कास्कीमा दिनहुँ थपिन्छन् १०० मतदाता

पोखरा ।
इलाका प्रशासन कार्यालय लेखनाथ, जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश निर्वाचन आयोगको कार्यालय पोखरामा अचेल दिनहुँ नयाँ मतदाता थपिन्छन् । प्रशासन कार्यालयबाट नागरिता बनाउनेहरुको नाम स्वत मतदाताका रुपमा आयोगमा जान्छ । आयोगचाहिँ मतदाता नै बन्न नाम लेखाउनेहरु दिनहुँ पुग्छन् ।
नागरिकता बनाउनेबित्तिकै मतदाताचाहिँ भइहालिन्न । ‘१८ वर्ष पुगेपछि मात्रै मतदाता नामावलीमा सूचीकृत हुन्छ,’ प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकृत रुद्र न्यौपाने भन्छन्, ‘आउँदो निर्वाचनमा १८ वर्ष पुगे मतदाता नामावलीमा नाम आउँछ, नत्र १८ वर्षपछि पुगेपछि ।’
३ कार्यालयमा गरी अहिले कास्कीमा दिनहुँ १०० जना मतदाता थपिएको जानकारी न्यौपानेले दिए । निर्वाचन कार्यालय नै पुगेर नाम लेखाउनेहरु दैनिक २० जनाको हाराहारीमा हुन्छन् । अरुचाहिँ प्रशासन कार्यालयबाट नागरिकता बनाउनेहरु हुन् । नागरिकता बनाएकाहरुको नामावली आयोगको केन्द्रीय कार्यालयले उमेर हेरेर मतदाता सूचीमा समावेश गर्ने गरेको जानकारी न्यौपानेले दिए ।
निर्वाचन घोषणा नभएको समयमा निर्वाचन कार्यालयमा आवश्यक कागजातसहित गएर मतदाता नामावलीमा नाम लेखाउन सकिन्छ । इलाका प्रशासन र जिल्ला प्रशासनमा भने आयोगले नै निश्चित समयावधि दिएको हुन्छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते संसद विघटन गरी निर्वाचन घोषणा गरेपछि मतदाता नामावली संकलन रोकिएको थियो । त्यसपछि ३ महिनाअघिमात्रै मतदाता नामावली संकलन खुलेको जानकारी न्यौपानेले दिए । उनका अनुसार यसबीचमा कास्कीमा १४ सयजनाको नाम मतदाताका लागि भनेर आयोगमा आएको छ । ‘ती सबै मतदाता बन्न योग्य उमेर नपुगेका पनि हुनसक्छन्,’ उनले भने । उनकै भनाइमा गएको पुसयतामात्रै १४ सय जना थपिएका हुन् ।
आयोगसँग २०७७ पुस ५ गतेसम्म थपिएका मतदाताको नामावली तयार छ । नयाँ १४ सयमध्ये को को मतदाता नामावलीमा आउनेछन् भन्ने आयोगको केन्द्रले नै तय गरी पठाउनेछ । पुस ५ सम्म कास्कीमा २ लाख ६५ हजार ३९६ जना मतदाता रहेको जानकारी न्यौपानेले दिए । तीमध्ये तेस्रो लिंगी ४ जना, महिला १ लाख ४० हजार ७ सय ६१ र पुरुष १ लाख २४ हजार ६ सय ३१ जना छन् ।
कास्कीमा २०७६ मंसिरमा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको थियो । त्यसअघि देशैभर २०७४ मा आमनिर्वाचन भयो । त्यति बेला कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ जना मतदाता थिए । तीमध्ये तेस्रो लिंगी ४ जना, महिला १ लाख ३६ हजार १ सय ५४ र पुरुष १ लाख १९ हजार २ सय ९४ जना थिए । कास्कीमा २०७४ भन्दा अहिले ९ हजार ९ सय ४४ जना मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी मतदाता नामावली संकलन विशेष अभियानसमेत सञ्चालन गर्ने भएको राससले लेखेको छ ।
सबै स्थानीय तहका केन्द्रमा टोली खटाएर मतदाता नामावली संकलन विशेष अभियान अघि बढाउन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानुनी व्यवस्थालाई टेकेर आउँदो मंसिरसम्म अभियान सम्पन्न गर्ने हेतुले मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन गरिनेछ,’ थपलियाले भनेको राससमा उल्लेख छ ।
मतदाता नामावलीमा नाम दर्ताका लागि १८ वर्ष पुगिसकेका व्यक्तिले पालिका केन्द्रमा आउने टोली समक्ष नेपाली नागरिकताको प्रमाणपत्र देखाएर आफ्नो नाम दर्ता गराउन सक्नेछन् । अभियानमा नाम दर्ताका सन्दर्भमा १६ वर्ष उमेर पुगेका व्यक्तिको समेत नाम दर्ता र तस्वीर खिच्ने काम हुनेछ । निर्वाचनका लागि मतदाता नामावली सबैभन्दा प्राथमिक विषय मानिएकाले आयोगले विशेष अभियान मार्फत मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।
आयोगले रोजगारी, पठनपाठन र व्यवसायका सिलसिलामा स्थायी ठेगानाभन्दा बाहिर बसेका मतदातालाई छिट्टै नै सबै निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ३६५ दिन नियमित रूपमा मतदाता नामावली नाम दर्ताका लागि आवश्यक स्थायी बन्दोबस्ती मिलाउन लागेको छ ।
कार्यस्थलबाटै आफनो स्थायी ठेगानामा मतदाता नामावलीमा नाम संकलन गर्न चाहनेलाई सहज तुल्याउन देशभरका सबै निर्वाचन कार्यालयबाट बाह्य जिल्लाको समेत मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियान पनि प्रारम्भ गरिने आयोगले जनाएको छ । आगामी दिनमा यो अभियानलाई कानुनी बन्दोबस्तभित्र राखेर नियमित रूपमै संकलन गर्ने व्यवस्था मिलाइने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।
विद्यमान निर्वाचन ऐन अनुरूप निर्वाचनको मिति तय भएपछि मतदाता नामावली संकलन गर्न नसकिने प्रावधान छ । मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगलाई एकाधिकार छ । आयोगले नियमित रूपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्दै आएको छ ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया