टाइगर कपबाट १९ लाख ३० हजार बचत

समाधान संवाददाता, पोखरा
टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको प्रथम टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको छ ।
गत माघ २७देखि फागुन १सम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट ५४ लाख ४१ हजार ८ सय ३५ रुपैयाँ आम्दानी तथा ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयले १ लाख ५० हजार रुपैयाँ, राष्ट्रिय खेलकुद परिषद्ले १ लाख रुपैयाँ, पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ, अन्नपूर्ण गाउँपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विभिन्न व्यक्ति तथा संस्थाले ३९ लाख ३६ हजार८ सय ३५ सहयोग गरेको अध्यक्ष शर्माले जनाए । ग्रुपले प्रतियोगिताको टिकटबाट १० लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
प्रतियोगिताको आयव्यय सार्वजनिक गर्दै अध्यक्ष शर्माले बचत रकम सामाजिक तथा खेलकुद विकासका लागि खर्च गरिने बताए । उनले प्रतियोगिताको आम्दानी, खर्च विवरणलाई थप पारदर्शी बनाउन सहयोगदाताको नाम तथा सहयोग रकम सार्वजनिक गरेको जानकारी दिए ।
‘सबै पक्षको सहयोग र सद्भावले प्रतियोगिता ऐतिहासिक र भव्य रुपमा सफल भएको छ,’ अध्यक्ष शर्माले भने, ‘कोरोना कहरले थला परेको नेपाली खेलकुद र पोखराको खेल पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले प्रतियोगिताको लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।
आगामी वर्षसमेत प्रतियोगितालाई निरन्तरता दिने जानकारी दिँदै अध्यक्ष शर्माले सबैको हातेमालो र विश्वभरी छरिएका टाइगर ग्रुपका सदस्यको आत्मीय सहयोगले प्रतियोगिता सफल भएको बताए ।
कार्यक्रममा टाइगर ग्रुपले बागलुङ बडीगाड गाउँपालिकाको १ अशक्त परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । पालिकाका स्वर्गीय टोपबहादुर विकको परिवारलाई पोखरा छोरेपाटन माध्यमिक विद्यालय २०४६ को एसलसी ब्याच समूहमार्फत रकम प्रदान गरेको हो । समूहका अध्यक्ष तथा पत्रकार राजु क्षेत्रीमार्फत विकको परिवारलाई रकम हस्तान्तरण गरिनेछ ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले सो परिवारलाई २१ हजार रुपैयाँ सहयोग गरे । परिषदका सदस्य गुरुङले भलिबल प्रतियोगिताले पोखराको खेलकुदमा नयाँ उत्साह थपेको बताए ।
तपाईको प्रतिक्रिया