कमागाउँका विद्यार्थीलाई कपडा

समाधान संवाददाता २०७६ माघ १४ गते १२:४२

समाधान संवाददाता
पोखरा

Advertisement

लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ कमागाउँको कमा प्राथामिक विद्यालयका विद्यार्थीले जाडो याममा न्यानो लुगा पाएका छन् । न्यानो लुगा पाएपछि उनीहरु निकै खुसी भए । जाडोको समय दिनभरी टिनको छानोमुनि बसेर पढ्न बाध्य विद्यार्थीले न्यानो लुगा पाएका हुन् ।

विद्यार्थीलाई कान ढाक्न मिल्ने टोपीसमेत दिइएको छ । स्कुले पोशाकसमेत पुरानो भएपछि उनीहरुलाई नयाँ पोशाक दिइएको हो । उनीहरुले कापी, कलम, पेन्सिल लगायत स्टेसनरी पनि पाए । कक्षा १ देखि ५ सम्मका २० विद्यार्थीलाई पोखराको नमस्ते किड्स नेपालले यी सामग्री प्रदान गरेको हो । नमस्ते किड्सका अध्यक्ष सगुन गुरुङसहितको टोलीले ८ घन्टाको सवारी यात्रा र ३ घन्टा पैदल हिडेर कमा गाउँमा पुगेर सामग्री वितरण गरेको हो । विद्यालयको ३० औं वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, नमस्ते किड्सका अध्यक्ष सगुन गुरुङ लगायतले विद्यार्थीलाई न्यानो लुगा, विद्यालय पोषाक तथा स्टेसनरी वितरण गरे ।

विद्यार्थीलाई करिब ७० हजारका सामग्री प्राप्त भएको विद्यालयका प्रधानाध्यापक पशुपति सदायले बताए । ‘गाउँमा कतिपय अभिभावक बालबालिकालाई चाहिने लुगाफाटा लगाएर स्कुल पठाउन सक्ने अवस्थाको हुनुहुन्न,’ उनले भने, ‘अहिले पाएको ट्रयाकसुट, स्वेटर र टोपीले विद्यार्थीलाई पठनपाठनमा सहयोग मिल्छ ।’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोकप्रसाद गुरुङले विकट गाउँको विद्यालयमा सरकारी नजर पुग्न नसकेको गुनासो गरे । ‘हाम्रो समस्याबारे सरकारलाई थाहा हुँदैन । न सरकारी मान्छे नै आउँछन्,’ उनले भने, ‘बालबालिकालाई चाहिने सबै कुरा एकै पटक हामी किन्न सक्दैनौं ।’

लमजुङ सदरमुकाम बेंसीसहरबाट भुजुङ गाउँसम्म जिप र मोटरसाइकल चल्छन् । भुजुङबाट करिब ३ घन्टा हिँडेर कमागाउँ पुगिन्छ । कक्षा ५ पछि विद्यार्थी भुजुङ वा पसगाउँ पढ्न जानुपर्ने बाध्यता छ ।

Advertisement

तपाईको प्रतिक्रिया