‘प्रदर्शनी केन्द्रको डोमलाई आइसोलेसन बनाऔं’

समाधान संवाददाता, पोखरा
पोखरा उद्योग वाणिज्य संघले पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आफ्नो व्यवस्थापनमा रहेको ‘डोम’लाई आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।
संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
कास्कीको बढ्दो संक्रमण र अस्पतालमा बेडको अभाव हुन थालेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत संघले सो निर्णय गरेको महासचिव सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए ।
‘आवश्यक परे प्रदर्शनी केन्द्रमा रहेको डोमको समुचित उपयोग गरी सो ठाउँलाई आइसोलेसन केन्द्र बनाउन हामी प्रदेश सरकार, पोखरा महानगर तथा स्थानीय प्रशासनसँग अनुरोध गर्दछौँ’, संघको निर्णयमा भनिएको छ,‘संकटको यो घडीमा नागरिकको ज्यान जोगाउने दायित्वप्रति संवेदनशील हुन हामी सरोकारवाला निकायसँग अनुरोध गर्दछौं ।’
पोखरा महानगरको स्वास्थ्य महाशाखाले सोमबार,बिहीबार र शुक्रबार सो प्रदर्शनी केन्द्रमा नागरिकको निःशुल्क स्वाब संकलन र परीक्षण गरिरहेको छ ।
निषेधाज्ञाका कारण उद्योग, व्यवसाय बन्द भएको स्मरण गराउँदै संकटको यो घडीमा कर्जाको ब्याज मिनाहा गर्न, कर्जाको पुनःतालिकीकरण गर्न तथा थप दण्ड र जरिवाना नलाउने व्यवस्थाको लागि बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्न नेपाल राष्ट्र बैंकसँगसंघले अनुरोध पनि गरेको छ ।
यता, संघले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियानअन्तर्गतको हेल्लो डाक्टर अभियानबाट फाइदा लिन उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।
कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकालाई लक्षित गरी यो अभियान सुरु गरिएको हो ।
हेल्लो डाक्टरमार्फत् परामर्श सेवा दिइने यो अभियानमा भाइबरमार्फत् कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिइनेछ । यो सेवा लिनको लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि ११११२११११ भाइबर नम्बरमा म्यासेज गरी नाम दर्ता गराउनु पर्छ ।
सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइनेछ । डाक्टरहरूले भिडियो कलमार्फत् बिरामीसँग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा बिरामीले नाम, उमेर र ठेगाना खुलाउनुपर्ने र यो सेवा निःशुल्क हुने संघका महासचिव बिजुक्छेले जानकारी दिए ।









पोखरा महोत्सव तयारी
तमु सांस्कृतिक प्रतिष्ठानको पुनर्मिलन
पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया