मौजामा हाइ अल्टिच्युड रंगशाला

समाधान संवाददाता २०७७ चैत १५ गते ०:४५

समाधान संवाददाता, पोखरा

Advertisement

अहिले ठूला ठूला रंगशाला सहर केन्द्रित छन् । अबको केही वर्षपछि सहरी कोलाहलबाट मुक्त ठाउँमा मात्र खेलकुद हुन सक्ने र दर्शक पनि आकर्षित हुने देखिन्छ । यही विश्वासका साथ पोखरा महानगरपालिकाले १ हजार ६ सय ५० मिटरमा फुटबल मैदानबनाउन थालेको छ ।

मैदान शनिबार पोखरा महानगरका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा शिलान्यास गरे। सेमी हाइ अल्टिच्युड खेल मैदानका रुपमा निर्माण गर्न लागिएको यो मैदानकाछुट्टै विशेषता रहेको मेयर जिसीले बताए ।

Advertisement

उनले खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ खेल मैदान निर्माण गर्न थालिएको उल्लेख गरे । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न खेल मैदानले सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

मैदानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहलकदमी गर्न सघाउने गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आश्वासन दिए । सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेले मैदान निर्माणसँगै खेल गतिविधि बढ्न सकेमा ग्रामीण क्षेत्रको आर्थिक विकास हुने जनाए ।

Advertisement

करिब १६ करोड लागत लाग्ने यो मैदान सम्याउनका लागि महानगरले यस वर्ष ४० लाख विनियोजन गरिसकेको छ भने बर्षेनी यसमा आवश्यक बजेट विनियोजजन गरिने महानगरपालिका योजना महाशाखा प्रमुख इन्जिनियर शारदामोहन काफ्लेले बताए ।

यो मैदानमा इलेभन ए साइड फुटबल खेल्न मिल्ने हुनेछ ।मैदानसँगै त्यहाँ करिब ३ हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिटसमेत निर्माण गरिने वड नं २० का अध्यक्ष सिम गुरुङले जानकारी दिए । खेलाडीका लागि चेन्जिङ रुम, शौचालयलगायतका संरचनापनि निर्माण गरिनेछ ।मैदानको दक्षिणी भागमा बास्केटबल र भलिबल कोर्टसमेत बनाउने योजना छ ।

खेल मैदान नजिकै नेपालकै चर्चित आँटी घर मौजा होमस्टे रहेकाले त्यही खेलाडी राखेर क्लोज क्याम्प चलाउन वडाध्यक्ष गुरुङको भनाइ छ । ‘हिमालको काखमा ग्रामीण परिवेशमा अर्गानिक वस्तु खाएर प्रशिक्षण गराउने हो भने पक्कैपनि नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

उत्तरमा लहरै खुलेका हिमालको काखैमा रहेको यो मैदानमा खेल खेल्न पाउँदा खेलाडीलाई समेत छुट्टै अनुभव हुनेछ । मैदानबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमालका श्रृंखलादेख्न सकिन्छ ।

उसो त खैल मैदान नजिकैको थुम्कोबाट पोखरा बजारसँगै नजिकका क्षेत्र प्रष्टसँग देखिन्छन् ।

दशकअघि मेला र महोत्सव गर्ने खुला चौरमा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान निर्माणका गर्न लागि स्थानीय कस्सिएका छन् ।

आँटीघर मौजाको थाप्लोमा रहेको यो मैदानभन्दा उत्तरतर्फ अरु पनि जग्गा भएकाले मैदानका लागि जग्गा अभाव नहुने देखिन्छ ।

मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने स्थानीय बताउँछन् ।

मैदान बनेपछि गाउँमा पर्यटन प्रर्वद्धन तथा खेल क्षेत्रको समेत विकासमा थप टेवा मिल्ने स्थानीय शुशील बस्नेतले बताए । पोखरा महानगरपालिकाले पाँचौ नगरसभामार्फत मौजामा हाइ अल्टिच्युड खेल मैदान निर्माण गर्ने योजना अघि सारेको थियो ।

तपाईको प्रतिक्रिया