रुपाको बजेट ४३ करोड, बेरोजगारलाई ४ प्रतिशतमा सहुलियत ऋण

समाधान संवाददाता २०७७ असार ८ गते १९:०७

समाधान संवाददाता, पोखरा

कास्कीको रुपा गाउँपालिकाले सोमबार आगामी आव २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उक्त आवका लागि ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट उपाध्यक्ष लालसुबा गुरुङले सार्वजनिक गरिन् ।

गाउँपालिकाले उक्त बजेट कोरोना नियन्त्रण, रोकथाम र त्यसले पार्ने प्रभावलाई केन्द्रमा राखेर ल्याएको अध्यक्ष नवराज ओझाले जानकारी दिए । वैदेशिक रोजगार गुमाएर फर्किएका व्यक्तिहरुलाई गाउँमै स्वरोजगार बनाउने र उद्यमी बन्न चाहनेलाई सहुलियत ऋणको व्यवस्था गरिएको अध्यक्ष ओझाले बताए ।

Advertisement

त्यसका लागि कृषिलाई महत्व दिँदै गाउँपालिकाले १ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आवलाई कृषि वर्षको रुपमा परिभाषित गरेको छ । बजेटमा श्रम तथा रोजगारी शीर्षकमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

युवाहरुलाई स्वरोजगार बनाउने हेतुले ४ प्रतिशत सहुलियत ऋण दिने घोषणा गाउँपालिकाको छ । उत्पादित कृषि जन्य वस्तुको ढुवानीमा गाउँपालिकाले निशुल्क व्यवस्था गर्ने भएको छ ।

Advertisement

फलफूल तथा तरकारीको बिरुवा सहज बनाउन एक वडा एक नर्सरी स्थापना गर्ने, १ घर १ करेसाबारी, पशुपालनमा सहुलियत ऋण, उन्नत जातको पशुपालनका लागि कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने गाउँपालिकाको योजना छ । बजेटमा पशुपंक्षी विकासका लागि ९४ लाख रुपैयाँ विनियोजन भएको छ ।

स्वास्थ्य सेवामा गाउँपालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाका ४ वटा क्वारेन्टिन र १ आइसोलेसनलाई व्यवस्थित गरिने जनाइएको छ ।

नयाँ पूर्वाधारका योजना नथप्ने चालु योजनालाई पूर्णता दिने गरी पूर्वाधारमा बजेट ल्याएको अध्यक्ष ओझाले जानकारी दिए । पूर्वाधार विकासमा १ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ ।

सार्वजनिक बजेटमा चालुतर्फ ५ करोड १ लाख २४ हजार र पुँजीगततर्फ १४ करोड ८० लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । आगामी आवमा माथिल्ला सरकारबाट शसर्त अनुदानबापत १८ करोड ८१ लाख प्राप्त हुने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया