सांसद दवाडी तलब लिन्छन्, जनतालाई दिन्छन्

तलबभत्ताबापत ३ वर्षमा पाएको झन्डै २० लाख रुपैयाँ क्यान्सरपीडित, दुर्घटनाका घाइतेको उपचार, एम्बुलेन्स खरिद लगायतमा दान
समाधान संवाददता, पोखरा
गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय नजिकै स्वास्थ्यचौकी छ । त्यहाँ पुग्ने बाटो गतिलो नहुँदा मान्छे हिँड्नै समस्या हुन्थ्यो, एम्बुलेन्स गुड्ने त परको कुरा । बाटो बनाउनपर्यो भनेर स्थानीयले पटकपटक पालिका गुहारे । टेरपुच्छ लागेन ।
गत भदौ पहिलो हप्ता कसैले फेसबुकमा बाटोको बेहाल पोस्ट्याइदियो । प्रदेश सांसद प्रकाशचन्द्र दवाडी काठमाडौं थिए । ती तस्बिर उनीसम्म पुग्यो । आफूलाई खबर आएपछि दवाडीले स्थानीय युवालाई १० भदौमा फोन गरे ।
‘जति खर्च लाग्छ गर्नू, त्यो बाटो बनाउनपर्यो,’ उनले फोनमा भने । त्यही दिन स्वास्थ्यचौकी पुग्ने बाटो एम्बुलेन्स गुड्न लायक बन्यो । खर्च २० हजार निस्कियो । तलबभत्ताबाटै २० हजार दिए । अहिले त्यो बाटो एम्बुलेन्स गुड्नलायक छ ।
पोहोर २७ फागुनमा गोरखाको केउरामा जिप दुर्घटना भयो । बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीबाट गोरखाबजार जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका थिए । त्यसमध्ये ५ जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो । ३ जनाको अवस्था गम्भीर थियो ।
दुर्घटनाको खबर गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले थाहा पाए । उनले घाइतेको अवस्था बुझे । आर्थिक समस्या हुनसक्ने बुझेपछि तत्काल ५० हजार रुपैयाँ घाइतेको उपचारका लागि दिए । त्यो पैसा उनले प्रदेश सभा सदस्यको हैसियतले पाएको तलबभत्ता बापतको थियो ।
…
सांसद दवाडीले आफू प्रदेश सांसद भएदेखि नै तलबभत्ता जनसेवामा खर्च गर्दै आएका छन् । सांसद भएको ३ वर्षमा उनले तलबभत्ताबापत पाएको झन्डै २० लाख रुपैयाँ क्यान्सरपीडित, दुर्घटनाका घाइतेको उपचार, एम्बुलेन्स खरिद, मठमन्दिर, आमा समूहको भवन निर्माण लगायतमा खर्चिएका छन् ।
त्यसबाहेक झन्डै १० लाख रुपैयाँ उनले व्यक्तिगत रुपमा सामाजिक कार्यमा खर्च गरेका छन् । २०७४ माघ ७ गते सांसद पदको सपथ लिँदाकै दिन दवाडीले आफ्नो सबै तलबभत्ता जनसेवामा प्रयोग गर्ने घोषणा गरेका थिए ।
सांसद भएको तेस्रो वर्षमा पाएको तलबभत्ता कहाँ–कहाँ खर्च भयो भन्ने विवरण उनले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे ।
सांसद दवाडीले पछिल्लो १ वर्षमा (गत पुसदेखि यो पुससम्म) पाएको तलबमा समेत थपेर ८ लाख ९१ हजार रुपैयाँ बिरामीको उपचार, एम्बुलेन्स खरिद, भवन निर्माणमा खर्चिएका छन् ।
गण्डकी प्रदेशमा सांसदले प्रत्येक महिना ५२ हजार रुपैयाँ पाउँछन् । वर्षभरमा प्रदेशसभा सचिवालयबाट सांसदले साढे ६ लाख रुपैयाँ हारहारीमा तलब लिने गरेका छन् ।
दवाडीले ३ वर्षमा तलब भत्ता स्वरुप पाएको झन्डै २० लाख रुपैयाँ सबै सामाजिक सेवामा खर्चेका हुन् । त्यसबाहेक यो ३ वर्षमा मात्रै अरु १० लाख रुपैयाँ सामाजिक कर्ममा खर्चिएको उनले सुनाए ।
जापानमा २ दशकदेखि व्यवसाय सञ्चालन गरिरहेका दवाडी त्यहाँबाट हुने आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्छन् । आफूले पछिल्लो १ वर्षमा २८ शीर्षकमा ८ लाख ९१ हजार रुपैयाँ सामाजिक कार्यमा खर्चिएको सांसद दवाडीले पत्रकार सम्मेलनमा बताए ।
आफ्नो निर्वाचन क्षेत्र गोरखा २ (ख) का३ वटा गाउँपालिका (बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक) का आमा समूह, युवा क्लब र विभिन्न व्यक्तिलाई सहयोग गरेको उनले जानकारी दिए ।
प्रदेश सभा बैठक हुँदाबाहेक अरु समयमा आफू जनतासँगै हुने गरेको उनले बताए । ‘काउन्ट गर्दिनँ तर आधा महिनाभन्दा बढी उतै हुन्छु,’ सांसद दवाडीले सुनाए ।
पहिलोपटक चुनाव लडेका उनले प्रतिस्पर्धीलाई २४ सय मतान्तरले हराएका थिए । पत्रकार सम्मेलनमा उनलाई अर्को प्रश्न सोधियो, ‘तपाईं व्यापारिक पृष्ठभूमिको मान्छे, अहिलेको राजनीतिक अवस्था देख्दा किन आएछु जस्तो लागेन ?’ सांसद दवाडीले राजनीतिमा छिर्दा सोचेजस्तो आफूले नपाएको जवाफ फर्काए ।
‘जनताले ५ वर्षलाई दिएको मतको कदर गर्नपर्यो नि । ५ वर्षपछि जनताले चाहेनन्, तपाईंलाई तिरस्कृत गर्छौं भने त्योबेला सोच्ने कुरा हो,’ उनले प्रष्ट्याउँदै भने, ‘जसले जे भने पनि ५ वर्ष नसकिँदासम्म जनताकै पक्षमा लाग्ने छु ।’
पत्रकार सम्मेलनमा बोल्दै सांसद दवाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति असन्तुष्टि जनाए । सत्ताका लागि लड्नेहरु कहिल्यै कम्युनिस्ट हुन नसक्ने उनले टिप्पणी गरे । ‘एकअर्का बीचको छेडछाड र घोचपेच, अति निम्न स्तरीय भाषा, के यही हो कम्युनिस्ट विश्वविद्यालयको पाठ्यक्रम ?’ ओली प्रचण्डलाई उनले प्रश्न गरे ।
ओली कदमको विरोध गरेका उनी प्रदेश सरकारलाई कांग्रेसको साथ रहन्छ÷रहँदैन भन्ने प्रश्नमा भने खुलेनन् । पत्रकारले ३ पटक सोधेको प्रश्नमा अडिग रहँदै भनिरहे, ‘अदालतमा मुद्दा छ । हाम्रो संसदीय दलमा केही छलफल भएको छैन ।’









नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया