प्रिय ग्लोबल कलेजियट

समाधान संवाददाता २०७७ माघ ६ गते १८:१०

तिमी कम टु लर्न गो टु सर्भ भन्छौ, सिकाउँछौ र सेवा गर्न प्रेरित गर्दछौँ । विश्वास राख, तिम्रा सन्तान चाहे प्रशासनमा होऊन् वा राजनीति, कवि हृदय बोकेको सिर्जनामा रमून वा कुची बोकेर गमून्, उनीहरुले अन्यायलाई कहिल्यै पक्ष पोषण गर्ने छैनन् ।

नेपालप्रकाश अधिकारी

प्रिय ग्लोबल कलेजियट

पोखरा–१२, रानीपौवा, कास्की

Advertisement

सन्चै छु । विश्वास छ, तिम्रो मजबुत प्रतिरक्षात्मक क्षमताका कारण पक्कै स्वस्थ छौ । यो विश्वास विनाआधार भने गरिएको होइन, वि.सं. २०५२ सालमा जन्मिएर तिमी टुकुटुकु मात्र के हिँड्न थालेका थियौ त्यति बेलादेखि नै राज्यमा एक किसिमको असहज वातावरण बन्यो । त्यो प्रतिकूल वातावरणमा आपूmलाई समायोजन गर्न नसक्ने विरुवारूपी विद्यालयहरु कुनै असमयमै ओइलाए कुनै टाक्सिएर अहिलेसम्म केबल हुनुको अस्तित्वमा मात्र मुर्झाइरहेका छन् । तर पनि सुझबुझपूर्ण नेतृत्व र समाजको मायाको कारण तिम्रा हाँगाहरु पैmलिँदै गइरहे । समुदायले शीतल शैक्षिक छहारीसहित सभ्यताको प्राण वायु पाइरहे । एकातिर तिमीमा हरियाली छाउँदै छ अर्कातिर तिम्रा सम्बन्धका जराहरु समाज जमिनका गहिराइसम्म पुग्दैछन् ।

आगामी दिनमा तिमी थप विशाल वृक्ष बन्नेछौ । त्यसका सङ्केतहरू प्राप्त भइरहेका छन्, त्यसैले यो छोटो समयमा तिमीले शैक्षिक जगतमा पुर्याएको योगदानको उच्च कदर गर्दै यो भावनात्मक पत्र कोरेको छु ।

Advertisement


तिम्रो सम्झनामा व्यक्तिगत अनुभूति घोलेर पस्कने कनिकुथी प्रयासस्वरूप शब्दहरु पालैपालो लेख्न खोज्छु तर भावनाहरु ठेलमठेल भएर एकैचोटि निस्कन खोज्छन्; तिनलाई अगि आउने हतारो छ, छुटिएलाकि भन्ने पिरलो छ । अझ कठिनाइ यस अर्थमा छ, लेख विद्यालयका बारेमा अनुभूतिसहितको आलेख माग गर्छ ग्लोबल मेरो लागि विशुद्ध विद्यालयमात्र नबनेर विश्वविद्यालय बनेर उभिइदिन्छ ।


कुरो कहाँबाट सुरु गरौँ, ग्लोबल ? तिमीलाई भेटेपछि हजारौँ चोटि सूर्य उदाए र अस्ताए । ती दिनहरुमा विद्यालय स्थापना र त्यसपछिका आरोह अवरोहको नजिकैबाट महसुस मात्र हैन तिनको सौम्य विवेक अनि कुशल नेतृत्वका कारण सहजै सामना भएका विशेष क्षणहरुको गवाह बसेको छु । सबैको संयुक्त प्रयासबाट मेधावी विद्यार्थीले वर्षेनी प्राप्त शैक्षिक र अन्य उपलब्धिमा परेको इन्द्रेनीका सातै रङ शिक्षक साथीहरुसँगै तिमै्र काँखमा उभिएर प्रत्येक वर्ष एकैसाथ नियालिरहेकोे छु । प्रत्येक वर्षा ऋतुमा ग्लोबलको प्राङ्गणमा पानीका छिटाहरु पर्दा उडिआउने माटाको सुवास दशौँ वर्षतक अविच्छिन्न ग्रहण गरिरहेको छु त्यसैले अनुभूतिका अनेक रंगिन पत्र छन् म भित्र ।


स्थापनाको यो छोटो समयमा तिमीले बडेबडे कीर्तिमान कायम गर्यौ । निकै अघि स्थापित भइसकेका शैक्षिक संस्थासँगको स्वस्थ प्रतिस्पर्धामा खरो उत्रियौ । न भूतो न भविष्यति, २०७० सालको एसएलसी परीक्षामा नेपाली विषयमा रमेश गुरुङले ९३ अंक प्राप्त गरी सबैलाई चकित तुल्याइदिए । विसं २०७१ सालको एसएलसी परीक्षामा ९१.२५ प्रतिशत अंकसहित जिल्ला प्रथम हुने भाइ आशीष त्रिपाठी तिम्रै आशीर्वादले अमेरिकाको एमआइटी विश्वविद्यालयमा विज्ञान अध्ययनरत छन् । विद्यालयकालमा नै उनी विज्ञान र गणित मात्रै होइन भाषा पनि उत्तिकै सशक्त रहेको पुष्टि उतिबेलै राष्ट्रिय स्तरको नेपाली निबन्धमा प्रथम भएको तथ्यले प्रमाणित गरिसकेको छ । विगतको एस.एल.सीमा राष्ट्रियस्तरमा नै उत्कृष्ट नतिजा ल्याउन सफल ऋीतिका शर्मा न्यायकर्मी हुने लक्ष्यसहित नुतन अभ्यासमा जुटेकी छिन् ।

२०७० सालमा प्रशान्त ढकाल, एलिशा शर्मा र रमेश गुरुङले ९० प्रतिशत अङ्क कटाएर ऐतिहासिक नतिजा प्राप्त गरे । यी त भए शैक्षिक प्राप्तिका केही प्रतिनिधि नमुना मात्र । हामीलाई थाहा छ, पढाइमा मात्र होइन, तिम्रै सुपुत्री रोजिना आचार्यले राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा नेपालभरिबाट प्रथम भएर राष्ट्रपति विद्या भण्डारीबाट सम्मानित हुँदा हामीसबैको छाती गर्वले फुल्यो, विभिन्न समयक्रममा तिम्रै सन्तान भूगोल गुरुङ लगायतका युवाहरू नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डा बोकेर टेबल टेनिस खेल्न विदेशी मैदान छिर्दा हामी सबैको शिर स्वाभिमानले उचो भयो ।

हिजो तिमीले उत्पादन गरेका विद्यार्थी आज राष्ट्र निर्माणमा कालिगढ बनेर कहाँकहाँ छाएका छैनन् ? ग्लोबलको नाम र छापसहितको प्रमाणपत्र बोकेर तिम्रा सन्तान नेपालका नामी कलेजदेखि संसारकै प्रतिष्ठित विश्वविद्यालयसम्मको अध्ययन गरेर सेवामा समेत हाजिर भएका छन् । दसौँ विद्यार्थीहरूले अनुसन्धान तहको पढाइ सकेर खोज र अनुसन्धानमा तल्लीन छन् । यहीँ पढेकी ऋतु लामा राष्ट्रिय स्तरको गायन प्रतियोगितामा उत्कृष्ट हुँदा होस् वा त्यतिबेला यु.के.जीमा पढ्ने विलक्षण प्रतिभा उत्पे्रम जोजिजु संसारकै सबैभन्दा कान्छा ड्रमर बन्न सफल भई युनिक वल्र्ड रेकर्ड २०१४ को उपाधि प्राप्त गर्दा तिमी त गम्भीर प्रकृतिका छौ फुर्किएनौ, हामी त झन्डै खुट्टो उचालेर नाचिएन ।

उसो त तिम्रो शालीनता र भद्रताको के कुरा गर्ने र तत्कालीन जिल्लाव्यापी हिसानको जिल्लास्तरीय खेलकूद प्रतियोगितामा तीनतीन पटकसम्म ह्याट्रिक गरी रनिङ सिल्ड जित्दा पनि तिमी कहिले उत्ताउलो बनेनौ । अपरिमित खुसीमा पनि तिमी कहिल्यै उम्लिँदिनौ, हरेक वर्ष आफ्ना सन्तानको प्राप्तिमा पग्लँदैपग्लँदै झर्छौ, आँखामा तिर्मिराउँदैनौ, हृदयमा बस्छौ । समुदायको विशाल हृदय तिमीलाई अनुभूत गर्दछ, प्रिय ठान्छ, आप्mनै मान्छ र शिरमा सजाउँछ ।


सदैव तिमीले समयसापेक्ष सान्दर्भिक सन्देशसहितको सीप र शिक्षा दियौ । जतिबेला दामोदर र भीमसेनजस्ता दाइभाइहरु एकआपसमा लडेर युद्धको दुन्दुभीमा मुलुक फसेको थियो त्यतिबेला खोसिएका सिउँदो र लुटिएको भाग्यको वकालत गर्दै युद्ध रोक्ने आह्वान गीतमा नाच्थे ग्लोबलका भाइबहिनी । ग्लोबल अनि सबैको मनमा बाँच्यो ग्लोबल ।

प्रत्येक शुक्रबारे कार्यक्रममा ग्लोबल कहिले लोक दोहोरी घन्कने वनकुञ्ज बन्छ त कहिले तर्क तेर्साइरहेका वकिलहरुको बहस स्थल । सानै छन् तर पनि यिनीहरुको अनुहारमा गौतमबुद्धको भावभङ्गिमा त झलकमानको झल्झलाकार रुप देख्न पाइन्छ । विपीको लेखनकला अनि मदनको वाककलाको सम्मीश्रित रूप देख्न पाइन्छ । त्यसको सम्पूर्ण श्रेय तिमीलाई नै जान्छ ।


तिमी कम टु लर्न गो टु सर्भ भन्छौ, सिकाउँछौ र सेवा गर्न प्रेरित गर्दछौँ । विश्वास राख, तिम्रा सन्तान चाहे प्रशासनमा होऊन् वा राजनीति, कवि हृदय बोकेको सिर्जनामा रमून् वा कुची बोकेर गमून्, उनीहरुले अन्यायलाई कहिल्यै पक्ष पोषण गर्ने छैनन् । उनीहरुले एउटा मूल कुरा सिकेका छन् त्यो हो ‘इमानदारी’ । उनीहरुलाई भरपुर थाहा छ, अनुशासनको बाटिकामा मात्र प्राप्तिका फूलहरु फुल्छन् ।


यही विद्यालयमा रहँदा बस्दा वरपरका प्राकृतिक बोटहरुमा दसौँ पटक पातहरु झरे, पलाए । तर ग्लोबल नामको यो विशाल वृक्षले कहिल्यै आफ्ना पातहरु गुमाउनु परेन, यसको हरियाली कहिल्यै हराएन । म खुसी यो मानेमा पनि छु कि, यो रुखलाई सदाबहार बनाउन सयौँको लाममा उभिएर प्रत्येक बिहान यसका जरामा एक मुट्ठी पानी राख्ने सौभाग्य मैले पनि पाएको छु । शिक्षक र संस्थाको सम्बन्ध यति हार्दिक छ कि शिक्षकले ग्लोबलका निर्जीव रेलिङ समाउँदा समेत यिनले सामिप्यता बोध गरेजस्तो लाग्छ ।

प्रत्येक कोठाहरुमा छिर्दा ढोकाहरुले चिन्दा हुन्, भित्ताले समेत आवाज पहिचान गर्दा हुन् । कक्षामा उभिएर पढाइरहँदा प्रिय कोठाका झ्यालहरुले माया गरेर हामीलाई एक मुठी बढ्ता स्वच्छ हावा भित्य्राए झैं लाग्छ ।


विद्यालयसँग शिक्षकको नाता किन पनि मुटुको हुन्छ भने उसको उर्बर र रचनात्मक समय विद्यार्थीका लागि विद्यालयमा ब्यतित हुने गर्दछ । विद्यालय एउटा सानो समाज नै भएकाले ती समयमा विभिन्न व्यक्तिसँग ऊ भावनात्मकरुपमा जोडिएको हुन्छ । हिजो रुँदैरुँदै आमाको हात समाउँदै आउने कलिलो विद्यार्थी परिपक्व भएर आज मोटरसाइकलको पछि आमालाई राखेर हाँस्दै अघि बढेको दृश्य देख्दा हरेक सन्तुष्ट शिक्षक आफूलाई भाग्यमानी सम्झन्छ ।

वास्तवमा शिक्षक किन गौरवबोध गर्छ भने हिजो धाराको टुटी बिगार्नेहरु उसकै दीक्षाले समाजसेवी कहलाउँछ । हिजो आफैले कक्षामा मनिटर बनाएको फुच्चे विद्यार्थी आज समाज र राजनीतिको नेतृत्व गरेको दुर्लभ क्षण आफ्नै आँखाले देख्न पाउँछ । हिजो आमाले दिएको पैसा जतन गर्न नसक्दा आफूले जतन गरेर राखिदिनुपर्ने अवस्थाको विद्यार्थी बैँकको सिइओ बन्दा, हिजो टाउको दुख्यो भनेर विद्यार्थी झोक्राउँदा आफैले सिटामोल दिएको ऊ आज नामी डाक्टर हुँदा कुन चाहिँ शिक्षकको छाती गर्वले नफुल्ला र ?


ग्लोबल तिमीबाट हामी शिक्षकले पाएको ठूलो प्राप्ति भनेको मानवीय सम्बन्ध र ती सम्बन्धको अध्ययन गर्ने सुनौलो अवसर पनि हो । विश्व विद्यालयले सिकाउने, सिकाउन नसक्ने समाजशास्त्र र मनोविज्ञान बुझ्ने मौका पाइँदो रहेछ विद्यालयबाट । तिनचार वर्षको बाल्य अवस्थादेखि सोह्र सत्र वर्षको किशोरावस्थासम्म प्रत्येक दिन सयौँ विद्यार्थीको वृद्धि र विकासमा आउने परिवर्तनकोे लम्बीय अध्ययन गर्ने अवसर कुन चाहिँ विश्वविद्यालयको मनोविज्ञान शाखाले जुराउँछ ? मान्छेको महानता र छुद्रता, सहयोग र धोका, बालबालिकाको निर्दोषिता र निष्कपटता, सहयोग र सम्बन्ध मैले यहीँ नै त सिकेँ । त्यही सन्दर्भमा हो, मैले यसलाई विश्वविद्यालय भनेको । बालमनोविज्ञान सिकाउने विश्वविद्यालय, समाजशास्त्र सिकाउने विश्वविद्यालय ।


कक्षाको एउटा बच्चो अभिभावकको लागि सिङ्गो संसार हो भन्ने कुरा ग्लोबलका हरेक शिक्षकलाई थाहा छ । फक्रिरहेका फूलहरु, चिरबिराइरहेका चराहरु एवम् भुनभुनाइरहेका मौरीहरुको सौन्दर्य बुझाउने कोसिस तिम्रो छत्रछायाभित्र गर्न पाउँदा निकै आनन्द लाग्छ, ग्लोबल । एउटा व्यक्ति आफ्नो बच्चा सफल हुँदा एक दुई साल खुसी हुन सक्छ तर हामी शिक्षक आफ्ना विद्यार्थी हरेक साल सफल हुँदा वर्षेनी खुसी हुन्छौँ । यथार्थमा शिक्षक वर्ष भरि पढाउँछ, पढाउँदैन मात्र, पढ्छ विद्यार्थीको अनुहार पनि । अनि सिक्छ जीवनको विश्वविद्यालयबाट । यस अर्थमा पनि तिमी धन्य छौ ग्लोबल । रजत जयन्तीको उपलक्ष्यमा बधाई तथा शुभकामना ।


उही तिम्रो शुभचिन्तक
शिक्षक
नेपालप्रकाश अधिकारी

तपाईको प्रतिक्रिया