स्याङ्जाका ३ संक्रमित कोरोनालाई जितेर घर फर्किए

समाधान संवाददाता २०७७ जेठ २८ गते ११:०८

अनुप पौडेल, पोखरा

स्याङ्जाका ३ संक्रमित कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । गल्याङका २ र वालिङका १ गरी ३ संक्रमित कोरोनालाई जितेर घर फर्किएको स्याङ्जा जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. अन्जु अर्यालले जानकारी दिइन् ।

अस्पतालले २२ जेठमा आइसोलेसन वार्डमा खटिएका स्वास्थ्यकर्मीसहित उपचाररत ६ संक्रमितको स्वाब पोखरास्थित कोरोना परीक्षण प्रयोगशालामा पठाएको थयो । सो स्वाब परीक्षण गर्दा स्वास्थ्यकर्मी र ३ संक्रमितको नतिजा नेगेटिभ आएको हो । डा. अर्यालका अनुसार बाँकी ३ संक्रमितको नतिजा पोजेटिभ आएको छ ।

Advertisement

बुधबार घर फर्किनेमा वालिङका २१ वर्षे पुरुष र गल्याङका २७ र ४० वर्षे पुरुष छन् । ‘वालिङका पुरुषमा १४ जेठ र गल्याङका पुरुषमा १८ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँहरुको रिपोर्ट नेगेटिभ आएपछि आज बिदाई गरेर घर पठायौं,’ उनले भनिन् ।

यो पनि – …अनि उनी आफ्नै माटोमा अस्ताए

Advertisement

स्याङ्जाका ३ संक्रमित घर फर्किएसँगै गण्डकी प्रदेशमा कोरोनालाई जित्नेको संख्या ६ पुगेको छ । यसअघि बागलुङका २ र लमजुङका १ गरी ३ जना निको भइसकेका छन् ।

स्याङ्जामा अहिलेसम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अधिकांश वालिङ नगरपालिकाका छन् । जिल्लाका संक्रमितमध्ये १ महिलाबाहेक अरु सबै संक्रमित पुरुष हुन् ।

संक्रमित ३९ वर्षीया महिलालाई केही समय पोखरास्थित क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा ल्याएर उपचार गरिएको थियो ।

जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि १५ जेठमा ती महिला संक्रमितलाई पोखरा ल्याइएकोमा २४ जेठमा जिल्ला फकाइएको थियो । उनको हाल स्याङजाको हेलुस्थित कालिका सामुुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमित सबैलाई स्थानीय पालिकाले नेपाल–भारत सीमाबाट उद्धार गरेर आफ्नो क्वारेन्टाइनमा राखेका थिए । भारतबाटै आएका वालिङका ५८ वर्षीय पुरुषको भने गत आइतबार पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो पनि – वालिङका संक्रमित भारतबाट आउँदै सिकिस्त, नगरपालिकाले छुट्टै गाडीमा ल्याएको थियो

श्रीमतिसँग दिल्लीबाट जेठ २१ गते जिल्ला फर्किएका उनी सिकिस्त बिरामी भएपछि नगरपालिकाले निजी कार पठाएर सुनौली नाकाबाट उनको उद्धार गरेको थियो ।

जिल्ला आएको भोलिपल्ट उपचार गर्न पोखरा आएका उनको संक्रमण पुष्टि भएकै दिन जेठ २५ गते मृत्यु भएको हो । उनी कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशका पहिलो व्यक्ति हुन् ।

स्याङ्जामा संक्रमितको उपचार गर्न जिल्ला अस्पताल र भीरकोट नगरपालिका १ हेलुस्थित कालिका सामुदायिक अस्पताललाई प्रयोग गरिएको छ । गण्डकी प्रदेशमा भने अहिलेसम्म १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

वालिङका संक्रमित भारतबाट आउँदै सिकिस्त, नगरपालिकाले छुट्टै गाडीमा ल्याएको थियो

वालिङका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पाेखरामा मृत्यु

कोरोनाबाट मृत्यु भएका पुरुषको शव २० घन्टापछि व्यवस्थापन

स्याङजाकी कोरोना संक्रमित महिलालाई पोखरा ल्याइयाे

वालिङकी संक्रमितलाई पोखराबाट स्याङ्जाकै आइसोलेसनमा फर्काइने

तपाईको प्रतिक्रिया