भरतपोखरी मञ्चको पहलमा डेढ लाख सहयोग

समाधान संवाददाता, पोखरा
भरतपोखरी विकास मञ्चको पहल एवं समन्वयमा पोखरा महानगरपालिका वडा नं ३३ लप्सीकुनाका स्वर्गीय लेखबहादुर नेपालीका परिवारजनलाई लगभग १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
दुबै मृगौलाले काम नगरी असामयिक निधन भएका नेपालीको परिवारजनलाई मञ्चको पहल एवम् समन्वयमा हाल कुवेतमा रहेका हुमनाथ गिरीले १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
गिरीसहित युवा उद्यमी प्रकाश श्रेष्ठले २० हजार रुपैयाँ, प्रकाश गौतमले १० हजार रुपैयाँसहित माछापुच्छ«े टोल विकास संस्था, अन्नपूर्ण टोल विकास संस्था लगायत संघसंस्था एवं व्यक्तिबाट लगभग १ लाख ५० हजार रुपैयाँ संकलन भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
मञ्चले समाजिक विकासका साथै मानवीय सहयोगका विभिन्न क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले मानवीय सेवा सबैको कर्तव्य भएको धारणा राखे ।
नकारात्मक सोच र चिन्तनले समाजको विकासलाई अघि बढाउन नसक्ने उल्लेख गर्दै उनले यसका लागि सबैको सकारात्मक सोचसहितको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।
माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले समाजका असहाय व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएको बताए ।
कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष अम्बरबहादुर थापा, समाज सुधार आमा समूहद्वारका अध्यक्ष रमादेवी आचार्य, भरतपोखरी विकास मञ्चका कार्यसमिति सदस्य ऋषिमाया लामिछाने, आजीवन सदस्य राजकुमार लामिछाने लगायत सहभागी थिए ।
तपाईको प्रतिक्रिया