फलो अफ

अनुमगन निकाय फितलो हुँदा मुस्ताङमा वन्यजन्तु तस्करी बढ््यो, दुईदिनमै भेटियो ६ वटा कस्तुरी

सुन्दरकुमार थकाली २०७८ कार्तिक १८ गते ११:३१

जोमसोम—अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना अन्तर्गत हिमाली जिल्ला मुस्ताङको उच्चलेंकमा नियमित बन गस्ती नहँुदा संरक्षित वन्यजन्तुको चोरी शिकार गर्ने क्रम सुरु भएको छ ।एक्याप अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँको खम्पा क्याम्प माथि निच्चा जगंलमा मंगलबार र बुधबार गरिएको बन गस्तीमा संरक्षित वन्यजन्तु ५ वटा कस्तुरीसहित एक वटा फ्याउरो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

वारागुङ मुक्तिक्षेत्र —१ माथिको उच्चलेंकमा वन्यजन्तुको चोरी शिकार हुने गरेको सूचनाका आधारमा अन्नपूर्ण संरक्षण आयोजना,ईलाका संरक्षणक्षेत्र कार्यालय जोमसोमको टोली,डिभिजन बन कार्यालयको टोली ,स्थानीय संरक्षण व्यवस्थापन समितिको टोलीसहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतको संयुक्त टोलीले वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँको खम्पा क्याम्प माथिको उच्च्लेंकमा पहिलोदिन दुई कस्तुरी र एक फ्याउरो मृत फेला पारेको थियो भने दोश्रो दिन गरिएको बन गस्तीमा ३ कस्तुरी फेला परेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारीले दिए ।उनका अनुसार उक्त स्थानमा दोश्रो दिन गरिएको बन गस्तीमा एक जिउँदो भाले कस्तुरी र एक भाले र दुई पोथी कस्तुरी मृत फेला परेको थियो । पासोमा परेको भाले कस्तुरीलाई गस्ती टोलीले जंगलमानै छोडिदिएका छन् ।
वन्यजन्तुको अखेटोपहार तस्कर गर्नको निम्ति तस्करहरुले उच्चलेंकको बिभिन्न क्षेत्रमा मोटरसाईकलमा प्रयोग हुने ब्रेक तारले बनाएको १ सय ४१ थान पासो फेला परेको छ । एक्यापसहितको प्रहरी टोलीले गरेको बन गस्तीको पहिलोदिन ४१ थान पासो फेला परेको थियो भने दोश्रोदिनको बन गस्तीमा करिव १ सय थान पासो फेला परेको थियो ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पहिलो दिनको बन गस्तीमा संरक्षित क्षेत्रमा बन तस्करहरुले थापेको पासोमा परी संरक्षित वन्यजन्तु अन्दाजी १२ केजीको भाले जातको कस्तुरी एक, अन्दाजी १२ केजी २८० ग्राम तौल भएको पोथी जातको कस्तुरी एक र ५ केजी ३५० ग्राम तौलको भाले जातको रातो फ्याउरो एक मृत अवस्थामा फेला परेको थियो । सो क्षेत्रमा शिकारीले थुप्रै संख्यामा पासो थापेको हुन सक्ने आशंङ्का गर्दै गरिएको बन गस्तीमा जिउँदो र एक मृत सहित अन्दाजी १३÷१३ केजी बराबरको कस्तुरी भेटिएको प्रहरी निरीक्षक अधिकारीको भनाई छ । संरक्षित बन्यजन्तु भाले कस्तुरीका नाभी बहुमुल्य पर्ने भएकाले यसको शिकार गर्ने गरेको पाईएको छ ।तर ,पोथी कस्तुरीको भने नाभी हुँदैन ।
दुई दिनसम्म गरिएको बन गस्तीमा वन्यन्तु तस्करहरुले पासोमा परेको दुई वटा भाले कस्तुरीको नाभी काटेर लगेको र उक्त वन्यजन्तु सडेगलेको अवस्थामा भेटिएको गस्तीमा गएका प्रहरी सहायक निरीक्षक सन्तोष विकले जानकारी दिए । पासोसहित मृत अवस्थामा फेला परेको वन्यन्तुको शव एक्याप जोमसोम कार्यालयमा ल्याई आवश्यक कारबाहीको लागि मुचुल्का तयार गरिएको उनले बताए । पासोसहित मृत अवस्थामा भेटिएको वन्यजन्तुको शवसहित रिपोर्ट अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना अन्तर्गत क्षेत्रिय कार्यालय पोखरामा कारबाहीका लागि पठाउन तैयारी भईरहेको जनाईएको छ ।

Advertisement


अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,संरक्षण ब्यवस्थापन समिति,शसस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले उक्त स्थानमा पुनः बन गस्ती तथा बन अनुगमनलाई तिब्रता दिएको हो । उनीहरुले अघिल्लो दिनमा सीमित स्थानमा गरिएको अनुमगनलाई पछ््याउदै बृहत प्रकारको बन गस्ती सुरु गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङले वन्यजन्तु तस्करहरुको आवश्यक खोज अनुसन्धान अघि बढाईसकेको जनाएको छ । प्रहरीका अनुसार मुस्ताङका उच्चलेंकका जंगलमा वन्यजन्तु तस्करहरुले पासो थाप्ने गरेपनि यो अहिले सम्मकै ठुलो परिमाणमा मृत कस्तुरी र पासो भेटिएको उल्लेख गरेको छ । वन्यजन्तु आरक्षणक्षेत्रमा हुने वन्यजन्तु तस्करी न्युनिकरणका लागि आवश्यक कडाई गर्नुपर्ने देखिएको छ ।
बर्सेनि बैशाख —जेठ महिनामा उच्चलेंकमा पाईने यार्सा गुम्बा टिप्ने सुरु हुन्छ । यार्सा टिप्न लेंक पुगेका टोलीले नै वन्यजन्तुको शिकार र चोरी तस्करी गर्ने घटना हुने गथ्र्यो ।

यसअघि मुस्ताङको थासाङ लेंक र घरपझोङका उच्चलेंकमा वन्यजन्तुको चारी शिकारी हुने गथ्र्यो । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना र डिभिजन बन कार्यालय रहेको मुस्ताङमा संम्वन्धित निकायले नियमित रुपमा बन अनुमगन नगर्दा वन्यजन्तुको चोरी ÷तस्करी वृद्धि हुने संम्भावना बढेको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ र बेनी—जोमसोम सडक सहज हुन थालेपछि अपराधिक प्रबृद्धिका ब्यक्ति र वन्यजन्तुको चोरी शिकारी गर्ने ब्यक्तिको घुस पैठ हुनसक्ने भएको हुँदा सीमानाकामा कडाई र बन अनुमगनमा जोड दिनुपर्ने स्थानीयबासीले बताएका छन् । उनीहरुले एक्याप र डिभिजन बन कार्यालयले उचित जिम्मेवारी बहन गर्न नसकेको समेत जनाएका छन् ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया