थिएन । व्यास नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि सहिद पार्कको भवन रेट्रोफिट गरी बलियो बनाइएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । ‘सहिद पार्कको संरचना कमजोर भएकाले सहिदको शालिक अनावरण गर्न सकेका थिएनौं,’ नगर प्रमुख न्यौपानेले भने, ‘हाल सहिद पार्कलाई व्यवस्थित बनाएका छौं, सहिद दिवसको दिन शालिक अनावरण गर्ने कार्यक्रम तय भइसकेको छ ।’ पार्क व्यवस्थित गर्नका लागि नगरपालिकाले गत आर्थिक वर्ष २२ लाख विनियोजन भएको थियो । उक्त बजेटबाट पार्कमा कम्पाउन्ड, शौचालय निर्माण लगायतका काम भएको छ ।
‘सहिदको शालिक ढाकिएको अवस्थामा राखिरहनु सुहाउँदो विषय थिएन, त्यसैले बजेट विनियोजन गरेर पार्कलाई व्यवस्थापन गरेका हौं,’ उनले भने । पार्कका लागि चालु आर्थिक वर्षमा पनि २५ लाख विनियोजन गरिएको छ । उक्त बजेटमध्ये ७ लाखले पार्कको थप विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजना अनुसार पार्कलाई विकास गर्न ७ करोड बजेट प्रस्ताव गरिएको छ । बाँकी १८ लाख बजेटले पार्कमा थप निर्माणका काम गरिने न्यौपानेले बताए ।
२०५१ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पुलिमराङ
भ्रमणको क्रममा उक्त स्थानमा सहिद स्मारक र पार्क बनाउन कोइरालाकै अग्रसरतामा सहिद स्मारक निर्माण समिति गठन गरिएको स्मारक निर्माण समिति अध्यक्ष एकबहादुर गुरुङले बताए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया