स्मरणमा १९ दिने आन्दोलन

समाधान संवाददाता २०७७ वैशाख ११ गते १४:२२

भानु पराजुली

समयले २०६३ साल वैशाख ११ ल्याएको पनि आज ठिक १४ वर्ष भएछ । अस्ति जस्तै लाग्छ, राजाको निरंकुश राजतन्त्र फ्याँक्न सडक झरेको । यो पंक्तिकार भर्खरै स्नातक दोस्रो वर्ष पढ्ने तन्नेरी थियो । त्यो बेलाको जोश र जाँगर सम्झेर अहिले पनि बडो फुर्ति आउँछ ।

Advertisement


२०५९ असोज १८ गतेपछि राजा ज्ञानेन्द्रले यो वा त्यो रुपमा शासनमा हस्तक्षेप गर्दै आइरहेको थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको संकटकालका विषयमा कांग्रेस पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग बेमेल बढ्यो । असार पहिलो साता देउवाले नेपाली कांग्रेस पार्टी फुटाइ नेपाली कांग्रेस प्रजातान्त्रिक वनाएका थिए । उनै देउवाको नेतृत्वको सरकारलाई ज्ञानेन्द्रले असक्षमको विल्ला भिराएर शासन आफुखुसी चलाउन थालेका थिए ।


त्यहींदेखि नै संसदवादी ७ दल राजाको विपक्षमा उभिरहे एकातिर भने अर्कोतिर माओवादीले सरकार विरुद्ध थप आक्रमण बढाउँदै लगेको थियो । लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएपछि, फेरि राजा ज्ञानेन्द्रले हटाएका देउवा प्रधानमन्त्रीमा पूनस्र्थापित भए, त्यो पनि राजाकै मनखुसीमा थियो । अन्ततः ज्ञानेन्द्रले फेरि २०६१ माघ १९ गते बिहान १० वजे देशवासीको नाममा संवोधन गरी शासनसत्ता पूर्णरुपमा आफ्नो हातमा लिएर तुलसी गिरी र कीर्तिनिधि विष्टलाई उपाध्यक्ष बनाइ मन्त्रीमण्डल गठन गरी शासन चलाउन थाले ।

Advertisement


पञ्चायतदेखि प्रजातन्त्र, गणतन्त्र हुँदै संघीयता कार्यान्वयनसम्म हाम्रो मुल नेतृत्व उही नै भइरह्यो । हाम्रो राजनीतिक संस्कार र संस्कृतिलाई उन्नत बनाउन सकेनाैं ।


त्यसपछि चाँही सबै दल एकै ठाँउमा उभिए । अनि भने, राजाको महत्वकांक्षी शासन शैली निरंकुश हो, त्यसको अन्त्य हुनैपर्छ । त्यसैदेखि थप सशक्त रुपमा राजाको निरंकुशतन्त्र विरुद्धको आन्दोलन चर्किएको थियो ।


मंसिरमा तत्कालीन संसदवादी दल र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारी भएपछि २०६२ चैत २४ गतेदेखि आन्दोलनको घोषणा भयो । यो पंक्तिकार चैत २२ गते आन्दोलनमा सहभागी हुन काठमाडांै लागेको थियो पोखराबाट । कांग्रेस कास्कीका तत्कालीनसभापति यज्ञबहादुर थापाको नेतृत्वमा कास्की कांग्रेसको (नेवि संघ, तरुण दल, महिला संघ, दलित संघ लगायतका) करिब १ सय भन्दा बढीको जम्बो टोली काठमाडांै गएको थियो । ठमेलको होटल प्लानेटको बसाइ थियो । बिहानै ६ बजेदेखि कफ्र्यु लाग्थ्यो, हामी चाँही ५ बजे नै उठेर रिङरोड बाहिर जाने अनि कफ्र्यु तोड्ने र प्रहरीसँग लड्ने, निरंकुश राजतन्त्र विरुद्ध चर्का नारावाजी गर्ने हाम्रो दैनिकी हुन्थ्यो । हाम्रो खास आन्दोलनको अड्डा कलंकीदेखि गोगंबु, नारायणगोपाल चोक तथा रत्नपार्क सम्मका स्थान हुन्थे । बिहान सँगै निस्केका साथी बेलुका कति फर्कन्छौं कुनै निश्चित थिएन । हामीले खाना खाने भनेको त बेलुका सकुशल फर्कियो भने खाइयो नत्र त्यस्तै हो ।


चैत २६ गते पोखराको महेन्द्रपुलमा बिहानैसेनाको गोली लागेर भीमसेन दाहालको निधन भयो भन्ने खबर बेलुका मात्रै पाइयो । मोबाइल तथा इन्टरनेट सेवा र एफएम रेडियो पनि बन्द नै थिए भने ल्यान्ड फोन मात्रै चल्थ्यो । आन्दोलनका लागि म काठमाडांै गएको गाँउमा बस्ने ममीलाई भने थाहा थिएन, बुवाले चाँही त्यो बेलाको ७ हजार रुपैयाँ समेत दिएर काठमाडांै पठाउनुभएको थियो । ममीले चाँही म २०६१ साल फागुन २३ देखि जेठ २३ गतेसम्म पोखराको वैदाम र लामापाटनमा हिरासतमा बसेको पनि थाहा पाउनुभएको थिएन, आन्दोलन सफल भएपछि यी सवै कहानी भनेको ममीले गाली चाँही गर्नुभएन, मलाई किन नभनेको भनेर रिसाउनु चाँही भयो । वैशाख २०६३ वैशाख २२ गते स्नातक दोस्रो वर्षको परीक्षा थियो, अनि ठिक एक महिना अघि आन्दोलनमा भाग लिन काठमाडांै हिँडियो । तर राति कतै पाइएछ भन्ने पढ्न चाँही पर्छ भनेर पुस्तक चाँही लगेको थिए । अक्सर समय पाए भने मलाई पुस्तक पढन मन लाग्छ, त्यो बानी अहिले पनि छ ।

अग्रजले गरेको संघर्षलाई उच्च सम्मान र आदर गर्दै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको लागि प्रत्येक युवाहरु आफ्नै दलभित्रवाट सशक्त हस्तक्षेपकारी भएर उभिनु अबको आवश्यकता हो । – भानु पराजुली


हामी कास्कीबाट गएका सबै साथी एकै ठाँउमा चाँही जाँदैनथ्यौ, छरलिएर गइन्थ्यो । मुकुन्द बाँस्तोला र देवकृष्ण पराजुली भने त्यो बेला पनि नछुट्ने जोडी नै हो । त्यो बेलाको नेवि संघ कास्कीको सभापति सन्तोष पहारी, उपाध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष म आफै, जिल्ला सदस्य लक्ष्मीप्रसाद पौडेलको एउटै कोठा हुन्थ्यो भने जनप्रिय नेवि संघको सचिव भरत मर्सानी पनि हामीसँगै हुन्थे । नेवि संघका तत्कालीन सचिव सरोज केसी, पूर्वउपाध्यक्ष योगराज लामीछाने, सहकोषाध्यक्ष कल्याणबाबु भण्डारी, पूर्वकोषाध्यक्ष एवं जनप्रिय इकाई सभापति प्रकाश बराल, भानु ढकाल, मोहन पण्डित, सहितका थुप्रै साथीहरु पोखरामा नै खट्नुभएको थियो ।


अहिलेका कास्की कांग्रेसका सचिव सुदिपमोहन भट्टराई भने छिटै जेल पर्नुभयो । हामी चाँही बेलुका कतै अलपत्र परिएन र होटल आइयो भने लौ आज त आइयो अब तास खेल्नुपर्छ भन्ने रात अबेरसम्म कलब्रेक खेल्ने । यज्ञ दाइ आएर ए सुत हो यार भोलि बिहानै जानुपर्छ भन्नु हुन्थ्यो । उर्मिला भाउजु सुरुका दिनमा नै सायद कलंकीमा पक्राउ परेर जेल परेपछि भने यज्ञ दाइ र मेरो सुत्ने कोठा एउटै थियो । भानु तिमी पनि तास खेल्छौ भन्नुहुन्थ्यो, पत्याउनुहुन्थेन । भबे सार्की दाइलाई बेलुका अलिकति पिउनुपर्ने बानी थियो, अहिले उहाँ बित्नुभयो, निकै संघर्षशील मान्छे हो भबे दाइ । तर कहिल्यै पदको लोभ चाँही गर्नुभएन । भबे दाइलाई एक दिन बेस्सरी लागेछ । बुढा यो ‘व्राह्मणवाद मुर्दावाद’ भन्दै ल आज म मेसमा खाना पस्कन्छु सवै खान आउ भन्दै कड्किए । सबैले दाईलाई आदर नै गर्थे, सबैले खाए पनि र बुढा खुसी भए ।


एक दिनको कुरा हो, गोंगवुबाट नियमित जस्तै त्यो दिन पनि कफ्र्यु तोड्ने कार्यक्रम बिहानै ७ वजेदेखि हुन थाल्यो । हामी कास्कीवाट गएको टोली पनि त्यहिं थियो । सायद चिवनको टोली पनि । जनप्रिय नेवि संघको सचिव भरत भाइ र म चितवनको टोली बसेको होटलमा गइयो, यता आन्दोलन सुरु भइसकेको रहेछ । बाहिर प्रहरी र आर्मीको टोलीले आन्दोलनकारीलाई तितरबितर पारी सकेको रहेछ । साथीहरु कोही कता गए कोही कता ? अब कसलाई कहाँ खोज्ने ? ५ जनाको प्रहरी र सेनाको टोली हामी गएको होटलमा आन्दोलनकारी बसेका छन् भन्दै छापा मार्न आयो । अब गर्ने के ? त्यो भाइ र म छतमा पानी ट्यांकीमा लुकियो । लगभग ३ घन्टापछि निस्कियो, होटलका मालिकले भात खुवाए, त्यो दिन कास्कीको टोली खाना खान नेता रामचन्द्र पौडेलको घरमा जाने योजना थियो । तर हामी त अलपत्र परियो ।


११ बजेतिर फेरि २ भाइ हिँडियो सामाखुसी । आर्मीको बंकर र प्रहरीहरु एकातिर अर्कोतिर आन्दोलनकारीहरु रिंङरोड बाहिर थिए, तर हामी भित्र परिएछ, परेन फसाद । जता प्रहरी र आर्मी छ त्यतै गइन्छ, भित्री बाटो, कसले बाटो चिनेर हिँडेको थियो र ? प्रहरीले हामीलाई देख्यो अव २ जना मात्रै के को नारावाजी गर्नु ? त्यति धेरै प्रहरी र सेना छ । भरत भाइले सडकमा रोकी राखेको ट्याक्सी नै फ्डिकियो म चाँही पछि पछि दौडिए । प्रहरी लगार्दै आयो एक किलोमिटर जति । त्यसपछि हामी चाँही सामाखुसीको त्यो गन्हाउने सिस्नेघारी सहितको खोलामा हाम फालियो र दिनभरि त्यही घारीमा लुकियो । प्रहरी माथि डिलमा हामी २ भाइ सिस्नेघारीमा । बेलुका ६ बजे कफ्र्यु सकियो अनि त्यहिंबाट निस्केर ठमेल आइयो होटलमा । लामै सास फेरियो लौ आज चाँही बाँचियो, सेना प्रहरीको कब्जाका परेको भए के हुन्थ्यो के ? समूहमा परे त सुरक्षित भइयो तर १÷२ जना मात्रै परे त के हो के ? भोलिपल्ट भने आन्दोलनमा गइनँ ।


२०६३ साल वैशाख १ गते पूर्व पर्यटनमन्त्री कांग्रेस नेता महादेव गुरुङको निवास लाजिम्पाटमा नयाँ वर्षको अवसरमा कस्केली आन्दोलनकारीलाई बिहानको खाना खाने निम्ता थियो । कतिपय साथीहरु जेल परेका थिए भने कतिपय पोषनाथ शर्मा लगायतको एउटा टोली त्यो खाना खाने निम्तामा गएन । कांग्रेस नेता महादेव गुरुङ आन्दोलनको क्रममा धेरै पहिले पक्राउ परेर धेरै नै महिनादेखि पोखरामा जेलमा हुनुहुन्थ्यो ।

उहाँ आन्दोलन सफल भएपछि मात्रै छुट्नुभयो । त्यो दिन पार्वती गुरुङ एक्लैले ३५÷४० जनाको टोलीलाई खाना खुवाएर पठाउनुभएको थियो । तर होटल फर्कदा अर्को फसाद आइलाग्यो । सन्तोष पहारी, मुकुन्द बास्तोला, लक्ष्मीप्रसाद पौडेल, हरि आचार्य बाटोमा डेनिस दूतावास नजिकैवाट गिरफ्तार पर्नुभयो । त्यो टोलीका देवकृष्ण पराजुली भने भेषराज पराजुलीको कोट र ढाका टोपी लगाई भेष वदलेर जोगिएर सकुसल होटल आइपुगे ।


म र डिल्लीराम अधिकारी दाइ भने अलि अघि भएको कारण त्यहाँ परिएन । त्यो आन्दोलन गरेको भन्दा पनि सम्भावित आन्दोलनकारी र बाटोमा हल्ला गर्दै हिडेको भनेर पक्राउ गरेको कारण साथीहरुलाई भोलिपल्टै छाडेको थियो । प्रहरीसँग निकै लामो गलफत्ती समेत भएको थियो ।


आन्दोलनको ज्यावभाटा चरम वन्दै गएको थियो । हाम्रो दैनिक भनेको दिन दिनै सरकारले लगाएको कफ्र्यु तोडने र निरंकुश राजतन्त्रको अन्त्यको लागि आन्दोलन गर्नु थियो । प्रहरीको टियर ग्याँस र लौरा त कति खाइयो कति त्यसको लेखाजोखा नै छैन । कति दिन भात खाइयो होला कति दिन चाउ चाउ खाँदै हिडेको स्मरण अहिले पनि ताजै छ । मेरो लागि त्यो काठमाडांै दोस्रो पटक पुगेको र बिरानो ठाँउ नै थियो । पोखराका आन्दोलनमा बरु सुरक्षित नै भइन्थ्यो, प्रहरी चिनेको, सिआइडी पनि लगभग चिनकै हुन्थे, भाग्न सफल भइन्थ्यो पनि तर काठमाडांैमा त्यो मौका थिएन ।

जति भित्र जेलमा सुरक्षित भइन्थ्यो कयौं गुना बाहिर असुरक्षित हुने महसुस पोखरामा ३ महिना जेल बस्दा गरेको थिए । त्यो बेलाका कांग्रेस र कम्युनिस्ट नेताका किस्सा सुन्यो, बस्यो, भेटन आउनेहरुको फलफूल कति खाने हो । वैशाख ८ गते राजाले पहिलो पल्ट देशवासीका नाममा सम्वोधन गरे अनि सामान्य प्रलोभन देखाए । तर आन्दोलनकारी मान्ने कुरै भएन । आन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइराला सहितका नेताले त्यो प्रस्ताव अस्विकार गरे, आन्दोलन थप उत्कर्षमा पुग्यो ।

नागरिकहरु झन् सडकमा ओर्लिए, आन्दोलनको उभारले वैशाख ११ गते राती राजालाई घुँडा टेकाउन वाध्य वनायो । यस क्रममा २६ जना आन्दोलनकारीको ज्यान हामीले गुमाइसकेका थियौ ।


१२ गते भोलिपल्ट बिहानै काठमाडाैं लगातय देशभरि खुसीयाली सहितको जुलुस निस्क्यो र त्यही दिन साँझ ५ बजे जिन्दगीमा पहिलोपल्ट चील गाडीमा उडेर पोखरा अवरतण गरियो । हामी केही साथीहरु बचेखुचेको पैसा जति छ, सबै मिलेर जहाजमा पोखरा फर्कने निधो ग¥यांै । त्यो बेला यति एअरको भाडा २ हजार ४ सय रुपैयाँ थियो तर मसँग २१ सय मात्रै बँचेको, सकुन्तला कोइराला आन्टीले मेरो नपुग ३ सय रुपैयाँ हाल्दिनुभयो । सकुन्तला कोइराला, लक्ष्मीप्रसाद पौडेल तथा म लगायत ६ जना साथीहरु जहाजमा पोखरा आइयो अरु कतिपय साथीहरु भोलिपल्ट पोखरा फर्किए । नेवि संघ जिल्ला सदस्य सन्तोष पौडेल, क्षेत्रीय सभापति नविनराज बराल लगायतका साथीहरु एयरपोर्टमा हाम्रो स्वागतमा पुगेका थिए ।


त्यही वर्षको अन्तमा नेवि संघ कास्कीको अधिवेशन भयो, सभापति फेरी सन्तोष पहारी भए, सचिव डिल्लीराम अधिकारी भए भने सुरुमा देवकृष्ण र म दुवै सहसचिव भइयो र कल्याणबाबु भण्डारी कोषाध्यक्ष भए । त्यो बेला समिति बनाउँदा गोलमाल नै भएको थियो उपसभापतिमा एकैपटक अर्जुन गुरुङलाई ल्याइयो पछि डिल्लीरामले सचिव पदवाट राजीनामा दिएपछि छोटो समय म नेवि संघ कास्कीको सचिव भए, लगत्तै २०६४ मा सभापति सन्तोष पहारी अमेरिका उडे र मैले चाँही विद्यार्थी राजनीतिलाई छाडेर पत्रकारितामा लागे ।
साँच्चै भन्दा मेरो पुस्ता भनेको अनुभवी पुस्ता पनि हो जस्तो लाग्छ, पञ्चायत ढालेर प्रजातन्त्र ल्याउँदा ४६ सालमा ५ वर्षको मात्रै थिए, मेरो घरमाथिको स्कुलमा परालको पुत्ला वनाएर जलाएको सम्झना सम्म छ । मेरै गाँउमा ८ जना गाँउलेहरु प्रहरीको खोरमा गएको अहिले पनि सम्झन्छु । २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा गज्जबले विद्यार्थी राजनीतिको नेतृत्व तहमा नै रही आन्दोलनमा आफै होमियो । दुई वटा संविधानसभा चुनावमा भोट पनि हालियो । संविधान त बन्यो फेरि आफैँले राम्रैसँग थाहा पाउने गरी भारतीय नाकावन्दी पनि भोगियो । २०७२ सालको विनासकारी महाभूकम्प पनि भोगियो अहिले विश्व नै रुवाइरहेको कोरना त्रास पनि भोगिरहेका छौ ।


यी सबै परिवेशमा नागरिकले खोजेको प्रजातन्त्रको संस्थागत विकास, सुशासन र समृद्धि नै हो । चुलिएको त्यो जनअपेक्षा यो १४ वर्षसम्म बनेका सरकारहरुले पूरा गर्न सके जस्तो मलाई चाँही लागेको छैन । फेरि पनि निराशावादी भने होइन केही पनि गरेनन् भन्ने चाँही होइन । जति गर्न सक्नुपर्ने थियो त्यो चाँही नभएको सत्य नै हो । के हामीले यो १४ वर्षमा त्यो अनुभूति गर्न पायौं त ? हामीले व्यवस्था मात्रै फेर्न सक्यौ तर नेतृत्व र आचरण चाँही फेर्न सकिएन भन्ने अहिले गहिरो गरि लाग्छ । पञ्चायतदेखि प्रजातन्त्र, गणतन्त्र हुँदै संघीयता कार्यान्वयनसम्म हाम्रो मुल नेतृत्व उही नै भइरह्यो । हाम्रो राजनीतिक संस्कार र संस्कृतिलाई उन्नत बनाउन सकेनाैं ।

त्यसैले अब एक नयाँ र सशक्त आन्दोलनको आवश्यकता फेरि देखिएको हो कि भन्ने लाग्छ । अग्रजले गरेको संघर्षलाई उच्च सम्मान र आदर गर्दै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको लागि प्रत्येक युवाहरु आफ्नै दलभित्रवाट सशक्त हस्तक्षेपकारी भएर उभिनु अबको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया