पहिले पो डर, अब त ढुक्क

समाधान संवाददाता २०७७ माघ १५ गते १२:५९

अनुप पौडेल, पोखरा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत नर्स राधिका रेग्मी दसैंताका आइसोलेसनमा संक्रमितको उपचारमा खटिइन् । कोरोनाविरुद्ध सुरुआतदेखि नै फ्रन्टलाइनमा खटिएकी उनले बुधबार अस्पताल परिसरमै खोप लगाइन् । ५४ वर्षकी रेग्मीले खोप आफूले मात्रै लगाइनन्, उनले अरु फ्रन्टलाइनरलाई लगाइदिन् पनि ।

सरकारले सुरुमा फ्रन्टलाइनरलाई खोप दिने निर्णय गरेकोमा उनी खुसी देखिइन् । नर्स रेग्मीलाई लागेको थियो – डराएर धेरैले लगाउँदैनन् होला । तर दुई सय डोज खोप ल्याइएकोमा लगाउनेहरुको लाइन देखेपछि उनी दंग छिन् ।

Advertisement

‘खोप लगाइदिन भनेर बसेका थियौं । नलगाउने भनेर स्वास्थ्यकर्मीहरु डराउनुभएको थियो,’ रेग्मीले भनिन्, ‘अरुले लगाउँछन् अनि लगाउनपर्ला भन्नेहरु धेरै थिए । पछि त अचम्मै भयो, सोचेभन्दा धेरै आए ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. बुद्धिबहादुर थापाले गण्डकी प्रदेशमै पहिलो खोप लगाए । ‘सुरुमा मैले लगाएपछि अरुको पनि डर हट्छ भन्ने भयो । त्यसपछि मैले नै लगाउँछु भनेँ,’ उनले भने, ‘पहिला डर हुन्थ्यो । खोप लगाएपछि निर्धक्क भइयो ।’

Advertisement
खोप लगाउँदै पोखरा स्वास्थ्य प्रतिष्ठानका उपकुलपति प्राडा थापा । तस्बिरः राधिका कँडेल/रासस

अस्पताल प्रांगणमै उपकुलपतिले खोप लगाएपछि खोप लगाउने स्वास्थ्यकर्मीको चाप बढेको नर्स रेग्मीले सुनाइन् । ‘पहिला दुई सय जनालाई भनेर खोप ल्याएका थियौं । उपकुलपति सरले लगाएपछि त चाप बढ्यो । आउनेहरुलाई फर्काउन हुँदैन भनेर फेरि खोप मगाएर लगायौं,’ उनले भनिन् ।’

रेग्मीलाई पनि खोप नलगाउन सुझाउने हरु थिए । तर उनले अरुको कुरा सुनिनन् । ‘अरुसँग खोपबारे कुरा चल्दा यसको भर छैन नलगाई भन्नेहरु थिए । स्वास्थ्यकर्मीले नै लगाएन भने भोलि जनमानसले कसरी लगाउँछ भनेर अरुको कुरा सुनिनँ,’ रेग्मीले सुनाइन्, ‘सरकारले फ्रन्टलाइनरलाई सुरुमा लगाउने भनेर अवसर दियो, त्यसको सदपयोग हामीले नै नगरे जनमानसमा नेगेटिभ म्यासेज जान्छ भनेर लगाएँ ।’

गोरखा अस्पतालमा कार्यरत डा. सन्तोष बाँस्तोलाले दैनिक ६० देखि ७० जना बिरामी जाँच्छन् । अस्पतालका दुई जना एमडिजिपी डाक्टरमध्येका एक उनलाई ओपीडी, इमर्जेन्सीमा खटिँदा उनलाई कोरोनाको डर हुन्थ्यो ।

बुधबार डा. सन्तोषले कोरोनाविरुद्धको खोप लगाए । डा सन्तोषलाई एक वर्षमै कोभिडको खोप बन्छ र लगाउन पाइन्छ भन्ने लागेकै रहेनछ । ‘स्वास्थ्यकर्मीले लगाएपछि सम्पर्कमा आउनेहरु सुरक्षित हुनुहुन्छ । यसले जनमानसमा राम्रो सन्देश जान्छ,’ डा. सन्तोषले खुसी हुँदै अनुभव सुनाए, ‘एक वर्षमै कोभिडको भ्याक्सिन लगाउन पाइयो । एकदम खुसी छु ।’

खोप लगाउँदै डा. सन्तोष ।

गोरखा गण्डकी प्रदेशमा हाल संक्रमित शून्य रहेको जिल्लामध्येको हो । उनलाई अब कोरोना संक्रमण देखिए पनि आफू संक्रमित नभइएला भन्ने हौसला बढेको छ । ‘अहिलेसम्म डरैडरमा पनि सुरक्षित भएर काम गरियो । खोप लगाएपछि हौसला झन् बढ्यो । अब त नलाग्ला,’ डा. सन्तोषले भने ।

अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक कृष्ण ढकालले पनि बुधबार ‘कोभिसिल्ड’ लगाए । अरु खोपजस्तै सामान्य भएको बताउँदै उनले जिल्लामा खोप लगाएका कसैलाई कुनै प्रकारको अवाञ्छित असर नदेखिएको निरीक्षक ढकालले जानकारी दिए ।

‘अरु खोपजस्तै हो, मैले पनि लगाएर अनुभव गरेँ । लगाउनुभएका सबैलाई आधा घन्टा बसेर प्रतिक्रिया लियौं । कसैलाई केही समस्या अनुभव भएन,’ उनले सुनाए ।

जिल्ला अस्पतालमा रहेका दुई वटा खोप केन्द्रबाट पहिलो चरणमा १८ सय जनालाई खोप लगाउने लक्ष्य रहेको ढकालले जानकारी दिए । उनका अनुसार गोरखाले दुई हजार १० डोज खोप पाएको छ ।

कोरोना लागेर आइसियुमा भर्ना हुनुपर्ने, भेन्टिलेटरमा राख्नुपर्ने, मृत्यु हुनसक्ने जोखिमभन्दा खोप लगाउनु धेरै सुरक्षित रहेकाले ढुक्का भएर लगाउन उनले आग्रह गरे । ‘यसको प्रभावकारिता हेर्न बाँकी नै छ । स्वास्थ्य सुरक्षाको मापदण्डलाई कायम राख्दा र खोप पनि लगाउँदा सुरक्षित भइन्छ । ढुक्क भएर लगाऔं,’ ढकालले भने ।

तपाईको प्रतिक्रिया