रहेनन् ऋषि

बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित कपुरको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋपि कपूरका दाइ रणधीर कपूरले उनको निधनको पुष्टि गरेका हुन् ।
कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए । गएको फेब्रुअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो ।
क्यान्सरसँग जुधिरहेका उनलाई स्वासप्रस्वासमा पनि समस्या भएकाले मंगलबार अस्पताल भर्ना गरिएको दाइ रणधीरले बताएका थिए ।
ऋषि कपूरले सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । उनले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए ।
ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका हालका स्टार अभिनेता हुन्।
अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ ।
उनको अन्तिम चलचित्र इमरान हाशमीसँगको द बडी हो ।
तपाईको प्रतिक्रिया