मिसेलकाे भिसा नविकरण नहुने, नेपाल छाड्नुपर्ने

समाधान संवाददाता २०७६ फागुन ३० गते १३:१७

जन्मदिनको पार्टीमा ‘जेम्स बोन्ड’ थिमको पोसाकमा सजिएकी अमेरिकी नागरिक मिसेल ।

Advertisement

ईश्वर देवकोटा
पोखरा

अमेरिकी नागरिक मिसेल अलेग्जेन्द्रा विल्सले गएको साउन २२ गते आफ्नो जन्मदिन सेलिब्रेसन गर्न लेकसाइडस्थित एक रेस्टुरेन्टमा भव्य पार्टी आयोजना गरिन् । हलिउड फिल्म ‘जेम्स बोन्ड’ थिमको ‘बर्थ–डे’ पार्टीमा निम्तालुलाई ड्रेस कोड (पोसाक) सोहीअनुसारको लगाएर आउन भनियो । लाखौं खर्चेर पार्टी आयोजना गरेकी उनका निम्तालु पोखरासहित काठमाडौंका प्रतिष्ठित व्यक्ति थिए । नेपाल छिरेको ६ वर्षमा उनको हैसियत यति धेरै आकासिएको थियो कि उनलाई नजिकबाट चिन्नेहरु दंग पर्थे । ‘बर्थ–डे’ पार्टी मिसेलको बिलासिताको नमुनामात्र हो । यस्ता कैयौं पार्टी लाखौं खर्च गरेर दिइसकेकी छन्, जुन नेपालमा उनको वैधानिक आम्दानी स्रोतको आँकडाभन्दा धेरै माथि छ ।

बिजनेस भिसामा नेपाल बस्दै आएकी मिसेलले पोखरामा गरिरहेको अवैधानिक गतिविधिबारे पहिल्यै केहीलाई शंका थियो । भिसा बिजनेस भए पनि उनले आफूलाई सामाजिक कार्यमा संलग्न बनाउँदै लगिन् । न्युरोडस्थित सामसुङ गल्लीमा रहेको लर्निङ हाउस प्रालि उनको देखाउने व्यापारिक प्रतिष्ठान थियो । तर, उनको नेपाल बसाइको ४ वर्षपछि एकाएक उनका अरु कर्महरु सार्वजनिक भएका छन् । मिसेलले गैरकानुनी रुपमा चन्दा उठाएको आरोप छ । प्रशासनिक निकायलाई छल्दै पैसा उठाउने कार्यक्रम गरेको पनि उनीमाथि अध्यागमनको निष्कर्ष छ । नेपालमा बसेरै उक्त अवधिमा झन्डै ८ करोड रुपैयाँभन्दा बढी नेपाली रकम संकलन गर्न सफल मिसेललाई अन्ततः अध्यागमन विभागले उनलाई आफ्नै देश अमेरिका फर्कन निर्देशन दिएको छ ।

उनको भिसा म्याद नथपिने र स्वदेश फर्कने तयारीका लागि समय दिने विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । ‘नेपालमा कम्पनी खोलेर समाजसेवाका नाममा चन्दा उठाउन पाइँदैन,’ महानिर्देशक पौडेलले समाधानसँग भने, ‘भिसा अवधि अब केही साता बाँकी होला, त्यसपछि स्वदेश फर्किनुपर्छ ।’ च्यारिटी गर्ने, डोनेसन उठाउन नपाइने बताउँदै महानिर्देशक पौडेलले उनले सञ्चालन गरिरहेको कम्पनी बन्द गरेर फर्कन समय दिएको जानकारी दिए । उनले भने, ‘बढीमा १ महिना उनको भिसा म्याद होला । त्यसपछि उनलाई पोका पुन्तुरा पार भन्ने नै हो ।’ भिसा म्याद थप गर्न अध्यागमन आउँदा मिसेलको भिसा नवीकरण नहुने उनको भनाइ छ । उनलाई देश छाड्न र भिसा नवीकरण नहुने जानकारी बोलाएर दिइने महानिर्देशक पौडेलले सुनाए । भिसा अवधि रहँदै निवदेन दिन सक्ने भएपनि अब उनको भिसा नवीकरण नै नहुने पक्षमा अध्यागमन रहेको उनको भनाइ छ ।

