उपाधि हाेडमा बार्सिलाेना, एथ्लेटिको मड्रिडलाई धक्का

एजेन्सी
उपाधि होडमा रहेको बार्सिलोनाले आइतबार राति भएको खेलमा जित निकालेको छ ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत अवे मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २–१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरेका हुन् । उनले २८ र ३५ औँ मिनेटमा गोल गरे ।
भिल्लारियलका लागि चुक्वुएजले २६ औँ मिनेटमा एक गोल गरेका थिए । ६५ औँ मिनेटमा ट्रिगुएरोस मुनोज सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भिल्लारियल १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि तेस्रो स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक बराबरी तथा शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको दूरी दुई अंकमा झारेको छ ।
बार्सिलोनाको ३२ खेलबाट ७१ अंक भएको छ । रियल मड्रिड र एथ्लेटिको मड्रिडले एक खेल बढि खेलेका छन् ।
आइतबार राति नै भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड भने एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भयो । बिल्बाओका लागि आठौँ मिनेटमा बेरेन्गुएर रेमिरो तथा ८६ औँ मिनेटमा मार्तिनेजले गोल गरे ।
एथ्लेटिको मड्रिडका लागि ७७ औँ मिनेटमा साभिकले एक गोल फर्काए पनि हार टार्न सकेनन् । यो हारले एथ्लेटिकोको उपाधि होडलाई तरल बनाएको छ ।
अरु खेलमा सेभिल्लाले ग्रानाडा तथा सेल्टा डी भिगोले ओसासुनालाई समान २–१ तथा गेटाफेले हुएस्कालाई २–० ले पराजित गरेको छ ।
तपाईको प्रतिक्रिया