मुस्ताङका ९० प्रतिशतलाई खोप लगाईदै ,स्थानीयमा उत्साह

समाधान संवाददाता २०७८ साउन १० गते २०:४६

एसके थकाली \ जोमसोम—

Advertisement

दुर्गम जिल्लाको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङमा मुश्किलले कोरोना बिरुद्धको खोप आईपुगेपछि यहाँका ९० प्रतिशत नागरिक खोपको पहुँचमा जोडिने पक्का भएको छ। कोरोना कहरका कारण लामो सयमदेखि पोखरा—जोमसोम हवाई सेवा संञ्चालन नभएको र बर्खायामको मौसममा बाढि÷पहिरो र नदी कटानका कारण ठाउँ÷ठाउँमा सडक अवरुद्ध हुँदै गर्दा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले निकै कष्ठगरी मुश्किलले कोरोना बिरुद्धको खोप ६ दिनअघि जिल्ला भित्र्याएको थियो ।
मुस्ताङमा गत सोमबार अमेरिकी अनुदानको कोरोना बिरुद्धको जोन्सन एण्ड जोन्सन खोप ढुवानी गरिएपनि स्वास्थ्य मन्त्रालयले ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई मात्र खोप लगाउने निर्देशन गरेपछि खोप कार्यक्रम ६ दिन पर धकेलिएको थियो। तर,स्वास्थ्य कार्यालयले भने मुस्ताङका ५ वटै स्थानीय तहलाई १८ वर्षदेखि ५४ वर्षका नागकिरलाई खोप लगाउन स्थानीय तहसंग समवन्यगरी तथ्याङ्क संकलन गरेको थियो । केन्द्रिय खोप नीतिले प्रभावित बनेको खोप अभियान जिल्लाबाट यथाशिघ्र खोप प्रदान गर्न दवाब सृजना भएपछि गण्डकी प्रदेशको समन्वयमा दुर्गम तथा कम जनसंख्या रहेको मनाङ र मुस्ताङमा १८ वर्षदेखि माथि उमेरका नागरिकलाई खोप लगाउने अनुमती दिईएको थियो।
गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मुस्ताङलाई ६ हजार ५ सय डोज अमेरिकी जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको हो ।उक्त खोप बेनी—जोमसोम सडकको ठाउँ÷ठाउँमा बोकाउँदै र विभिन्न ठुलो खोलामा ट्याक्टरमा राखेर तार्दै मुस्ताङसम्म ल्याईएको थियो । जिल्लामा आएको खोप ५ वटै स्थानीय तहलाई आवश्यकता र औचित्यताको आधारमा बितरण गरेको कार्यालयले जनाएको छ ।
कोरोना बिरुद्ध खोपको ब्यग्र पर्खाईमा बसेका मुस्ताङी नागरिकहरुले आईतबारबाट खोपको पहुँचमा जोडिदै छन् ।यसका लागि मुस्ताङका पालिकाहरुले समय तालिका मिलाएर आफ्ना नागरिकलाई खोप लगाउने व्यवस्था मिलाएको बताएका छन् ।उपल्लो मुस्ताङको लोमान्थाङमा आईतबार देखि ३ दिनसम्म नागरिकलाई खोप लगाउने कार्यक्रम राखेको छ भने लोघेकर दामोदरकुण्ड गापाले ५ वटै वडामा स्वास्थ्यकर्मी तथा स्वंय सेवक खटाएर एकैदिन खोप लगाउने जनाएको छ ।
लोमान्थाङ गापाले दोश्रोदिन सीमावर्तीक्षेत्र छोसेर र तेश्रोदिन छोनुपमा खोप लगाउने कार्यक्रम राखेको छ । लामो समय देखि खोपको ब्यग्र पखाईमा बसेका उपल्लो मुस्ताङबासी खोप लगाउने अवसर पाउँदा उत्साहित भएको लोघेकर दामोदरकुण्ड गापाकी स्वास्थ्यकर्मी पासाङ ढोल्मा गुरुङले जानकारी दिईन् । उनले यसअघि ५५ वर्ष भन्दा माथिका नागरिकले कोभिड शिल्ड र भेरोसिल खोप लगाएको र यसपटक १८ वर्ष भन्दा माथिका सबै नागरिक जोन्सन एण्ड जोन्सन खोप लगाईने उल्लेख गरिन् । यस्तै, वारागुङ मुक्तिक्षेत्रमा झन्डै १८ सय नागरिक खोपको पहुँचमा जोडिने स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । उनले कोरोनाका कारण स्थानीय जनजिवन प्रभावित भएकोमा खोप अभियानले स्थानीय जनजिवन सामान्य रुपमा फर्किने आशा गरे ।
स्वास्थ्य कार्यालय मुस्ताङले भूगोल र जनसंख्याको आधारमा उपल्लो मुस्ताङको लोमान्थाङलाई एक हजार ५० डोज र लोघेकर दामोदरकुण्ड गापालाई ९ सय डोज खोप उपलब्ध गराएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।यस्तै ,मुस्ताङको तल्लोक्षेत्र वारागुङ मूक्तिक्षेत्र ,घरपझोङ र थासाङ गापालाई १२÷१२ सय डोज कोरोना बिरुद्धको जोन्सन एण्ड जोन्सन खोप पठाएको उनले बताए।
उपल्लो मुस्ताङको लोमान्थाङमा आईतबार कोरोना बिरुद्ध खोप लगाउन स्थानीय नागरिक उत्साहित हुँदै खोप केन्द्रमा लामवद्ध भए ।यसअघि खोप लगाउन छुटेका १८ वर्षदेखि माथिका नागरिकहरु निर्भिकतापूर्वक खोप लगाउन जुटेका छन् ।यसअघि लक्षित समुहले मात्र खोप लगाउने अवसर पाएकोमा यसपटक सबै नागरिकले खोप लगाउने अवसर पाउँदा आफुहरु उत्साहित भएको लोमान्थाङ—५ का स्थानीय छेवाङ रिङझिङ गुरुङले बताए । उनले खोप लगाउन स्वास्थ्य केन्द्रमा स्थानीयको बाक्लो उपस्थिती रहेको / र स्थानीय नागरिकमा कुनै डर त्रास समेत नदेखिएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई उपलब्ध खोपको डोजले ९० प्रतिशतसम्म थेग्न सक्ने स्वास्थ्य कार्यालयको भनाई छ । यसअघि मुस्ताङमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी ,जनप्रतिनिधि,पत्रकार,सरसफाईकर्मी र ५५ वर्ष माथिका नागरिकले कोभिसिल र भेरोसिल खोप लगाई सकेका थिए । मुस्ताङमा लक्षित बर्गले खोप लगाउँदा एक चौथाइ नागरिक खोपको पहँुचमा जोडिएका थिए । तर, मुस्ताङमा लक्षित बर्गले खोप लगाएपनि शिक्षण संस्था ,बैंक तथा बित्तिय संस्था ,पर्यटनकर्मी,कृषक र सर्वसाधारण लगायतका नागरिकले खोप लगाउने अवसर पाएका थिएनन् ।
न्यून जनसंख्या रहेको हिमाली जिल्ला मुस्ताङमा १८ वर्षदेखि माथि उमेरका नागकिरले खोप लगाईसकेपछि मुस्ताङको जनजिवन सहज र सामान्य हुने अपेक्षा गरिएको छ ।स्वास्थ्य कार्यालयले खोप अपुग भएमा जतिसक्दो छिटो÷छरिदो केन्द्र र प्रदेशमा माग गरि मुस्ताङका सबै नागरिकलाई खोपको सुनिश्चितता गरिने उल्लेख गरेको छ ।

मुस्ताङको ५ वटै स्थानीय तहका ९० प्रतिशतलाई खोप ,स्थानीय उत्साहित । तस्विर ः सुरेश घिमिरे ( लोमान्थाङ )

तपाईको प्रतिक्रिया