Advertisement

६ महिनादेखि मिसेल अध्यागमनको निगरानीमा थिइन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनीविरुद्धको उजुरीमा अनुसन्धानपछि स्वदेश फिर्ता ‘डिपोट’ गर्न अध्यागमन समक्ष सिफारिस गरिसकेको छ । अध्यागमन नियमावली, २०५१ नियम २८ भिसा रद्द गर्न सकिने अवस्थाको उपनियम १ (झ)मा ‘जुन उद्देश्यका लागि भिसा प्रदान गरिएको हो त्यस अनुरुपको कार्य नगरी अन्य काम कुरा गरेमा वा जुन प्रयोजनाका लागि भिसा लिएको हो, सो समय अगावै त्यस्तो प्रयोजन समाप्त भएमा’ भनिएको छ । मिसेलको भिसा र उनले गर्ने काम मिल्दैन । महानिर्देशक पौडेल भन्छन्, ‘भिसा अनुसार बिजनेस नै गर्नुपर्‍यो । राज्यलाई कर तिर्नुपर्‍यो । च्यारिटी गर्न वा चन्दा उठाउन पाइँदैन ।’

मिसेलले लर्निङ हाउसले सञ्चालन गर्ने व्यावसायिक कार्यक्रमलाई ‘खाता लाइफ’ नामक वेबसाइटमार्फत समाजसेवाको नाममा देखाएर ७ लाख अमेरिकी डलर (८ करोड नेपाली रकम भन्दा बढी) उठाइसकेको उनकै व्यक्तिगत वेबसाइटमा प्रष्ट छ । कम्पनीमार्फत सञ्चालित कार्यक्रमलाई अमेरिकामा दर्ता भएको उक्त खाता लाइफ वेबसाइटबाट प्रचलित कानुन विपरीत प्रयोग गरी आफ्नै मुलुकमा पैसा आर्जन गरेको खुलेको छ । लर्निङ हाउसले गर्ने क्रियाकलापलाई उनले सामाजिक सेवाको नाममा अवैधानिक रुपमा धन आर्जन गरेको उनीविरुद्धको उजुरीमा उल्लेख छ ।

मिसेलले २ वर्षयता दर्जन बढी कार्यक्रमसमेत आयोजना गरिसकेकी छन् । उनले आयोजना गर्ने कार्यक्रम अधिकांश महिला लक्षित हुँदै आएका छन् । लेडिज पुल पार्टी, हाइक एन्ड वाइन, फेसन एन्ड ब्युटी सोहो बार, ड्रिम ओ पुल पार्टी लगायत उनले सञ्चालन गरेका कार्यक्रम हुन् । ती सबै कार्यक्रमबाट टिकट बिक्री गर्ने र रकम उठाउने प्रयोजनका लागि उनले ‘वुमन वन्ली’ फेसबुक गोप्य समूह बनाएकी छन् । त्यहाँ उनले चिनजानका र उनका सहयोगी गरेर ४ सय बढी सदस्य एड गरेकी छन् ।

लर्निङ हाउसमै सञ्चालन गरिएका कार्यक्रमको पनि उनले रसिद उपलब्ध नगराएको पाइन्छ । मनोरञ्जन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्थानीय तह, प्रशासन र जिल्ला प्रहरीलाई जानकारी हुनुपर्ने नियम लत्याउँदै मिसेलले मदिरासम्बन्धित कार्यक्रम सञ्चालानार्थ अनुमति नलिएको पाइन्छ ।

यस्तो छ नालीबेली
अमेरिका बोउल्डर कोलोराडो निवासी मिसेल अलेग्जेन्द्रा विल्स पहिलोपटक नेपाल घुम्ने उद्देश्यले आएकी थिइन् । त्यसपछि पृथ्वीनारायण बहुमुखी क्याम्पस भीमकालीपाटन, बगरमा अतिथि प्राध्यापकको रुपमा २०१६ अप्रिल ३ (विसं २०७२ चैत २१)मा पढाउने अनुमति पाइन् । उनले रिसर्च भिसा प्राप्त गर्न पृथ्वीनारायण क्याम्पसको अंग्रेजी विभागलाई प्रभावमा पारी ‘स्पोन्सर’ झिकाएको देखिन्छ । उनले रिचर्स भिसामै छँदा ७ जनाबीच अन्तक्र्रिया गर्दै गरेको विद्यार्थीको तस्बिर राखी १ हजार ६ सय २५ अमिरिकी डलर उठाएकी छन् । सामाजिक काममा ‘डोनेसन’ चन्दा उठाउन प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय स्तरमै चर्चित ‘इंडिगोगो’ वेबसाइटमा तस्बिरकै आधारमा उक्त रकम उठेको छ ।

वेबसाइटले दर्ता गरेको उनको व्यक्तिगत विवरणका अनुसार हालसम्म ५ लाख ५० हजार अमेरिकी डलर (नेपाली ६ करोड भन्दा बढी) उठाएको रेकर्ड छ । त्यसमध्ये १० हजार डलर अमेरिकाकै प्रोजेक्टका लागि उठाएकी छन् ।

लर्निङ हाउस कम्पनीको संस्थापक मिसेल आफैं छिन् । ङवाङ गुरुङ कम्पनीको कार्यकारी निर्देशक छन् । उनले सञ्चालन गर्ने वेबसाइट ‘खाता लाइफ’मा पनि बोर्ड अफ डाइरेक्टर उनी आफैं छिन् भने, ङवाङ गुरुङ कार्यकारी निर्देशक छन् । उनका हरेक गतिविधिमा गुरुङले साथमात्र दिएका छैनन् हिस्सेदारको रुपमा पनि देखिएका छन् । मिसेलले कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७४ चैत १४ गते लर्निङ हाउस प्रालि दर्ता गरेकी थिइन् । प्रबन्धपत्रमा कम्पनीको उद्देश्य म्यानेजमेन्ट, करिअर, सीप, कफी बनाउने बरिस्ता र भाषा तालिम सञ्चालन गर्ने उल्लेख छ । प्रबन्धपत्रअनुसार कम्पनीको सेयर मिसेलका नाममा ५० हजार र उनका नेपाली सञ्चालक ङवाङ छिरिङ तमु (गुरुङ) का नाममा ५ हजार कित्ता छ ।

‘खाता लाइफ’ नेपालमा भने दर्ता भएको छैन । लर्निङ हाउसले सञ्चालन गर्ने कुनै पनि विद्यार्थीलाई तालिम, अभिमुखीकरण, आर्ट सम्बन्धी कक्षाका तस्बिर उनले खाता लाइफमा प्रयोग गर्ने गरेकी छन् । ‘खाता लाइफ’मार्फत जम्मा भएको रकम उनले अमेरिकामै जम्मा गर्दै आएकी छन् ।

पोखरा १२ स्थित माटेपानी गुम्बामा सोलार जडान गर्न मिसेलले चन्दा संकलन गरेकी थिइन् । नेपालमा १६ घन्टा लोडसेडिङ हुने हुँदा गुम्बामा प्रभावकारी शिक्षाबाट विद्यार्थी बञ्चित हुनुपरेको भन्दै उनले तस्बिरसहित अभियान चलाएकी थिइन् । ८ हजार अमेरिकी डलर लक्ष्य राखेकोमा लक्ष्यभन्दा २ हजार बेसी १० हजार ३२ डलर (नेपाली ११ लाख रुपैयाँभन्दा बढी) संकलन गरेकी थिइन् । विदेशी नागरिकले व्यक्तिगत वा संस्थागत रुपमा सोझै गरिने सहयोग कानुनी रुपमा बर्जित छ । समाज कल्याण परिषदमा दर्ता भई स्थानीय अन्य सामाजिक संस्थासँगको सहकार्यमा मात्र सहयोग वा कार्यक्रम गर्न पाउने कानुनी प्रावधान छ । मिसेलले आफूखुसी रकम उठाउने, त्यसको जानकारी स्थानीय प्रशासनलाई नदिने र खर्चको लेखाजोखा नदेखाएको पाइन्छ ।

‘शिक्षा केन्द्रको विकास र कम्पनीको मासिक खर्च चलाउन’ भन्दै त्यस प्रोजेक्टमा पनि १ हजार ३ सय ९५ अमेरिकी डलर संकलन गरिन् । ३ जना बच्चाहरु पढ्दै गरेको तस्बिर देखिने गरी उनले कम्पनीको प्रवद्र्धनका लागि भन्दै त्यसलगत्तै १४ हजार अमेरिकी डलरसमेत हात पार्न सफल भइन् ।

गुम्बाका बालबालिकाको तस्बिर प्रयोग गरेर खाता लाइफको ट्विटर एकाउन्ट, वेबसाइट र ‘डोनेसन’ उठाउन प्रयोग हुने माध्यम ‘इंडिगोगो’ अनलाइन साइटमा उनले मोटो रकम उठाएको देखिन्छ । यद्यपि, उनले शुल्क लिएर लर्निङ हाउस कम्पनीले सञ्चालन गर्ने ‘बारिस्ता’ कफी बनाउने तालिममा छात्रवृत्ति दिलाउने बहानामा ४ हजार २ सय अमेरिकी डलर चन्दा संकलन गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया