पाेखराका राजेन्द्र भण्डारी सहित ३ जनाले डाक्टरको भेषमा करोडौं ठगी गरेकाे आराेप

समाधान संवाददाता २०७८ मंसिर १८ गते १२:३०

पोखरा ।
१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १० घर भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल छन् ।

Advertisement


महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले बुधबार भुजेललाई काठमाडौंको कालिमाटी र भण्डारीलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरुले सामाजिक सन्जाल फेसबुकको माध्यमबाट विभिन्न व्यक्तिलाई प्रलोभन देखाई आफ्नो खातामा पैसा जम्मा गराउने गरेको प्रहरीले जनाएको छ ।


फेसबुकमा उनीहरुले डा. बेन्जामिन फ्रान्कलिन नामको आइडी खोली आफू प्लास्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गर्न आग्रह गरेका थिए ।


बेलायत पुगेपछि सबै रकमको दोब्बर फिर्ता दिन्छु भनी प्रलोभन देखाएपछि पीडितले विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख, भुजेलको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ पठाएका थिए । अन्य मानिसबाट समेत थप रकम उनीहरुले संकलन गरेको प्रहरीले जनाएको छ ।


भुजेल र भण्डारीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
डाक्टरै परिचय दिएर १ करोड २२ लाख ठगी प्रकरणमा पोखराबाट थप १ युवती पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले पोखराबाट दानुमाया गुरुङलाई शुक्रबार पक्राउ गरी काठमाडौं लगेको छ ।

Advertisement


संयुक्त राष्ट्रसंघीय नियोगमा काम गर्ने १ महिलालाई विभिन्न प्रलोभन देखाएर ४ महिनाको अवधिमा १ करोड २२ लाख रुपैयाँ ठगिएको थियो । आफूलाई डाक्टर बेन्जामिन फ्रांकलिन भनेर चिनाउने व्यक्तिले राष्ट्रसंघीय नियोगमा काम गर्ने ती महिलालाई फेसबुकमा साथी बनाएका थिए ।
रकम निकाल्न एटिएम बुथमा जाँदा आफू लुटिएको र अहिले रकम सहयोग गरे बेलायत पुगेपछि दोब्बर फिर्ता गर्ने आश्वासन डाक्टर बताउने ती व्यक्तिले दिएका थिए । सोही लोभमा पटक पटक गर्दै ती महिलाले १ करोड २२ लाख रुपैयाँ पठाएकी थिइन् ।
दोब्बर रकम पाउने आशमा पठाएको पैसा फसेपछि पीडित महिला प्रहरीमा पुगेकी थिइन्। ती महिलाको उजुरीपछि ठगीको रहस्य बाहिरिएको हो ।
ती महिला रकम पठाउन तयार भएपछि नेपालमै रहेका केही व्यक्तिको बैंक खाता नम्बरसमेत दिइएको थियो । ती महिलाले भण्डारी, भुजेल लगायतको बैंक खातामा पैसा पठाएको अनुसन्धानबाट खुलेको छ । त्यो रकम नेपालबाट संकलन गरी भारत पठाउनेसम्मको काम हाल पोखराबाट पक्राउ परेकी परेकी महिलाले गरेको पाइएको महाशाखाले जनाएको छ । नेपालमा बसेर ठगीको मध्यस्थकर्ताको भूमिका निभाएपछि उनलाई पक्राउ गरिएको महाशाखा स्रोतको दाबी छ ।


ती महिलाले मात्रै ७८ लाख रुपैयाँ संकलन गरेको र संकलित रकममध्ये भारतको एसबिआई बैंकमार्फत भारु २३ लाख रुपैयाँ पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल पक्राउ परेकाहरुलाई प्रयोग गरेर ठगी भएको प्रहरीले जनाएको छ । आफूलाई डाक्टर बेन्जामिन बताउने व्यक्ति मलेसिया नभएर भारतमा भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया