‘जोखिम भत्ता नपाए स्वाब परीक्षण रोक्छौं’

अरु परीक्षणमा खटिनै डराउँथे । हामी काम गर्दागर्दै संक्रमित पनि भयौँ । सरकारले कामको मूल्यांकन नै गर्दैनः प्रयोगशालाकर्मी
समाधान संवाददाता, पोखरा
जोखिम भत्ता माग गर्दै गण्डकी प्रदेशका कोभिड १९ प्रयोगशालाकर्मीले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
ज्यान जोखिममा राखेर स्वाब परीक्षणमा खटिँदा पनि जोखिम भत्ता नपाएको भन्दै प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरतले सचिवमार्फत सामाजिक विकास मन्त्री नरदेवी पुनको ध्यानाकर्षण गराएका हुन् ।
गत असारदेखि खटिए पनि जोखिम भत्ता नपाएको र नदिए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । प्रदेश सरकारबाट तलब आउनमा पनि ढिला भइरहेको एक प्रयोगशालाकर्मीले गुनासो गरे ।
‘मुख्यमन्त्रीज्यूले हामीलाई आफैं बोलाएर राम्रोसँग काम गर्नुस्, पाउनेभन्दा २५ प्रतिशत थपेर भत्ता दिन्छौं भन्नुभएको थियो,’ एक प्रयोगशालाकर्मीले भने, ‘९÷१० महिना भइसक्यो । तलब पनि ढिलो आउँछ । भत्ता आउँदै आएन ।’
जोखिम भत्ता नदिए कोरोना परीक्षण नै रोक्ने ती प्रयोगशालाकर्मीले बताए । ‘सचिवज्यूले केन्द्रमा भनेका छौँ भन्नुभएको छ । अरु परीक्षणमा खटिनै डराउँथे । हामी काम गर्दागर्दै संक्रमित पनि भयौँ । सरकारले कामको मूल्यांकन नै गर्दैन,’ अर्का एक प्रयोगशालाकर्मीले भने ।
प्रदेश सरकारले हालसम्म जोखिम भत्ता भनेर आफैंले कुनै पनि कार्यालयलाई रकम विनियोजन गरेको छैन । स्वास्थ्य मन्त्रालयबाट आउने पैसा उपचारको आधारमा बाँड्छ ।
प्रदेशभित्रका अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले जोखिम भत्ता नपाएको गुनासो गरे पनि मन्त्रालयले बेवास्ता गर्दै आएको छ ।
‘सबै घरभित्रै हुँदा लडाकु बनेर कोरोनाविरुद्ध खटियौं । नमुना संकलनदेखि परीक्षणसम्म लाग्यौं,’ अर्का एक प्रयोगशालाकर्मीले भने, ‘मन्त्रालय त आज यति संक्रमित भए भन्ने बस्ने काम थियो । उहाँहरु मिटिङै पिच्छे भत्ता खाइराख्नु हुन्छ । हामीले नपाउने ?’
कोरोना संक्रमित बढेपछि जनशक्ति कम हुँदा प्रदेश सरकारले ९ जनालाई करारमा भर्ना गरेको थियो । उनीहरुले सुरुआतबाटै मासिक तलब पनि ढिलो पाइरहेका छन् ।
‘मंसिर र पुसको तलब चैतमा आएको छ । त्यसपछिको कहिले आउँछ थाहा छैन,’ एक प्रयोगशालाकर्मीले भने ।
पुसमा सम्झौताको म्याद सकिएपछि प्रदेश सरकारले सम्झौता थप्ने÷नथप्ने कुनै निर्णय गरेन । अहिले कोरोना संक्रमित बढेपछि मन्त्रालयले वैशाख पहिलो हप्ता असारसम्म सम्झौता थप गरेको छ ।
‘सम्झौता थपिएको पत्र आएको छ । तर, माघदेखि चैतसम्मको तलब कहिले आउँछ थाहा छैन,’ उनले भने, ‘सचिवज्यूले रकम निकासा भइसक्यो । छिट्टै आउँछ भन्ने आश्वासन दिनुभएको छ ।’
गण्डकी प्रदेशमा सरकारीतर्फ क्षयरोग उपचार केन्द्र र नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना परीक्षण हुन्छ । निजीतर्फ पनि एउटासहित ३ वटा ल्याबमा गरेर दैनिक ६ सय हारहारीमा स्वाब परीक्षण हुँदै आएको छ ।
स्वाबको लोड बढेपछि कर्मचारी अभाव भएर जिल्ला अस्पतालका प्रयोगशालाकर्मीलाई पनि पोखरा बोलाइएको थियो । अहिले पोखरास्थित क्षयरोग केन्द्रको ल्याबमा ११ जना कोरोना परीक्षणमा खटिएका छन् ।
कोरोना संक्रमित घटेकाले सम्झौता थप्ने÷नथप्ने अन्योल हुँदा तलब नियमित नभएको प्रदेश जनस्वास्थ्य प्रमुखशालाकी निमित्त प्रमुख सपना सुवेदीले बताइन् । ‘बीचमा कोरोनाको केस घट्यो । सम्झौता थप्ने÷नथप्ने भन्ने निर्णय भएन,’ उनले थपिन्, ‘अहिले असारसम्म थप्ने निर्णय भइसकेको छ । अब १÷२ दिनमै आउँछ होला ।’
एकैदिन ४ संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका २, स्याङ्जा र म्याग्दीका १÷१ संक्रमितको सोमबार मत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्की पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुष, पोखरा महानगरपालिका–१ की ५५ वर्षीया महिलाको सोमबार उपचारका क्रममा पोखराकै मेडिप्लस अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पा र म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको डा. शर्माले जानकारी दिए । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।
प्रदेशमा सोमबार १०१ जनामा कोरोना पुष्टि भएको छ । कास्कीका ६९, नवलपुरका १२, पर्वत, तनहुँ र म्याग्दीका ५÷५, स्याङ्जाका ३ र लमजुङका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोनो संक्रमितको संख्या १७ हजार ८ सय ३८ पुगेको छ । तीमध्ये १६ हजार ६८६ जना निको भएका छन् । ९३७ जना सक्रिय संक्रमित रहेकोमा ८८३ जना घरमै रहेको निर्देशनालयले जनाएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया