गोनेसाको नयाँ कार्यसमिति

समाधान संवाददाता २०७८ असोज २४ गते १५:१७

पोखरा ।
असल छिमेकी सहयोग संघ (गोनेसा)नेपालको १९ औं साधारण सभा तथा ९ औं अधिवेशन शनिबार भएको छ । अधिवेशनले अध्यक्ष रामप्रसाद सुवेदीसहित ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


उपाध्यक्ष सीता परियार, महासचिव श्याम कुँवर र कोषाध्यक्ष निरमाया गुरुङ छन् । कार्यसमिति सदस्यमा किरण गौतम, केशु भुजेल, सबनम शर्मा, शिशिर खनाल, कृष्णबहादुर कँुवर रहेको अध्यक्ष सुवेदीले जानकारी दिए । साधारण सभाले महासचिव रामप्रसाद सुवेदीले पेश गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष निरमाया गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।


दातृ संस्था भिष्पे इटालीका महासचिव एन्टानियो क्यासिनीले अधिवेशन उद्घाटन गर्दै कोभिड १९को प्रकोपको वर्तमान फरक अवस्थामा समयसापेक्ष कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । ‘विपन्न र कठिन परिस्थितिका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा कार्यक्रम गर्दै आएकोमा कामको प्रकृति र स्वरुप परिवर्तन गर्नु पर्छ,’महासचिव क्यासिनीले भने, ‘गरिबीको चक्र चलिरहन्छ । स्थानीय स्रोत, साधन परिचालन गरी कार्यक्रमलाई दिगो बनाउनु पर्छ ।’ उनले नयाँ साेंच, विचार र अनुभव आदान प्रदान गरीसंस्थागत विकासमा लाग्न सुझाव दिए ।

Advertisement


संस्थाका अध्यक्ष पूर्व मेजर दिलबहादुर गुरुङले संस्थालाई समयानुकूल सञ्चालनका लागि आवश्यक नीति निर्माण लगायतका सवालमा ध्यान दिने बताए । उनले कार्ययोजना निर्माण गरी संस्थागत विकास र दिगोपनाका लागि काम गर्ने उल्लेख गरे । संस्थाका महासचिव रामप्रसाद सुवेदीले शिक्षा कार्यक्रमको दिगोपनाका लागि स्वास्थ्यका अलवा आयआर्जनका योजना ल्याउने बताए । कोभिड १९का कारण बाल विकास केन्द्र र विद्यालय भर्ना कार्यक्रम प्रभावित भएको जानकारी दिँदै उनले बाल बालिका नियमित शिक्षाबाट वञ्चित हुँदा अभिभावकलाई वैकल्पिक शिक्षाको थप आर्थिक भार परेको दाबी गरे ।


कार्यक्रममा बाबा फाउन्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठ, ज्येष्ठ नागरिक मञ्च पोखरा १७ अध्यक्ष टोपराज ढुंगाना, संस्थाका सल्लाहकार मोनिका गौतम, पूर्व सचिव पूर्णबहादुर गुरुङ, सदस्य ईन्द्रबहादुर गुरुङ, अधिवक्ता जानकी शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य बब्बरसिंह गुरुङलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया