समाधान दैनिकको कार्यालय बमले उडाईदिने धम्की

समाधान संवाददाता २०७७ माघ २१ गते १४:२७

समाधान संवाददाता, पोखरा ।

Advertisement

समाधान मिडिया प्रालिबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकको कार्यालयलाई बमले उडाईदिने धम्की दिइएको छ । नेकपा विप्लब समुहको सैन्य दलको सदस्य हुँ भन्दै बुधबार विहान कार्यालयको ल्याण्ड लाइनमा फोन गरेर यस्तो धम्की दिएको हो ।

समाधान दैनिकमा कार्यरत कर्मचारीका अनुसार विहान करिब ११.३० बजे यस्तो कल आएको हो । ‘मेरो नाम फिरोज हो, म नेकपा विप्लव समुहको जनमुक्ती सेनामा कार्यरत छु, भन्दै परिचय दिएका थिए ।’ फोन उठाउने कर्मचारीले भने–“प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले मेरो फोन उठाएन, भन्दिनु कार्यालय बमले उडाईदिन सक्छौं ।’

आफुहरुलाई मर्न र मार्न कुनै डर छैन भन्दै फोन राखिदिएको उनले बताए । उनको फोन आएको समयमा पत्रिकाको कार्यालयमा समाचार शाखाका कोही पनि उपस्थित थिएनन् ।

पत्रिका सम्पादक ज्ञवालीले फोनमा गडबडी आएका कारण आफुले प्रयोग गर्ने फोन मंगलबार राती देखि बन्द रहेको बताएका छन् । ‘मेरो मोवाईल स्विच अफ छ, दिउसो कार्यालय आउदा कर्मचारीहरु डराएर आत्तिएको पाए ।’ सम्पादक ज्ञवालीले भने, ‘त्यो आसपासको समयमा क–कसले फोन गर्ने प्रयास गरेका थिए, खोजी गर्दैछौं ।’

Advertisement

ज्ञवालीले यस बारेमा नेकपा विप्लब समुहको आधिकारिक व्यक्तीसंग बुझ्ने प्रयास भैरहेको भन्दै बिचलित नहुन कर्मचारी र पत्रकारहरुलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया