लक्ष्य कार्यान्वयन गर्न निर्देशक समिति

समाधान संवाददाता २०७६ फागुन ६ गते १३:४५

समाधान संवाददाता
पोखरा

Advertisement

गण्डकी प्रदेश सरकारले दिगो विकास लक्ष्यलाई कार्यान्वयन गर्न संस्थागत संरचना बनाएको छ । नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. गिरिधारी शर्माले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा दिगो विकास लक्ष्य निर्देशक समिति बनाएको जानकारी दिए । प्रदेश सरकारले उपाध्यक्ष शर्माको संयोजकत्वमा समन्वय, अनुगमन तथा मूल्यांकन समितिसमेत गठन गरेको छ ।

इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल पत्रकार महासंघ कास्कीले सोमबार आयोजना गरेको दिगो विकास लक्ष्य र सञ्चारकर्मीको भूमिका विषय कार्यक्रममा उपाध्यक्ष शर्माले प्रदेश सरकारले नीति तथा योजना बनाउँदा दिगो विकास लक्ष्यले निर्दिष्ट गरेका व्यवस्थालाई समेटेको बताए । दिगो विकास लक्ष्य कार्यान्वयनको राष्ट्रिय लक्ष्यलाई हासिल गर्न प्रदेश सरकारले ध्यान दिने उल्लेख गर्दै उनले प्रदेशले आर्थिक वर्ष २०७५÷०७६ देखि दिगो विकास लक्ष्यलाई मूल प्रवाहीकरण गर्ने प्रयास गरेको जानकारी दिए ।

Advertisement

‘दिगो विकास लक्ष्य ३ तहको सरकारको साझा एजेन्डा हो,’ उपाध्यक्ष शर्माले भने, ‘प्रदेश सरकारले वार्षिक कार्यक्रम र बजेट बनाउँदा दिगो विकास लक्ष्यको मूल मर्मलाई समेटेको छ ।’ उपाध्यक्ष शर्माले दिगो विकास लक्ष्य अन्तर्गतका गरिबी निवारण र भोकमरीको अन्त्यका लागि यथेष्ट स्रोतको व्यवस्था गर्न पत्रकारले लबिङ गर्नुपर्ने सुझाव दिए ।

नीति तथा योजना आयोग गण्डकी प्रदेशको सहकार्यमा भएको कार्यक्रममा इन्सेकका गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले संयुक्त राष्ट्र संघको अग्रसरतामा सदस्य राष्ट्रले सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ सूचक कार्यान्वयनका लागि सामूहिक रुपमा लागेको बताए ।

Advertisement

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद बराल, इन्सेक कास्कीका प्रतिनिधि सुशन घिमिरे लगायतले दिगो विकास लक्ष्यका सूचक कार्यान्वयन गर्दा जनताको जीवन स्तरमा संरचनागत परिवर्तन आउने दाबी गरे ।

तपाईको प्रतिक्रिया